काङ्गे्रस महाधिवेशन ६ महिनापछि !

काङ्गे्रस महाधिवेशन ६ महिनापछि !


othernewsनेपाली काङ्गे्रसको तेह्रौँ महाधिवेशन सङ्कटमा परेको छ । पार्टी सभापति सुशील कोइराला कम्तीमा ६ महिना अधिवेशन सार्ने पक्षमा हुनुहुन्छ र उहाँले संविधान संशोधन गरेर भए पनि महाधिवेशन सार्ने योजना बनाइसक्नुभएको छ । मंगलबार (भदौ १ गते) कोइरालाले उच्चस्तरीय बैठकमा पार्टीको महाधिवेशन थप ६ महिना सार्न सकिने वैधानिक व्यवस्थाका लागि संविधान संशोधनको प्रस्ताव राख्नुभएको थियो । अन्य दलहरूले पनि सुशील कोइरालाको प्रस्तावलाई सकारात्मक रूपमा लिएका छन् । त्यसैले काङ्ग्रेस महाधिवेशन सार्नकै लागि केही दिनभित्रै संविधानमा संशोधन हुने सम्भावना बढेको छ ।
सुशील कोइरालालाई नजिकबाट बुझ्नेहरूले तेह्रौँ महाधिवेशन तत्काल गराउने पक्षमा उहाँ नरहनुभएको अनुमान गर्दै आएका थिए । महाभूकम्प नगएको या संविधान बनाउने चटारो आइनलागेको भए पनि कुनै न कुनै वहानाबाजी गरेर सुशील कोइरालाले महाधिवेशन पछि सार्ने र सार्दै जाने अनुमान कोइरालालाई चिन्नेहरूको थियो । निर्धारित समयमा महाधिवेशन नगर्नकै लागि भनेर कोइरालाले क्रियाशील सदस्यतासम्बन्धी विवाद टुङ्ग्याउन पनि कुनै तत्परता लिनुभएको थिएन । सभापति, उपसभापति र महामन्त्रीलगायतको पदीय जिम्मेवारी लिन इच्छुक नेताहरूले आफ्नो इच्छा दर्शाउँदा पनि सुशील कोइरालाले ‘अहिले हतार नगर्न’ भन्दै पन्छाउने गर्नुभएको थियो । भनिन्छ, पहिले संविधान जारी गरेर मात्र पार्टीको महाधिवेशन गराउने पक्षमा सुशील कोइराला रहनुभएको छ । तर, संविधान कहिलेसम्म जारी हुने हो त्यसको कुनै निश्चितता छैन । संविधान जारी नहुँदा पनि पदमा बसिरहन पाइने र जारी गर्न सके आफू ‘देशको हिरो’ बनेर महाधिवेशनमा जाँदा राजनीतिक लाभ प्राप्त हुने विश्वासका साथ सुशील कोइराला खेल खेल्दै हुनुहुन्छ । त्यसैले अनिवार्य रूपमा गराउनैपर्ने महाधिवेशन कहिले हुने भन्नेमा अन्योल उत्पन्न भएको छ । केही नेताहरूले महाधिवेशन मङ्सिरमा गर्नुपर्ने धारणा राखेका छन्, तर सुशील कोइराला र उहाँको टोली आगामी माघभन्दा यता महाधिवेशन गराउन नसकिने ठान्दछ ।

चर्किंदै हिंसात्मक सङ्घर्ष
बानेश्वरस्थित संविधानसभा भवनमा प्रमुख चार दलका शीर्ष नेताहरू संविधान बनाउन जुटिरहेका छन् । तर, उनीहरूले बनाउन लागेको संविधान र सीमाङ्कनका लागि गरिएको नक्साङ्कनको विरोध गर्दै मुलुकभर विरोध प्रदर्शन जारी छ । विरोधमा उत्रनेहरूले सङ्घीयताका नाममा काङ्ग्रेस, एमाले, एमाओवादी र फोरम लोकतान्त्रिकका चार नेताले गरेको सीमाङ्कनलाई प्रमुख मुद्दा बनाएका छन् । उनीहरूको आन्दोलनका क्रममा अहिलेसम्म सप्तरीमा समेत गरी चारजनाको मृत्यु भएको छ । आन्दोलन थप उग्र र हिंसात्मक बन्दै गएको छ । आन्दोलनमा सहभागी भएकाहरूले सङ्घीयताको विरोध गर्दै आफ्नो क्षेत्र अखण्ड हुनुपर्ने माग गरेका छन् । आन्दोलनमा उत्रेका सबैले आफ्नो क्षेत्र अखण्ड हुनुपर्ने माग गरेपछि नेपाल सङ्घीय प्रणालीमा कसरी जाला भन्ने प्रश्न उठेको छ ।
अखण्ड नेपालको पक्षमा सङ्घीय संरचनामा सीमाङ्कन गर्नेहरू नै देखिएपछि नेपाल सङ्घीय संरचनामा कठिन हुने देखिएको हो । अहिलेकै अवस्थामा मुलुकलाई सङ्घीय संरचनामा लगे गृहयुद्ध हुन सक्ने खतरालाई दृष्टिगत गर्दै सङ्घीयताबाट पछि हट्नुपर्ने स्थिति देखापरेको हो । संविधानसभामा रहेका केही दलले पनि मुलुकलाई सङ्घीय संरचनामा लैजान नहुने र नेपाललाई हिन्दू राष्ट्र कायम गरिनुपर्ने भन्दै सदनमै आन्दोलन गरिरहेका छन् । उनीहरू संविधानसभा बहिष्कार गरेरै आन्दोलन उत्रिएका छन् । चार दलले बनाउन लागेको संविधानले मुलुकलाई विखण्डन गराउने भन्दै उनीहरूले त्यसलाई सच्याई जनताले दिएका सुझावका आधारमा मात्र संविधान निर्माण गर्न माग गरेका छन् ।
