त्रिशुली–३ ‘बी’ को शेयर किन्न १० गुणा आवेदन

त्रिशुली–३ ‘बी’ को शेयर किन्न १० गुणा आवेदन


–छविलाल बगाले
निर्माणाधीन माथिल्लो त्रिशुली थ्रि ‘बि’ मा लगानी गर्ने जनताको उत्साह बढेको छ । तीन दिनको अवधिमा मात्रै ३७ करोड ३१ लाखभन्दा बढि रकम संकलन भइसकेको छ । यो जलविद्युत इतिहासकै ठूलो लगानी संकलन हो । आयोजनामा एकाएक जनताको लगानी थुप्रिएको छ । शेयर निष्काशन भएको तेश्रो कारोबार दिनमै ८३ हजार ५ सय ८३ आवेदकले ३ करोड ७३ लाख १९ हजार ७ सय २० कित्ता सेयर किन्न आवेदन दिएका छन् । यसबाट ३७ करोड ३१ लाख ९७ हजार २ सय रुपैयाँ संकलन भएको छ । यो तथ्याङ्क आइतबार साँझ साढे ५ बजेसम्मको हो ।

‘आयोजना क्यू सेभेन्टी’ मा डिजाइन गरेको र क्यास्केट आयोजना भएकाले जनताको लगानी उत्साहजनक भएको कम्पनीका प्रबन्ध निर्देशक मोहनप्रसाद गौतमले जानकारी दिए । सरकारले निर्माण गरेको २२ मेगावाटको चिलिमेको सफलताले पनि आयोजनामा जनताको विश्वास बढेको उनको बुझाई छ । छोटो समयमा लक्ष्यको दश गुणा बढी लगानी जुट्नु प्रशंसनीय भएपनि मुनाफाको सुनिश्चततामा प्रश्न उठ्ने विज्ञहरु बताउँछन् । चिलिमे मोडेलको नाममा जनतालाई लगानी गर्न हौसाएको आरोप पनि प्राधिकरणमाथि छ ।

नागरिकले सुरुमा आफूले लिन कबोल गरेको सेयरको १० प्रतिशत रकम जम्मा गर्नुपर्ने कार्य्विधि रहेको छ । बाँकी ९० प्रतिशत रकम आयोजनाको भौतिक प्रगति ५० प्रतिशत पूरा भएपछि बुझाउनुपर्ने छ । यसरी जम्मा हुने जनताको रकमका लागि वार्षिक ८ प्रतिशतसम्म ब्याज दिने कार्यविधिमा उल्लेख छ । निर्माणाधिन ३७ मेगावाटको त्रिशुली थ्रि ‘बि’ मा पनि चिलिमेले दिएको प्रतिफल पाउने आशमा लगानी गर्न हौसिनेले चिलिमेको लागत थाहा पाउनुपर्छ । डेढ अर्बमा सम्पन्न हुने भनिएपनि सरकारी लापरबाही र ढिलासुस्तीकै कै कारण आयोजनाको लागत २ अर्ब ३३ करोड पुगेको थियो । यो मात्रै होइन निर्माणाधिन ४५६ मेगावाटको तामाकोशी र १४ मेगावाटको कुलेखानी तेस्रोको लागत र समयावधि दुबै बढेको छ ।

कम्पनीले बिहीबारबाट आवेदन दिन मिल्ने गरी नुवाकोटमा निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत आयोजनाका लागि सेयर निष्कासन गरेको थियो । कम्पनीले सर्वसाधारणका लागि ३५ लाख ९३ हजार ८ सय ५० कित्ता सेयर निष्कासन गरेको छ । हाल यसको १० प्रतिशत अर्थात् ३ करोड ७० लाख ५० हजार रुपैयाँ (३ लाख ७० हजार ५ सय कित्ता) को लागि मात्र सेयर माग गरिएको छ । सेयर खरिदमा बढी आवेदन परेकाले गोलाप्रथाबाट बाँडफाँड गर्नुपर्ने अवस्था आउने सम्भावना छ । जसबाट प्रतिव्यक्ति १० कित्ता पनि नपर्ने र सुरुमा उत्साहित भएर आवेदन दिने व्यक्ति निराश हुने अवस्था पनि देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले १० हजार र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले हजार कित्ता खरिद गर्न आवेदन दिएका छन् । सय रुपैयाँ मूल्य अंकित उक्त परिमाणको सेयर किन्न हाल १० प्रतिशतले हुन आउने प्रतिसेयर १० रुपैयाँमा आवेदन दिन पाइनेछ ।