सबै दृष्टिमा सरकार असफल : प्रकाशमान सिंह

सबै दृष्टिमा सरकार असफल : प्रकाशमान सिंह


  • रेजिना गौतम, विर्तामोड (झापा)

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले देशभित्रकै लगानीकर्ता र उद्योगीलाई हतोत्साहित तुल्याइरहेको सरकारले विदेशी लगानी भित्र्याउन अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्नुको कुनै अर्थ नहुने धारणा सार्वजनिक गरेका छन् ।

नेपाली कांग्रेस झापाको आयोजनामा जिल्ला पार्टी कार्यालयमा आइतबार (११ चैत) आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै पूर्वउपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वमहामन्त्री समेत रहेका नेता सिंहले सरकारले आगामी १६ गतेदेखि गर्न लागेको लगानी सम्मेलनप्रति टिप्पणी गर्दै यस्तो धारणा राखेका हुन् ।

देशमै भएको कुरा सम्हाल्न नसक्ने सरकारले विदेशी लगानी भित्र्याउन नसक्ने तर्क गर्दै उनले विगतमा गरिएको लगानी सम्मेलनमा आएको प्रतिबद्धताअनुरुप देशमा लगानी भित्रिन नसकेको धारणा राखे ।

दुई तिहाई बहुमत प्राप्त सरकारले जनपक्षीय काम गर्न र सरकार छ भन्ने अनुभूति जनतालाई दिलाउन नसकेको भन्दै नेता सिंहले वर्तमान सरकार विधिको शासनबाट नचलेको र सरकारले हत्या, हिंसा, बलात्कारजस्ता सामाजिक अपराधमा संलग्नलाई संरक्षण गरेको आरोप लगाए ।

केन्द्र, प्रदेश र स्थानीय निकायमा समेत कम्युनिष्ट पार्टीको बहुमत देखिए पनि तीनै तहका सरकारले निर्वाचनताका गरेका कुनै पनि प्रतिबद्धता पूरा नगरेको बताउँदै सिंहले प्रश्न गरे– ‘खै एक वर्षको अवधिमा सरकारले के गऱ्यो ?’ कानून निर्माणमा समेत सरकारले ढिलाई गरेको भन्दै उनले सरकार आर्थिक सामाजिक रुपमा असफल भइसकेको टिप्पणी गरे ।

आफ्नौ पार्टी नेतृत्वलाई पनि नेता सिंहले आलोचना गर्न बाँकी राखेनन् । नेतृत्वले विधिसम्मत तरिकाले कांग्रेस पार्टी चलाउन नसकेको भन्दै उनले पार्टीलाई संस्थागत गर्नुपर्नेमा जोड दिए । कांग्रेसमा केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने ब्यवस्था र समानुपातिक सिटमा एकै ब्यक्तिलाई आरक्षण दिइरहने प्रवृत्तिको अन्त्य अनिवार्य भएको उनको भनाई थियो ।

कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक भीष्मराज आङदेम्बेले देश विखण्डनको मुद्धा बोक्ने सीके राउतसँग विवादास्पद सम्झौता र विप्लव नेतृत्वको पार्टीलाई प्रतिबन्ध गरेर सरकारले देश विखण्डनतर्फ लैजान लागेको आरोप लगाए ।

बहुमतीय सरकारले प्रतिपक्षी आवाजको सम्मान गर्नुपर्नेमा बहुमतको दम्भका कारण वर्तमान सरकारले प्रतिपक्षीलाई गुमराहमा राखेर दुप्रै देशघाती निर्णय गरेको दाबी गरे ।

अर्का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री हृदयराम थानीले प्रधानमन्त्रीले आदर्शको कुरा गरे पनि ब्यवहार ठिक विपरित भएको बताउँदै भ्रष्टचारीलाई कारबाही गर्न नसकेको धारणा राखे । सरकार यही गतिमा हिँडे पाँच वर्ष पनि नटिक्ने ठोकुवा गर्दै नेता थानीले प्रजातन्त्र जोगाउने शक्ति कांग्रेसमा मात्रै रहेको दाबी गरे ।

कांग्रेस केन्द्रीय सदस्य तथा राष्ट्रिय सभामा कांग्रेसका तर्फबाट प्रमुख सचेतक सरिता प्रसाईंले आदेशका भरमा सेना चलाउन सकिने प्रावधानसहितको सुरक्षासम्बन्धी विधेयक सरकारका तर्फबाट संसदमा पेश भएको जानकारी दिँदै यो लोकतन्त्रका लागि खतरनाक भएकोले प्रतिपक्षीले विधेयकका विपक्षमा जोडदार आवाज उठाउने प्रतिबद्धता ब्यक्त गरे ।

नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा स्वागत मन्तव्य उपसभापति राम कट्टेलले दिएका तथा कार्यक्रम सञ्चालन सचिव तारावीर कटवालले गरेका थिए । नेपाली कांग्रेस काठमाडौंका सभापति सुवोध बानियाँ, पाँचथर सभापति नरेन्द्र केरुङ, सांसद महेन्द्राकुमारी लिम्बू, पूर्वसांसद डिल्ली सिटौलालगायतले समेत मन्तव्य राखेका थिए ।