स्पेसल ओलम्पिक टोली फर्कियो

स्पेसल ओलम्पिक टोली फर्कियो


यूएईमा भएको स्पेसल ओलम्पिक समर वल्र्ड गेम्सका पदक विजेतासहितको नेपाली टोली स्वदेश फर्किएको छ । मार्च १४ देखि २१ तारिखसम्म भएको फरक क्षमता भएका व्यक्तिको गेम्समा नेपालले एथलेटिक्स, बोसी र फुटसलमा सहभागिता जनाएको थियो । नेपालले एथलेटिक्समा १ स्वर्ण र २ कांस्य तथा बोसीमा १ रजत हात पारेको थियो । ३ सपांग र ५ फरक क्षमता भएका व्यक्तिको पुरुष फाइभ ए साइड युनिफाइड फुटसलमा नेपालले रजत जित्यो ।

एथलेटिक्सको पुरुष सटफुटमा अजय तामाङले स्वर्ण तथा सागर शेरचनले कांस्य जिते । महिला लङजम्पमा एलिसा न्यौपानेले कांस्य जितिन् । महिला बोसीमा महिमा कोइरालाले नेपाललाई रजत दिलाइन् । फुटसल टोलीमा अनिश कार्की, महेन्द्र कार्की, ईश्वर लिम्बू, इसान श्रेष्ठ, धनबहादुर क्षेत्री, अदेश काफ्ले, अदित बज्राचार्य र क्षितिज बानियाँ थिए ।

गेम्समा १ सय ९० भन्दा बढी राष्ट्रको सहभागिता रहेको स्पेसल ओलम्पिक नेपालकी अध्यक्ष एवं टोली नेता डा. शिक्षिता श्रेष्ठले जनाएकी छन् । स्पेसल ओलम्पिकमा नेपालले पहिलोपटक स्वर्ण जितेको अध्यक्ष श्रेष्ठले जनाएकी छन् ।