आठौँ राष्ट्रिय खेलकूद ‘चैत २७’ मा, एनआरएनएका २४ खेलाडी

आठौँ राष्ट्रिय खेलकूद ‘चैत २७’ मा, एनआरएनएका २४ खेलाडी


आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको उद्घाटन समारोह यही चैत २७ गते हुने निश्चित भएको राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले जानकारी दिएका छन् । सचिव विष्टले नेपालगञ्ज रङ्गशालामा खेलकूद प्रतियोगिताको उद्घाटन भई २०७६ साल वैशाख ३ गते समापन हुने जानकारी दिएका हुन् ।

आइतबार नेपालगञ्जमा आयोजित समन्वय बैठकलाई सम्बोधन गर्दै सदस्य सचिव विष्टले यही चैत १५ गते बस्ने बोर्ड बैठकले यसबारे टुङ्गो लगाउने बताए । राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रतियोगिताको उद्घाटन हुने सदस्यसचिव बिष्टको भनाई छ ।

राष्ट्रिय खेलकूद प्रतियोगिता प्रत्येक दुई वर्षमा गर्न सकिन्छ भन्ने देखाउन पनि २०७५ चैतभित्रै सो प्रतियोगिता शुरु गर्न लागेको उल्लेख गर्दै उनले भने– ‘समयमै नहुने राष्ट्रिय खेलकूद प्रतियोगिताको बेथितिमा थिति बसाल्न लागिपरेका छौँ ।’ आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता हुने कुरामा कसैले कुनै शङ्का नगर्न उनले आग्रह गरे । प्रतियोगिताको उद्घाटनस्थल नेपालगञ्ज रङ्शालामा विशिष्ट पाहुनाका लागि चीनबाट प्यारापिट आइसकेको पनि उनले जानकारी दिए ।

आठौँ राष्ट्रिय खेलकूदमा एनआरएनएका २४ खेलाडी

प्रदेश नं ५ मा हुने आठौँ राष्ट्रिय खेलकूदमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)बाट २४ खेलाडी सहभागी हुने भएका छन् । सात राष्ट्रबाट विभिन्न ९ खेलमा २२ पुरुष र दुई महिला एनआरएनएका खेलाडीले प्रतिस्पर्धा गर्ने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा एनआरएनएका अध्यक्ष भवन भट्टले जानकारी दिएका हुन् ।

खेलाडी बाहेक एनआरएनएबाट दुई प्रशिक्षक र चार निर्णायक पनि आठौं राष्ट्रियमा सहभागी हुने छन् । सबैभन्दा बढी करातेमा १२ खेलाडी छन् । पुरुषतर्फ करातेमा युएईबाट विजय तामाङ, लक्ष्मण मगर, उत्तम गुरुङ, कुमार भुसाल, लोकबहादुर श्रेष्ठ र रामबहादुर तामाङ, मकाउबाट नानबहादुर थापा र लोकमानसिंह श्रेष्ठ, अमेरिकाबाट जनकसिंह खड्का तथा मलेसियाबाट नोर्बु तामाङले प्रतिस्पर्धा गर्ने भएका छन् ।

करातेमै भाग लिने दुई महिला खेलाडीमा शान्तिदेवी अधिरकारीले मकाउ तथा १७औँ इन्चोन एसियाडमा नेपाललाई पदकविहीन हुनबाट जोगाएकी विमला तामाङले अमेरिकाबाट खेल्ने छिन् । फुल कन्ट्याक्टमा जापानबाट अविरल घिमिरे, जुडोमा अस्ट्रेलियाबाट मोहन बम, बक्सिङमा जापानबाट प्रचण्ड केसी, लनटेनिसमा अस्ट्रेलियाबाट अमृत पौडेल र संरक्षक भूषण बज्राचार्य, गोल्फमा हङकङबाट लवकुमार गुरुङ, ब्याडमिन्टनमा युएईका विक्की बुढा, सूर्य गिरी र हिरालाल श्रेष्ठ, एथलेटिक्सको म्याराथनमा मकाउबाट नारी चन्द तथा तेक्वान्दोमा युएईबाट नवीन श्रेष्ठ र अमेरिकाबाट पुष्प थापा मगरले सहभागिता जनाउने छन् ।

निर्णायकमा रवि शाही, योगेन्द्र कोइराला, शान्त ठोकर र राजेश कर्माचार्य तथा टिम प्रशिक्षकमा ११औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत करातेका स्वर्णधारी सुनिल लामा र पर्शुराम घिमिरे छन् । वृहत राष्ट्रिय खेलकूदमा एनआरएनए टोली पहिलो पटक सहभागी हुन लागेको हो । राससले जनाएअनुसार आठौँ राष्ट्रियमा एनआरएनएसहित सात प्रदेश र तीन विभागीय (आर्मी/प्रहरी/एपिएफ) गरी ११ टिमको सहभागिता रहनेछ ।