मुलुकलाई विभिन्न खण्डमा विभाजन गरी गरिएको आन्दोलनको माग पनि सोहीअनुसारको छ । उनीहरूले आफ्नो माग पूरा गर्न भन्दै जिल्ला, अञ्चल र नेपाल बन्द गरिरहेका छन् । अखण्ड सुदूरपश्चिमको माग गर्दै सुरु भएको आन्दोलन अहिले नेपालको पूर्वी भागमा पुगेको छ । सबैजसो आन्दोलनकारीहरूले आफ्ना माग पूरा गर्ने माध्यम बन्दलाई नै बनाएका छन् । विशेष अधिकारसहितको स्वायत्त कर्णाली प्रदेशको माग गर्दै जुम्लामा चलेको आन्दोलन दश दिन पुग्दा पनि रोकिएको छैन । जुम्लामा अनिश्चितकालीन कफ्र्यु लगाइएको छ । विरोधमा उत्रेका जुम्लीहरूले सरकारी कार्यालयका साइनबोर्ड कब्जामा लिएर तोडफोड गरेका थिए । साथै सुदूरपश्चिमका अन्य जिल्लामा पनि आन्दोलन जारी छ । उनीहरूको माग अखण्ड सुदूरपश्चिम हुनुपर्ने रहेको छ ।
सीमाङ्कनको विरोध गर्दै सप्तरीको भारदहमा मंगलबार (भदौ १ गते) आन्दोलनमा उत्रेका स्थानीय राजीव रौतको प्रहरीको गोली लागेर मृत्यु भएको छ । स्थानीय रौतसहित सीमाङ्कनको विरोधमा उत्रने चार प्रदर्शनकारीको मृत्यु भइसकेको छ । प्रदर्शनकारीको मृत्युसँगै आन्दोलनले थप उग्र रूप लिँदै गएको छ । साथै विभिन्न स्थानमा प्रहरीसँग भएको झडपमा घाइते हुनेहरूको सङ्ख्या सयभन्दा बढी पुगेको छ । सप्तरीमा भएको झडपमा मात्र सङ्घीय समाजवादी जिल्ला अध्यक्ष दिनेशकुमार यादवसहित १५ जनाभन्दा धेरै घाइते भएका छन् । नयाँ संविधानको मस्यौदामा असन्तुष्टि जनाउँदै मधेसी मोर्चाले सप्तरी तीन दिनदेखि बन्द गराउँदै आएको छ । उनीहरूले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरिरहेका छन् । त्यसैगरी मधेसी मोर्चा, थारू सङ्घर्ष समिति, कोचिला सङ्घर्ष समितिलगायतका दलले अनिश्चित कालका लागि अस्ति सोमबारबाट तराई बन्द गरेका छन् । उनीहरूले पनि सीमाङ्कनलाई नै प्रमुख मुद्दा बनाएका छन् । त्यस्तै अखण्ड पक्षधरहरूले गरेको आन्दोलनका कार्यक्रम घोषणा गरी आन्दोलनमा उत्रिरहेका छन् । उनीहरू मुलुकलाई खण्डित होइन अखण्डित गरिनुपर्ने भन्दै आन्दोलनमा उत्रिरहेका हुन् ।
अखण्ड पक्षधरहरूले राजधानीकेन्द्रित आन्दोलनको तयारी गरिरहेका छन् । राप्रपा नेपाल, चित्रबहादुर केसीको जनमोर्चा नेपाल, हिन्दुराष्ट्रवादी सङ्घ–सङ्गठनले यसको नेतृत्व गरिरहेका छन् । थारू कल्याणकारिणी सभाले थरुहट प्रदेशको माग गर्दै बर्दिया जिल्ला अनिश्चितकालीन बन्दको घोषणा गरेको छ । बर्दिया नौ दिनदेखि बन्द छ । बन्दमा उत्रिएका आन्दोलनकारी कञ्चनपुरदेखि चितवनसम्मको भूमिलाई थरुहट स्वायत्त प्रदेश बनाउनुपर्ने भन्दै आन्दोलनमा उत्रिएका छन् । उनीहरूको पर्सादेखि धनुषासम्म मध्य तराई÷सिम्रौनगढ र सिरहादेखि झापासम्म थारू–कोचिला प्रदेश बनाउनुपर्ने माग छ । जाजरकोटवासीले पनि सङ्घीय राज्यको सदरमुकाम सुर्खेतमा हुनुपर्ने माग गर्र्दै आन्दोलनलाई निरन्तरता दिएका छन् । दाङवासीले अखण्ड राप्तीको माग गर्दै त्यहाँका नागरिकले आन्दोलनलाई निरन्तरता दिएका छन् ।
पूर्वमा लिम्बुवान र खम्बुवानले पनि जातीय पहिचानको माग गर्दै आन्दोलन गरेका छन् । सङ्घीय लिम्बुवान पार्टीले लिम्बुवान प्रदेशको माग गर्दै संखुवासभा, धनकुटा, मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुममा आन्दोलन गरेका छन् । यसैबीच प्राप्त अर्को समाचारअनुसार नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादी पार्टीले सशस्त्र सङ्घर्षमा जाने निर्णय गरेको छ । उक्त पार्टीले चार नेताको अग्रसरतामा बन्दै गरेको संविधान राष्ट्रहितविपरीत भएको निष्कर्ष निकालेको छ र उक्त संविधान जारी भए त्यसविरुद्ध तत्कालै सशस्त्र सङ्घर्ष सुरु गर्ने तयारी गरेको छ । त्यस निम्ति अत्याधुनिक हातहतियारसमेतको व्यवस्थापन भइसकेको बुझिएको छ ।

पाइलट नभएर थन्कियो नयाँ जहाज
दश अर्ब ऋण तिर्न समस्या– रामहरि पाण्डे
पाइलट व्यवस्थापन गर्न नसकेर नेपाल वायुसेवा निगमले विमान थन्क्याएको कुरा पत्यार नलाग्न सक्छ, तर पत्याउनै नसकिने काम वायुसेवा निगममा भएको छ । निगमले नयाँ विमान झिकाएको पाँच महिना हुन लागिसक्दा पनि क्रू मेम्बरहरूको व्यवस्थापन गर्न नसकेर विमान थन्किएको छ । निगमसँग पछिल्लोपटक खरिद गरी ल्याइएका दुई थान ए ३२०, अमेरिकी जहाज निर्माता कम्पनी बोइङमा उत्पादित दुई थान ‘बी ७५७’, चीनमा निर्मित एउटा ‘एमए–६०’, एउटा ‘वाई १२–ई’ र क्यानडामा निर्मित एउटा ट्विनअटर जहाज सञ्चालनमा छन् । निगममा अहिले क्याप्टेन र कोपाइलट गरी ४६ जनाले जहाज उडाइरहेका छन् ।
