साफ महिला फुटबलका खेलाडीले २ लाख ५० हजार पाउने

साफ महिला फुटबलका खेलाडीले २ लाख ५० हजार पाउने


अखिल नेपाल फुटबल संघ (एन्फा)ले पाँचौँ साफ फुटबल प्रतियोगिता खेल्ने प्रत्येक खेलाडीलाई रु. एक लाख नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । एन्फाको शनिबार साँझ यहाँ सम्पन्न १८औँ वार्षिक साधारणसभापछि आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता किरण राईले निर्णय सार्वजनिक गरेका हुन् ।

यसअघि पाँचौँ साफ फुटबल खेल्ने खेलाडीलाई प्रदेश सरकारले रु. एक लाख तथा विराटनगर महानगरपालिकाले रु. ५० हजार प्रदान गर्ने निर्णय गरिसकेको छ । यसैगरी एन्फाले आर्थिक वर्ष ०७५–७६ का लागि रु. २३ करोड ७४ लाख ५० हजारको अनुमानित वार्षिक बजेटसमेत स्वीकृत गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले साफ फुटबल सफलतापूर्वक सम्पन्न गर्न सबैको सहयोग प्राप्त भएकामा धन्यवाद दिँदै प्रदेश १ मा आगामी दिनमा मुख्यमन्त्री आमन्त्रण फुटबल तथा १० देखि १२ वर्ष उमेरका महिलाका लागि फुटबल प्रशिक्षण कार्यक्रम चाँडै सञ्चालन गर्ने जानकारी गराए ।

उनले प्रदेश सरकारको सहयोग प्राप्त भए विराटनगरमा महिला फुटबल प्रशिक्षण एकेडेमी सञ्चालन गर्ने आश्वासनसमेत दिए । विराटनगरको शहीद रंगशाला अन्तर्राष्ट्रिय मापदण्डअनुसारको निर्माण सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै त्यसको संरक्षण गर्ने जिम्मेवारी सबैको काँधमा आएको उनको भनाइ थियो । साफ महिला फुटबल सम्पन्न गर्न विराटनगर महानगरपालिकाबाट रु. एक करोड २० लाख र प्रदेश सरकारबाट रु. ५० लाख भौतिक पूर्वाधारका लागि प्राप्त भएको र सोही शीर्षकमा खर्च भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । साफ खेलकुदबाट प्रतियोगिता सम्पन्न गर्न रु. एक करोड ६५ लाख प्राप्त हुने विश्वास गरिएको छ ।

पत्रकार सम्मेलनमा साफ महिला फुटबलसम्बन्धी सम्पूर्ण खर्च तथा आम्दानी आगामी एक हप्ताभित्र सार्वजनिक गरिने प्रवक्ता राईले जानकारी दिए । यस्तै, एन्फाले खेलकुद पत्रकारिताका लागि तीनदिने प्रशिक्षण कार्यक्रम गर्ने अध्यक्ष शेर्पाले बताए । यसैगरी खोटाङ, नवलपुर र मनाङ जिल्लाका फुटबल संघलाई आगामी एक वर्षका लागि पर्यवेक्षकका रूपमा अस्थायी सदस्यता प्रदान गर्ने निर्णय साधारणसभाले गरेको छ ।