आज नेपाल–जापान श्रम सम्झौतामा हस्ताक्षर, तत्काल कामदार पठाउने प्रक्रिया सुरु गरिने

आज नेपाल–जापान श्रम सम्झौतामा हस्ताक्षर, तत्काल कामदार पठाउने प्रक्रिया सुरु गरिने


आज नेपाल–जापानबीच श्रम सम्झौतामा हस्ताक्षर हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार नेपाल र जापानबीच श्रमिक आपूर्तिबारे सहकार्यको समझदारी (एमओसी) मा आज हस्ताक्षर हुन लागेको हो ।

जापानका सरकारी प्रतिनिधि र नेपालको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबीच आज काठमाडौँमा हस्ताक्षर हुन लागेको मन्त्रालयले जनाकारी दिएको छ । एमओसीमा नेपालका लागि जापानी राजदूत मासामिची साइगो र
नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहालले हस्ताक्षर गर्ने कार्यक्रम छ ।

‘समझदारी पत्रमा हस्ताक्षर कार्यक्रमका लागि जापानको श्रम मन्त्रालयका अधिकारीसमेत नेपाल आइसकेका छन् ।’ मन्त्रालय स्रोत भन्छ, ‘हामी पनि यसका लागि तयारी अवस्थामै छौं ।’ नेपालस्थित जापानी राजदूतले हस्ताक्षरसहितको (एमओसी) श्रमसचिवसामु पेस गर्ने बताइएको छ । दुई देशबीच हुने श्रम सम्झौताको ड्राफ्ट यसअघि नै तयार भइसकेको मन्त्रालयले जनाएको छ ।

जापानले केही महिनाअघि नै आफ्नो आप्रवासी कामदारबारेको नीतिमा हेरफेर गर्दै विदेशी कामदार भित्र्याउने प्रक्रिया थालेको छ । उसले नेपालसंगै थाइल्यान्ड, चीन, भियतनाम, इण्डोनेसिया, मंगोलियालगायत ९ देशबाट कामदार भित्र्याउने भएको हो । आउँदो अप्रिल १ तारिखबाटै नेपाली कामदार लाने विषयबारे प्रक्रिया अघि बढ्ने जनाइएको छ । जापानको पछिल्लो नयाँ नियमअनुसार आप्रवासी कामदारका लागि जापानी भाषा अनिवार्य गरेको छ । जापानले सरकारीस्तरमै समझदारी गरी विदेशी कामदारको भाषा सीप परीक्षणबाट मात्र व्यवस्थित तरिकाले कामदार लैजाने भएको हो । यसका लागि उसले आवश्यक लागत बजेट १ वर्षका लागि १६ दशमलव ३ अर्ब जापानी येन छुट्याएको छ ।

भाषा परीक्षा र सिप परीक्षण, कामदार छनोट, लागतसहितका विषयमा जापान सरकारसँग समझदारी पत्रमा हस्ताक्षर भएपछि मात्रै कामदार पठाउने प्रक्रिया थालनी हुनेछ । जापानले पहिलो पाँच वर्षमा ३ लाख ४५ हजार विदेशी कामदारलाई १४ वटा औद्योगिक क्षेत्रमा बिदेशी कामदार लैजाने जनाएको छ । जसमा नेपालीहरुले नर्सिङ केयर, निर्माण, होटल, कृषि, मत्स्यपालन लगायतका क्षेत्रमा जान पाउनेछन् ।

जापानले पहिलो चरणमा कम्तिमा पनि ३ लाख ४५ हजार आप्रवासी कामदार भित्र्याउने तयारी गरेको छ । नेपालबाट झण्डै ४० हजार कामदार लगिने बुझिएको छ ।