यतिबेला निगमसँग एयरबसबाट तालिम उत्तीर्ण गरेका सात पाइलट छन् । तिनमा वरिष्ठ क्याप्टेनहरू रविन्द्रपुरुष ढकाल, समजकुमार श्रेष्ठ, श्रवण रिजाल, विजय लामा, सुभाष रिजाल, श्याम ढेवाजु र कोपाइलट एनबी विश्वकर्मा छन् । त्यसैगरी एयरबस जहाजको कोपाइलट तालिम लिन हाल आधा दर्जन पाइलट फ्रान्समा छन् । उनीहरू नेपाल आए भने केही सजिलो हुन्छ । तर, अहिले पर्याप्त मात्रामा पाइलट र अन्य कर्मचारी नहुँदा समस्या भएको छ । निगमका एक अधिकारीले दिएको जानकारीअनुसार क्रू मेम्बरको अभावमा निगमले दैनिक कम्तीमा पनि १० देखि १४ घन्टा चलाउनुपर्ने विमान दैनिक चार–पाँच घन्टा मात्र चलिरहेको छ । नयाँ जहाँलाई कम्तीमा पनि दैनिक २० घन्टासम्म चलाउन सके फाइदामा पुग्छ । तर, पाइलटको अभावमा विमान चलाउन नसक्दा निगमलाई ऋणको भार थपिइरहेको छ । तर, उसले बाध्य भएर ऋणको भार बोकिरहेको छ ।
निगमसँग भएको चारवटा विमान उडाउन ‘आठ सेट पाइलट’ चाहिन्छ । बाँकी अन्यका लागि तीन र दुईजना भए पुग्छ । निगमसँग हाल पाँच थरीका विमान छन् । ती सबैका लागि फरक–फरक क्षमताका क्रू मेम्बर आवश्यक पर्ने हुन्छ । त्यसलाई मेन्टेन गर्नुपर्छ । ती जहाजमा क्याप्टेन, इन्जिनियर अरू प्राविधिकदेखि हरेकमा फरक–फरक जनशक्ति चाहिन्छ । त्यसैले पनि यहाँ जनशक्तिको अभाव भएकोले निगमको विमान थन्किएको हो । यो समस्या हुँदाहुँदै पनि कमिसनको वा अन्य स्वार्थका कारण हतार–हतार नयाँ जहाज ल्याउँदा क्रू मेम्बरको झन् ठूलो समस्या परेको हो ।
निगमले आफ्नो नयाँ योजनाअनुसार सन् २०२४ सम्ममा आन्तरिकमा १५ वटा र अन्तर्राष्ट्रियमा ६ वटा न्यारो तथा चारवटा वाइड बडीसहित १० वटा जहाज थप्ने उल्लेख छ । तर, अहिलेकै जस्तो क्रू मेम्बरको समस्या हुने हो भने आगामी वर्ष नै निगम अर्को ठूलो घाटामा जाने देखिन्छ । निगम सहज गतिमा अघि बढेको भए अहिले क्रू मेम्बरको कुनै समस्या हुने थिएन । कुनै बेला २२ वटा जहाज उडाउने निगम जम्मा दुईवटा जहाजमा मात्र सीमित भएपछि आफ्ना कर्मचारी हटाउन थाल्यो र त्यसको असर अहिले परेको हो । क्याप्टेन थोरै भए पनि हुन्छ भन्ने भएकाले यहाँबाट कर्मचारी कटौती गरियो, अहिले त्यही नै ठूलो समस्या भएको छ ।
निगमलाई अहिले एकैचोटि विविध किसिमका कर्मचारी आवश्यक परेको छ । उसले २५ जना पाइलट त एकैपटक मागेको छ । यदि निगमसँग आवश्यक जनशक्ति थियो भने यस्तो समस्या नआउने एक कर्मचारीले बताए । नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले पनि निगममा प्राविधिक र पाइलटको समन्वय नहुँदा जहाज समयमा नउड्ने, पटकपटक ग्राउन्डेड हुने गरेको बताए । उनका अनुसार निगममा इन्जिनियर र पाइलटको ठूलो अभाव छ । ती विभागमा कर्मचारी बढाएर आवश्यक तालिम दिनुपर्ने खाँचो छ । जहाज थपेपछि पाइलट थप्नुपर्छ, इन्जिनियर, एयरहोस्टेसहरू थप्नुपर्छ, तर सुरुमा त्यता ध्यान नपुगेकोले पनि समस्या देखिएको उनको भनाइ छ । जहाज किन्नेदेखि कर्मचारी थप्नेसम्मका कामहरू तत्कालै समानान्तर रूपमा अगाडि बढाउनुपर्ने थियो । जहाज ल्याउनुभन्दा अगाडि पाइलट, इन्जिनियर, एयरहोस्टेस तयार पारेर राख्नुपर्छ । अहिले निगममा यही समस्या छ । जहाज भएर पनि पाइलट अभावले पूर्ण रूपमा चलाउन सकिएको छैन ।
निगमले तत्कालका लागि समस्या समाधान गर्न आधा दर्जन विदेशी पाइलट भाडामा लिने तयारी गरेको छ । विदेशी पाइलटलाई जहाज ‘कमान्ड’ गर्न दिएर आफ्ना पाइलटलाई प्रशिक्षित पनि गर्दै लैजाने उसको तयारी छ । ‘अहिले कम्तीमा पाँच विदेशी पाइलट भाडामा लिँदै छौँ,’ निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रामहरि शर्माले भने, ‘उनीहरूलाई आवश्यकताअनुसार न्यूनतम ६ महिनादेखि एक वर्षसम्म भाडामा लिन्छौँ ।’ शर्माका अनुसार भाडामा लिइने पाइलट प्रशिक्षक र परीक्षक दुईथरी हुनेछन् । उनीहरूमध्ये प्रशिक्षकले थप तालिम दिने र परीक्षकले जाँच लिनेछन् । ‘भाडामा ल्याइने सबै प्रशिक्षक र परीक्षक पाइलटले नयाँ जहाज मात्र उडाउनेछन्,’ शर्माले भने, ‘एयरबसबाट तालिम उत्तीर्ण गरेर आउने पाइलटलाई उनीहरूले यहाँ कम्तीमा ५० घन्टासम्म थप तालिम दिनेछन् र त्यसपछि जाँच पनि लिनेछन् ।’ तर, भाडामा खोजिएका पाइलटहरूको डिमान्ड निकै भएकोले तत्काल ल्याउन सकिएको छैन । सुरुमा त्यस्ता पाइलटले मासिक २० हजार डलर (२० लाख रुपैयाँ) माग्ने गरेका छन् ।
