नख्खुले जित्यो जोशी स्मृति फुटसल उपाधि

नख्खुले जित्यो जोशी स्मृति फुटसल उपाधि


नख्खु फुटसलले दोस्रो सुनीललाल जोशी स्मृति अन्तरसंघ फुटसल प्रतियोगिताको उपाधि जितेको छ । नेपाल खेलाडी तथा प्रशिक्षक संघद्वारा आयोजित प्रतियोगिताको फाइनलमा नख्खुले दिलीप स्मृति प्रतिष्ठानलाई ५–३ गोलले पराजित गऱ्यो ।

नख्खुका रफी महर्जन र भुवन राउतले २–२ तथा अभय राणाले १ गोल गरे । प्रतिष्ठानबाट अनिल खड्का, दीपेन्द्र खत्री र अमुल लामाले गोल गरे । उपाधिसँगै नख्खुले ७५ हजार तथा प्रतिष्ठानले ५० हजार नगद पुरस्कार पाए ।

सामाखुसी फुटसलमा भएको प्रतियोगितामा नेपाल रोलबल संघले तेस्रो स्थानमा चित्त बुझायो । रोलबलले राष्ट्रिय खेलकुद परिषदअन्तर्गत तालिम तथा प्रशिक्षण विभागलाई टाइब्रेकरमा ३–१ गोलले हरायो । निधाृरित समयको खेल १–१ को बराबरीमा सकिएको थियो । रोलबलले २५ हजार नगद पुरस्कार हात पाऱ्यो ।

प्रतिष्ठानका आशिष सोनाम उत्कृष्ट खेलाडी तथा नख्खुका अनिश श्रेष्ठ उत्कृष्ट गोलरक्षक घोषित भए । दुवैले जनही ५ हजार नगद पुरस्कार पाए । विजेतालाई नेपाल बिलियर्ड, पुल तथा स्नुकर संघका अध्यक्ष सरोज मुल्मीलगायतले पुरस्कृत गरे । प्रतियोगितामा २१ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेको आयोजक संघका अध्यक्ष महेश महर्जनले जनाएका छन् ।