आज कांग्रेस संसदीय दल बैठक बस्दै

आज कांग्रेस संसदीय दल बैठक बस्दै


समसामयिक राष्ट्रिय राजनीतिक विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक सोमबार बस्दै छ ।

बैठक पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा अपराह्न बस्न लागेको कांग्रेसले जनाएको छ । बैठकमा पार्टीले संसदमा खेलेका भूमिकाबारे समीक्षा हुने बताइएको छ । साथै बैठकमा जनचासोका सार्वजनिक मुद्दा, सरकारका काम–कारबाहीलगायत विषयमा छलफल हुने पार्टी सचेतक पुष्पा भुसालले जानकारी दिइन् ।

संघीय संसद्को तेस्रो अधिवेशन आइतबारबाट सम्पन्न भएको छ । विधेयक अधिवेशनका नामले समेत चिनिने यस अधिवेशनमा सत्तापक्ष र प्रतिपक्षबीचको समझदारीका कारण अधिकांश विधेयक सहमतिका आधारमा पारित भएका थिए ।

आइतबार प्रतिनिधिसभाको हिउँदे अधिवेशन समापनका अवसरमा संसद बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विधेयक सहमतिमा पारित हुनु ठूलो उपलब्धि भएको बताएका थिए ।

सोही अवसरमा कांग्रेसका तर्फबाट पार्टी संसदीय दलका उपनेता विजयकुमार गच्छदारले सरकारका राम्रा काममा रचनात्मक सहयोग हुने बताएका थिए । साथै उनले सुरक्षा परिषदको काम, कर्तव्य र अधिकार, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना र सूचना प्रविधिसम्बन्धी विधेयकका केही बुँदा मुलुक र जनताको हितमा नभएको भन्दै संसदबाट ती विधेयक फिर्ता गर्न माग गरेका थिए ।