हाल जर्मनीका प्रशिक्षक पाइलट क्रिस्टोफले निगमका नयाँ जहाज उडाइरहेका छन् भने निगमका पाइलटलाई तालिम पनि दिइरहेका छन् । उनलाई ६ महिनाका लागि भाडामा लिइएको हो । उनले २०७१ चैत अन्तिम साताबाट निगमका नयाँ जहाज कमान्ड गर्दै आएका छन् । त्यसैगरी निगमको अर्को समस्या इन्जिनियरिङको पनि हो । इन्जिनियरिङमा विकास हुन नसक्दा समस्या भएको छ । विकास गरेका इन्जिनियर पनि बिदेसिएका छन् । निगमको जहाज कहिले क्याप्टेन नभए प्यासेन्जर नपुगेर नउडेको धेरै उदाहरण छन् । साथै जहाजमा सामान्य समस्या आयो भने एक दुई दिन त्यत्तिकै थन्किनुपर्छ । बिग्रिएको समान विदेशबाट ल्याउनुपर्ने भएकोले यहाँ आइपुग्न कति दिन लाग्छ त्यतिन्जेलसम्म जहाज ग्राउन्डेड गर्नुपर्ने हुन्छ । हरेक पार्टस् किनेर राख्न सक्ने अवस्था छैन ।
पहिला अन्तर्राष्ट्रिय सेवाका लागि दुईवटा बोइङ मात्र थिए । अहिले दुईवटा एयरबस थपिएर चार पुगेका छन् । यो सकारात्मक पक्ष भए पनि अहिले निगमलाई १० अर्ब रुपैयाँ ऋणको भार छ । यो ऋणको साँवा–ब्याज तिर्नुपर्ने अवस्था छ । अहिलेको ब्यापारबाट निगमलाई ऋणको साँवा–ब्याजसमेत तिर्न समस्या परिरहेको छ । निगमले विभिन्न ४० वटा ठाउँमा एयर सर्भिस एग्रिमेन्ट गरेको छ । तर, ती सबै ठाउँमै उडान गर्न सकेको छैन । बजार हुँदाहुँदै पनि बजारलाई लिन सक्ने क्षमता नभएकाले समस्या देखिएको छ ।

अमरेश भन्छन् : ‘अमरेश तर्सने व्यक्तिमा पर्दैन’
प्रधानमन्त्री एवम् नेपाली काङ्गे्रसका सभापति सुशील कोइराला आफ्नै पार्टीका युवा नेता एवम् सभासद् अमरेशकुमार सिंहलाई कारबाही गर्न कटिबद्ध हुनुभएको छ । सुरुदेखि नै अमरेशप्रति नकारात्मक धारणा राख्नुहुने कोइरालाले संविधान निर्माणलाई गति दिएसँगै सिंहको भूमिका आफ्नो प्रतिकूल भएपछि कारबाही गर्ने निहुँ खोजी गर्नुभएको थियो । यस क्रममा गत साउन चार र पाँच गते आफ्नो जिल्ला सर्लाहीमा जनताको सुझाव सङ्कलन कार्य नगरेको र आपत्तिजनक अभिव्यक्ति दिएको आरोपमा काङ्गे्रस संसदीय दलका सचेतक चिनकाजी श्रेष्ठमार्फत लिखित स्पष्टीकरण मागिएको थियो । सोमबार संसद्को बैठकमा अडियो टेप प्रस्तुत भएपछि मंगलबार संसद्को राज्य व्यवस्था समितिले अमरेशकुमार सिंहलाई बोलाएर उनको कुरा सुनेको थियो । त्यस अवसरमा अमरेशले आफूबाट देश विभाजन र जातीय सद्भावलाई क्षति पु-याउने कुनै कार्य नभएको स्पष्ट गर्दै आफू, राजेन्द्र महतो र उपेन्द्र यादवलाई आजै जेल लैजान माग गरेका थिए । ‘यो छानबिन आदिको नाटक किन गर्नुप-यो, हामीलाई जेल लैजाँदा हुन्छ,’ सभासद् अमरेशको भनाइ थियो । सभाध्यक्ष सुवास नेम्वाङले सोमबार संसद्मा प्रस्तुत भएको अडियो रेकर्डबारे छानबिन गरी आवश्यक कारबाही गर्न भन्दै पत्र लेखेपछि मंगलबार राज्य व्यवस्था समितिले अमरेश सिंहलाई बोलाएर उनको धारणा बुझेको हो ।
सात दिनभित्र स्पष्टीकरण दिन माग गरिएकोमा अमरेशले स्पष्टीकरण दिँदै आफूलाई स्पष्टीकरण माग्नु त्रुटीपूर्ण कार्य भएको दाबी गरेका थिए । स्पष्टीकरणका आधारमा कारबाही गर्न नसकिने स्थिति भएपछि प्रधानमन्त्री कोइरालाले कैलालीमा आयोजित एक सभालाई सम्बोधन गर्ने क्रममा अमरेश सिंहले बोलेको कुरालाई कारबाहीको नयाँ आधार बनाउन खोज्नुभएको छ । प्राप्त जानकारीअनुसार कोइरालाले कैलालीस्थित प्रहरी प्रमुखसँग अमरेशले दिएको अभिव्यक्तिको अडियो रेकर्ड मगाउनुभएको थियो र सो रेकर्ड संसद्मा प्रस्तुत पनि भइसकेको छ । सभापति कोइरालाले अमरेश सिंहसँग अर्को स्पष्टीकरण नलिईकन सोझै कारबाही गर्ने योजना बनाउनुभएको बुझिएको छ । अडियो रेकर्ड प्राप्त नहुँदै कोइरालाले आफू अमरेशलाई कारबाही गर्न दृढ रहेको जानकारी आफ्ना निकटवर्ती तथा अन्य प्रमुख दलका शीर्षस्थ नेताहरूलाई