वीरगञ्जबाट १९ बन्दी एसईई सहभागी

वीरगञ्जबाट १९ बन्दी एसईई सहभागी


विभिन्न अपराधमा कैद सजाय भोगिरहेका १९ युवा आइतबार वीरगञ्जबाट मध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागी भएका छन् । एसईई परीक्षाको आइतबार पहिलो दिन नियमित अंग्रेजी विषयको परीक्षामा वीरगञ्ज कारागारबाट १६ र बाल सुधार केन्द्रबाट तीनजनाले सहभागिता जनाएका हुन् ।

लागुऔषधलगायत मुद्दामा पक्राउ परेका युवालाई कडा सुुरक्षा व्यवस्थाबीच कारागारभित्रै परीक्षा दिने व्यवस्था मिलाइएको कारागारका निमित्त प्रमुख गणेश भण्डारीले जानकारी दिए । उनले वीरगञ्ज कारागारबाट १६ र बाल सुधार केन्द्रबाट तीन युवा परीक्षामा सहभागी भएको बताए ।

कारागार परिसरमा विद्यालयका शिक्षकले कैदी–बन्दीलाई परीक्षाको पूर्वतयारी गराइएको निमित्त प्रमुख भण्डारीले जानकारी दिए । एसईई परीक्षामा सहभागिताका लागि यस वर्ष पर्साबाट नियमिततर्फ सात हजार ८ सय ५७, पुनः परीक्षातर्फ ३ सय ५० र प्राविधिक विषयतर्फ १ सय ८२ ले फारम भरेका छन् । उक्त परीक्षाका लागि वीरगञ्ज महानगरपालिकाभित्र १४ र ग्रामीण क्षेत्रमा १० गरी जिल्लामा कुल २४ परीक्षा केन्द्र तोकिएको छ ।