हिमाल आरोहणमा विकृति बढेपछि जुर्मुरायो पर्यटन विभाग

हिमाल आरोहणमा विकृति बढेपछि जुर्मुरायो पर्यटन विभाग


हिमाल आरोहणलाई एक साहसिक पर्यटनका रुपमा लिइन्छ । तर, हिमाल आरोहण कार्यसमेत विकृतिबाट अछुतो रहन सकेको छैन । आरोहणका क्रममा सम्पर्क अधिकृत खटाएका स्थानमा नजाने तथा आरोहणमा संलग्न कम्पनीले फर्जी कागजात पेश गरेर आरोहणको प्रमाणपत्र लिनेजस्ता विकृति बढेको पाइएपछि पर्यटन विभागले पर्वतारोहणलाई व्यवस्थित गर्नेे भएको छ ।

आरोहणका लागि वसन्त ऋतु र शरद ऋतु उपयुक्त मानिन्छ । खासगरी अहिले आरोहणको मुख्य याम भएकाले आरोहणलाई व्यवस्थित बनाउन विभागले सक्रियता बढाएको छ । सगरमाथासहितका हिमाल आरोहणमा देखिएका विकृतिलाई नियन्त्रण गर्न नियामक निकायको नाताले पर्यटन विभागले आरोहणलाई विश्वसनीय र प्रभावकारी बनाउन लागेको जनाइएको छ ।

पर्यटन विभागका निर्देशक मीरा आचार्यका अनुसार आरोहणका गतिविधिलाई प्रभावकारी नियमन र व्यस्थित गर्न खटिने सम्पर्क अधिकृतलाई विभागले विशेष जिम्मेवारीका साथ खटाउनेछ । आरोहणमा अनुशासन कायम गर्न आरोहणको यो यामदेखि सुरक्षाकर्मीलाई पनि सम्पर्क अधिकृतका रुपमा खटाइने छ ।

विगतका आरोहण क्रममा सम्पर्क अधिकृत खटाएको स्थलमा नपुग्नेजस्ता गुनासा रहेकोले अहिले सम्पर्क अधिकृत खटाएको क्षेत्रमा पुग्नैपर्ने व्यवस्था गरिएको छ । अनुशासन कायम गर्न सुरक्षाकर्मीलाई पनि सम्पर्क अधिकृतका रुपमा पठाउने योजना बनाएको छ र यसले आरोहणलाई व्यवस्थित र मर्यादिन बनाउन सहयोग पुग्ने अपेक्षा विभागले लिएको छ ।

योपटक सगरमाथा सफाइ अभियान रहेको र सगरमाथाको आधार शिविरमा आर्मीको एक्याम्प पनि बस्ने हुँदा केही हदसम्म आरोहण व्यवस्थित हुने विभागको अनुमान छ । आरोहण दलको सङ्ख्याअनुसार सम्पर्क अधिकृत खटाइने बताइएको छ । एक आरोहण दलमा एक सम्पर्क अधिकृत खटिन्छन् । एकदेखि १५ जनाको आरोही दल हुन्छ ।

आरोहण शुरु हुनुअघि शेर्पा टोलीले सगरमाथाको चुचुरोमा डोरी टाग्ने ‘रुट फिक्सिङ’ कार्य सम्बन्धित विभिन्न बैठकबाट सम्पर्क अधिकृत अनिवार्य उपस्थित हुनुपर्ने व्यवस्था गरिएको निर्देशक आचार्यको भनाई छ ।

विगतमा कतिपय सम्पर्क अधिकृत सगरमाथाको बेसक्याम्पसम्म पनि नपुग्ने, बीच बाटोबाटै फर्कनेजस्ता समाचार बाहिर आएका थिए । केही कम्पनीले सगरमाथा आरोहण गरेको नक्कली फोटोसहितको कागजातका आधारमा आरोहणको प्रमाणपत्र लिएको पनि विगतमा रेकर्ड छ । यतिखेर धेरै सङ्ख्यामा आरोही पर्वतारोहणका लागि नेपाल आएका छन् । सर्वोच्च शिखर सगरमाथा, अन्नपूर्ण, मनास्लुलगायतका उच्च हिमशृङ्खला आरोहण उनीहरूको रोजाइमा पर्छन् ।

यसैबीच पर्यटन विभागले यस वर्षको वसन्त ऋतुको आरोहण अनुमतिपत्र दिन शुरु गरेको छ । विभागको पर्वतारोहण शाखाका अनुसार १५ भन्दाबढी आरोहण समूहले सगरमाथालगायत हिमाल आरोहण अनुमतिका लागि निवेदन दिएका छन् । हालसम्म ६ आरोही समूहलाई अनुमति दिइएको छ । सगरमाथाको अनुमति आइतबारदेखि शुरु गरिएको र दैनिक पाँचदेखि सात समूहलाई अनुमति दिइने विभागले जनाएको छ ।

ज्ञातव्य छ, सगरमाथा आरोहणको रोयल्टी ऋतुअनुसार फरकफरक हुन्छ । विदेशी आरोहीले वसन्त ऋतुमा ११ हजार अमेरिकी डलर रोयल्टी तिर्नुपर्नेछ । यस्तै शरद ऋतुमा पाँच हजार ५०० डलर र गर्मी समयमा दुई हजार ७५० अमेरिकी डलर रोयल्टी तिर्नुपर्दछ । यस्तै नेपाली आरोहीले वसन्तु ऋतुमा रू ७५ हजार, शरद ऋतुमा रू ३७ हजार ५०० र गर्मीयाममा रु १८ हजार २५० रोयल्टी तिर्नुपर्ने व्यवस्था छ ।