गराइसक्नुभएको थियो । सभासद् सिंहमाथि कारबाही गर्नका निम्ति एमाओवादी अध्यक्ष प्रचण्ड, एमाले अध्यक्ष केपी ओली, महामन्त्री कृष्णप्रसाद सिटौला तथा काङ्गे्रसका केही सभासद्ले कोइरालामाथि दबाब दिँदै आएका छन् । यस कार्यमा महामन्त्री सिटौला विशेष रूपमा लागिपर्नुभएको बताइन्छ । ०६२ मङ्सिर ७ गते माओवादीसँग भएको बाह्रबुँदे सम्झौता र त्यसयताका हरेक राजनीतिक निर्णयमा विशेष भूमिका निर्वाह गर्दै आएका अमरेश सिंहसँग कृष्णप्रसाद सिटौलाको घनिष्टता थियो र सिटौलासँग मिलेर सिंहले अनेकौँ जोखिमपूर्ण कार्य गर्दै आएका थिए । पछिल्लो समयमा सिटौला र सिंहबीचको सम्बन्ध बिग्रिएको छ, दुई नेताबीच सामान्य बोलिचालीको सम्बन्ध पनि नरहेको बताइन्छ । माओवादीलाई मूल प्रवाहको राजनीतिमा भित्याउनेदेखि सुशील कोइरालालाई काङ्गे्रसको सभापति बनाउनेसम्मका कार्यमा सिटौला र सिंहको भूमिका महत्वपूर्ण थियो । तर, यतिबेला सुशील कोइराला र कृष्ण सिटौला दुवै बक्री भएपछि अमरेश सिंह नयाँ चुनौतीको सामना गर्नुपर्ने अवस्थामा पुगेका छन् । तपाईंमाथि कारबाही गर्न सभापति सुशील कोइराला र कृष्ण सिटौला कस्सिएका छन्, अब के गर्नुहुन्छ भनी सिंहको ध्यानाकर्षण गराउँदा उनको भनाइ छ, ‘एमाओवादीका अध्यक्ष प्रचण्ड, एमाले अध्यक्ष केपी ओली, सभाध्यक्ष सुवास नेम्वाङ र कृष्ण सिटौलाहरूको दबाबमा मलाई कारबाही गर्ने सोच सुशील कोइरालाजीले बनाउनुभएको भन्ने सुनेको छु । मलाई कारबाही गरियो भने म कानुनी र राजनीतिक लडाइँ लड्नेछु । जनताबाट तिरष्कृत भइसकेकाहरूले मलाई कारबाही गर्ने भनेर तर्साउन खोजेका हुन् ।’ अमरेशले अगाडि भने, ‘म कसैले तर्साएर तर्सिने व्यक्तिमा पर्दिनँ । यस्ता कुराले मेरो आस्था र निष्ठा बदलिँदैन । कारबाही गर्ने मूख्र्याइँपूर्ण कार्य गरे भने गर्नेहरूले पश्चात्ताप गर्नुपर्ने अवस्था बनाउन म सक्षम छु ।’
० यसको मतलब तपाईं काङ्गे्रस छोड्नुहुन्छ हो ?
– होइन, म काङ्ग्रेस, प्रजातन्त्र, जनता र देशप्रति प्रतिबद्ध कार्यकर्ता हुँ । म काङ्गे्रस छोड्दिनँ, छोडाउन खोज्नेहरूलाई गल्ती महसुस गर्नुपर्ने अवस्था सिर्जना गर्नेछु । को सच्चा प्रजातन्त्रवादी हो, को देशभक्त र जनसेवक हो भन्ने कुरा भविष्यमा स्पष्ट हुनेछ, योभन्दा बढी म केही भन्दिनँ ।

राजीनामा दिँदै सभासद्हरू
चार दलका नेताहरू जस्तोसुकै भए पनि संविधान जारी गर्ने प्रतिबद्धताका साथ अघि बढिरहँदा संविधानसभाका केही सदस्यले पदबाट राजीनामा दिने तयारी गरेका छन् । यसरी राजीनामा दिने तयारीमा राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीका सभासद्हरू रहेका छन् । संविधानसभामा सद्भावना पार्टीका पाँचजना सभासद् रहेका छन् । अन्य केही सभासद्हरूले पनि राजीनामा दिनेबारे विचार–विमर्श गरिरहेको बुझिएको छ । संविधानसभाबाट संविधान जारी गरिनुअघि ती सभासद्हरूले सभामा आफ्नो अहसमति राख्दै पद त्याग गरेर बाहिरिने योजना बनाएका छन् । संविधानका लागि मतदान हुनुअगावै त्यसरी राजीनामा दिने सभासद्हरूको सङ्ख्या कति हुने हो सो स्पष्ट हुन सकेको छैन । तर, सङ्ख्या जतिसुकै भए पनि यस प्रकरणले दुःखदायी राजनीतिक अवस्थाको सिर्जना गर्नसक्ने देखिएको छ ।

‘गर्व से कहो हम बिहारी है !’– मोहन लामा
केही वर्षअघि भारतको महाराष्ट्रमा महाराष्ट्र निर्माण सेना नामक एक प्रान्तीय पार्टीले ‘बिहारी भगाओ’ भन्ने क्षेत्रीय नारा दिएर मुम्बईमा ठूलो दङ्गाको सिर्जना ग-यो । ठाउँठाउँमा उत्तर भारतीयले सञ्चालन गरेको पसल तोडफोड गर्नेदेखि कुटपिटसम्म हुन गएपछि त्यसको प्रतिकारमा यता बिहार प्रान्तको मुख्यमन्त्री नीतीश कुमारले एउटा नारा लगाए, ‘गर्व से कहो हम बिहारी है’ ! त्यसपछि मुम्बईमा बिहारीहरू सङ्गठित रूपमा ‘हाँ, हम बिहारी है’ भन्दै प्रतिकारमा उत्रन थाले ।
नीतीश कुमारले यसरी गर्व गर्ने प्रान्तको नाम ‘बिहार’ भनेको के हो ? ऐतिहासिक पहिचानको आधारमा आजको बिहारको नाम त प्राचीन कालमा ‘मगध’भन्ने देश थियो, गर्व त ‘मगध’ राज्यको गर्नुपर्ने थियोे, तर बिहार भन्ने नाममा किन गर्व ग-यो ?
बिहार त तत्कालीन समयमा बौद्ध भिक्षुहरूको वासस्थान हो । तिब्बतमा ‘गोन्पा’ अथवा गुम्बा भनिन्छ भने तामाङ जातिले ‘घ्याङ’ भन्दछ । आजको बिहार भनेर जुन नामकरण भयो यो बिहारको भागलपुरस्थित प्राचीन विक्रमशिला महाबिहारको नाममा रहेको हो । यो बिहारबाट नै आजको हिमालय क्षेत्रमा बज्रयानी बौद्ध धर्म फैलाउने प्रमुख केन्द्रबिन्दुको रूपमा रहेको बिहार थियो । यस बिहारमा तिब्बतबाट बौद्ध दर्शन अध्ययन गर्न आउनेहरूका लागि त्यहाँ अलग्गै विभाग पनि बनाइएको थियो । यसै बिहारबाट तिब्बतमा बौद्ध धर्म फैलाउन महत्वपूर्ण भूमिका रहेको छ । आजको तिब्बती धर्म ग्रन्थ ‘छ्योइ’ लेख्न, उल्था गर्न यश बिहारबाट गएका बौद्ध भिक्षुहरूको अतुलनीय योगदान रहेको छ । यस बिहारलाई सन् १२०३ ई. मा बख्तियार खिलजीले ध्वस्त तुल्याए । जुन आज खण्डहर मात्रै बाँकी छ ।
आज हामी नेपाली जात–जातको माटोको पहिचानको खोजीमा छौँ, माटोको इतिहास खोजिरहेका छौँ, अनि जात–जातअनुसारको ताम्सालिङ, तमुवान, लिम्बुवान, खुम्बुवान, मगरात, थारुहट भनेर नाममा पहिचान खोज्नेहरूले हामीलाई जवाफ दिऊन् कि आजको बिहारको मुख्यमन्त्री नीतीश कुमारले गर्व से कहो हम बिहारी हैं भन्दा कुन पहिचान बोल्यो ? कहाँको पहिचान बोल्यो ? उनको प्राचीन मगध राज्य कहाँ गयो ? उनको अवधि, भोजपुरी पहिचान कहाँ गयो ? म-यो ? हरायो त ? बौद्ध धर्मावलम्बीको जनसङ्ख्या नै खोज्ने हो भने बिहारमा एक प्रतिशत पनि छैन, तर बौद्ध धर्मसँग सम्बन्धित पवित्र ‘बिहार’को नाममा प्रान्तको नाम राख्दा के त्यहाँको हिन्दू धर्मावलम्बीहरूको अस्तित्व हरायो ? पहिचान गुम्यो ?
भर्खरै १५ अगस्तको दिन सवा अर्ब भारतीय जनताले स्वतन्त्र दिवसमा राष्ट्रिय झन्डा फहराएर राष्ट्रिय उत्सव मनाए । त्यो झन्डाको बीच भागमा अशोक चक्र राखिएको छ । त्यो चक्रलाई हामी बौद्धमार्र्गीहरूले ‘खोर्लो र्हेम्पुर्छे’ (चक्र रत्न) भनेर गुम्बाको छानोमा प्रतिस्थापन गरेका हुन्छौँ । यो चक्र महान् बौद्ध धर्मको नवरत्नमध्ये एक रत्न अशोक सम्राटको राजकीय चिह्न हो । यो चिह्न प्राचीन सारनाथ बिहारको शिला स्तम्भबाट लिइएको हो । भारत सरकारको राजकीय चिह्न तीनमुखे सिंह पनि अशोक सम्राटकै राजकीय चिह्न हो । उहाँले भारत वर्षदेखि आजको अफगानिस्तानसम्म बौद्ध धर्म फैलाउनुभयो भने उहाँको सुपुत्र महेन्द्रले श्रीलंकासम्म र उहाँकै सुपुत्री चारुमतीले नेपालसम्म बुद्धको ज्ञान–दर्शनलाई फिँजाउनु भयो । बौद्धधर्ममा अशोक सम्राट उहाँको सुपुत्र–सुपुत्रीलाई भगवान्कै प्रतिरूपमा पुजिन्छ । यस्तो बौद्धधर्मका महान् सम्राटको राजकीय चिह्नलाई एक अर्ब हिन्दू नागरिकले राष्ट्रिय झन्डा बनाउँदा ती हिन्दूहरूको पहिचान हरायो त ? ती झन्डाप्रति भारतको एक अर्ब हिन्दूहरूले आज गर्व गरिरहेका छन् । तर दुर्भाग्य ! आज नेपालमा हाम्रो प्राचीन कालदेखिको राष्ट्रिय झन्डालाई पनि ‘लौ यो झन्डा फेर्नुप-यो, हिन्दूधर्मको चन्द्र–सूर्यको प्रतीक देखिन्छ’ भनेर आज बौद्ध किराँतको नाम लिई विरोध गरेको देखिन्छ, यस्तो प्रकारको भ्रम फैलाउने धार्मिक सद्भावना भड्काउने समाजमा असहिष्णुताको घातक विष घोल्नेहरू साँच्चै असली बौद्ध किराँत हो कि उचालेको बौद्ध किराँत हुनु्, यो घटनाक्रमले भोलिको दिनमा पुष्टि हुँदै जाला नै । अन्यथा हिमाली बौद्धधर्ममा पनि ङिमा (चन्द्रमा), धावाल (सूर्य)को त हामी पनि उपासक नै हौँ ।
मित्रहरू ! आज हामीलाई ओल्लोडाँडाको, पल्लोडाँडाको, थुम्काथुम्का माटोको पहिचानसहितको नामकरण खोज्नेहरूले, भारतको उदाहरण दिएर नथाक्नेहरूले भनुन् कि त्यसो भए बिहारको पहिचान के हो ? यो पनि भनुन् कि बौद्धधर्मको प्रतीक धम्म चक्र आफ्नो देशको राष्ट्रिय झन्डामा राख्ने र महान् बौद्ध सम्राटको लालमोहर तीनमुखे सिंहलाई भारतीय मुद्रामा राख्ने ती एक अर्ब हिन्दूहरूको पहिचान हराएकै हो ? पहिचान मेटिएकै हो त ? होइन भने आऊ हाम्रो यो पावनभूमि ओमकार परिवारको वासस्थान तपोभूमि नेपालप्रति हामी सबैले गर्व गरौँ र गर्वले भनौँ– हामी यो देशको अखण्ड नेपालको अखण्डित नेपाली हौँ ।

स्वतन्त्रता दिवसको अवसरमा मित्रराष्ट्रबाट उपहार
नेपालका लागि भारतीय राजदूत रणजित रायले निकट छिमेकीको नाताले नेपाल र भारतको समान सभ्यतागत सम्बन्ध रहेको र नेपालको शान्ति, स्थायित्व तथा विकासमा सहयोग गर्न भारत सधैँ तत्पर रहेको बताउनुभएको छ । भारतको ६९औँ स्वतन्त्रता दिवसको अवसरमा सन्देश जारी गर्दै राजदूत रायले नेपालमा अब बन्न लागेको संविधानमा समाजका सबै क्षेत्रको भावना समेटिने आशा भारतले लिएको बताउनुभयो । ‘समावेशी वृद्धि’ तथा ‘सबका साथ सबका विकास’ भन्ने अवधारणाअन्तर्गत छिमेकी मुलुकसँग हातेमालो गर्दै जाने भारतको नीति रहेको पनि उहाँले प्रस्ट्याउनुभयो ।
लोकतन्त्र, समावेशी आर्थिक विकास र सामाजिक सशक्तीकरणको सिद्धान्तबाट निर्देशित हुँदै भारत आफ्नो मुलुक निर्माणको यात्रामा निरन्तर अघि बढिरहेको भए पनि सामाजिक तथा आर्थिक विकासको क्षेत्रमा भारतले अझै निकै गर्न बाँकी रहेको उहाँको कथन थियो । सो अवसरमा राजदूत रायले भारतका प्रधानमन्त्री प्रणव मुखर्जीले दिनुभएको सन्देश पनि पढेर सुनाउनुभयो ।
६९औँ स्वतन्त्रता दिवसको अवसरमा मित्रराष्ट्र भारतले नेपालका विभिन्न जिल्लाका अस्पताल, परोपकारी संस्था तथा शैक्षिक संस्थाहरूका लागि ४० एम्बुलेन्स र आठवटा बस उपहार प्रदान गरेको छ । स्वतन्त्रता दिवस मनाउन आयोजित समारोहकै क्रममा राजदूत रायले मुलुकका ४५ पुस्तकालय, शैक्षिक तथा तालिम प्रतिष्ठानहरूलाई पुस्तकसमेत उहारस्वरूप प्रदान गर्नुभयो । भारतीय भूपू सैनिकका २० जना विधवा तथा आश्रितलाई नियोगको रक्षा सहचारी कल्याणकारी कोषमार्फत दुई करोड ५३ लाखको चेकका साथ कम्बल पनि राजदूत रायले वितरण गर्नुभएको थियो ।
स्मरणीय छ, सन् १९९४ देखि भारतले नेपाल–भारत विकास साझेदारी कार्यक्रमअन्तर्गत नेपालभरका विभिन्न संस्थालाई पाँच सय दुईवटा एम्बुलेन्स एवम् नेपालका २५ जिल्लास्थित विभिन्न शैक्षिक तथा कल्याणकारी संस्थाका लागि ९८ बस उपहारस्वरूप प्रदान गरिसकेको छ । शिक्षा, स्वास्थ्य तथा पूर्वाधार निर्माणका लागि ठूला तथा साना पाँच सयभन्दा धेरै परियोजनाका लागि साझेदारी कार्यक्रमअन्तर्गत भारतले २१ वर्षमा ७५ अर्बभन्दा बढी सहयोग गरिसकेको छ । यसैक्रममा भूकम्पपीडितको तत्काल उद्धार र राहतका लागि भारतले ६ अर्ब ४० करोड एवम् प्रधानमन्त्री राहत कोषमा ६५ करोड सहयोग गरेको छ भने आगामी पाँच वर्षका लागि एक खर्बको आर्थिक सहायता प्याकेज र पुनर्निर्माण तथा पुनस्र्थापनाका लागि थप एक खर्बको घोषणा पनि गरेको छ ।

आतङ्कवाद नियन्त्रण गर्न स्थापना भयो युक्ति तालिम केन्द्र
रूपन्देही÷ तत्कालीन अर्थमन्त्री सुरेन्द्र पाण्डले संसद्मा बजेट पेस गर्दा माओवादी सभासद् चन्द्रबहादुर थापालगायतको टोलीबाट उनको ब्रिफकेस नै खोसेर पाण्डेमाथि हातपातसम्मको प्रयास गरियो । केही समयअघि मात्र संविधानसभा हलभित्रै सभासद्हरूबीच विवाद हुँदा कुर्सी तथा माइक तोडफोड काण्ड भयो । एमाओवादीकै जनार्दन शर्मासहित केही सभासद् र सुरक्षाकर्मीबीच घम्साघम्सी भयो । केही सभासद् घाइते भए भने संसद् भवनमा रहेका सुरक्षाकर्मी (मार्सल)हरू नै दर्जनको सङ्ख्यामा घायल भए । यस्तै एमाओवादी अध्यक्ष प्रचण्डमाथि सिरहामा आयोजित एक कार्यक्रममा आक्रमण प्रयास भयो । अन्य कैयन उच्चस्तरका नेता पनि यस्ता घटनाको सिकार बनिसकेका छन् । यसरी, पछिल्लो एक दशक अवधिमा अपहरणको दर पनि निकै बढेको प्रहरीको केन्द्रीय तथ्याङ्कमा उल्लेख छ । बम विस्फोट, फिरौतीअसुलीदेखि प्लेन अपहरणसम्मका मानवसिर्जित अपराधको लामो लिस्ट प्रहरीसँग छ । यस्तो प्रवृत्ति सभ्य समाजका लागि ठूलै विपत्तिभन्दा कम ठानिँदैन । हालै आएको भूकम्पबाट उत्पन विपत् पनि नेपाल प्रहरीका लागि चुनौती नै बन्यो । खासगरी प्रहरीलाई संसद् भवनमाथि आक्रमण, जहाज अपहरण, ठूलो आगलागीजस्ता घटनामा चुनौती बेस्सरी बढ्न पुग्छ । अप्रत्यासित रूपमा घट्ने यस्ता घटना कुन जुक्ति (युक्ति) लगाएर नियन्त्रण गर्ने भन्ने सवाल नेपाल प्रहरीको निम्ति चुनौतीकै विषय बन्ने गर्छ ।
यस्तै चुनौतीको युक्तिपूर्वक सामना गर्नुका साथै नेपाल प्रहरीको आफ्नो मूल उद्देश्य शान्तिसुरक्षा कायम गर्न पछिल्लो समय सरकारले आवश्यक ठानेको प्रहरी युक्ति तालिम महाविद्यालयको स्थापना तथा भौतिक संरचना निर्माण सम्पन्न भएको छ । नवलपरासीको रामनगर– ५, जर्गाहमा स्थापना गरिएको उक्त अन्तर्राष्ट्रियस्तरको तालिम महाविद्यालयको उद्घाटन गत साता प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले गरेका छन् । तत्कालीन विद्रोही माओवादीको शिविर रहेको रामनगरको उक्त क्षेत्रको संरक्षण गर्ने जिम्मेवारी पाएको थियो । प्रहरी महानिरीक्षक अर्यालको पटक–पटकको आग्रहपछि प्रधानसेनापति गौरवशमशेर राणाद्वारा ०७१ पुसमा नेपाल प्रहरीलाई उक्त स्थान प्रदान गरिएको थियो ।
प्रहरी युक्ति तालिम महाविद्यालयको उद्घाटन गर्दै प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले नेपाल प्रहरीलाई विज्ञान प्रविधि तथा विभिन्न विपत्तिसँग सामना गरेर समाजमा शान्तिसुरक्षा कायम गर्न थप दक्षता हासिल गर्नु अपरिहार्य रहेको बताए । प्रहरी अतिरिक्त महानिरीक्षक गणेशराज राईले विभिन्न स्थानको पहल गरे पनि अन्ततः पूर्वलडाकुले छाडेको रामनगर नै छनोटमा परेकाले युक्ति तालिम केन्द्र खोलिएको उल्लेख गर्दै गम्भीर प्रकृतिका खतराहरूलाई नियन्त्रण गर्न सक्ने जनशक्ति उत्पादन गर्ने हेतुले स्थापना भएको प्रहरी युक्ति तालिम केन्द्रमा कस्तो प्रहरी अधिकारी प्रमुख बनाएर पठाउने भन्ने विषयमा लामो छलफल भएको रहस्य पनि उनले खोले । नेपाल प्रहरीमा पहिलोपटक स्थापना भएको यस्तो महत्वपूर्ण तालिम केन्द्रबाट प्रहरी सङ्गठनको छवि उकास्ने काम गर्दै आएका एसएसपी विक्रसिंह थापालाई पठाउँदा उद्देश्यप्राप्तिमा फरक नपर्ने सोचका साथ उनलाई खटाइएको अतिरिक्त महानिरीक्षक राईको भनाइ थियो । प्रहरीले सेनाबाट जग्गा पाउनासाथ गत माघमा एसएसपी थापालाई तालिम केन्द्रको भौतिक निर्माणको दायित्व दिएर पठाएको थियो ।
उक्त तालिम केन्द्रको उद्घाटनसँगै हतियार व्यवस्थापन तालिमको सुरुवात पनि गरिएको बताइएको छ । उक्त तालिममा नेपाल प्रहरीका पचास सदस्यको सहभागिता रहको बताइएको छ । १८ दिनसम्म प्रदान गरिने सो तालिम कार्यक्रममा हातहतियार व्यवस्थापन गर्नेलगायतका कार्यमा नयाँ युक्ति प्रदान गरिने प्रहरी वरिष्ठ उपरीक्षक तथा महाविद्यालयका प्राचार्य विक्रमसिंह थापाले जानकारी दिए । एक एसएसपी, एक एस्पी, चार डीएसपी र अन्य पदका गरी एक सय २५ जनाको दरबन्दी कायम रहेको सो तालिम केन्द्र स्थापनासँगै स्थानीयवासीसँग समन्वय गरेर अघि बढ्ने रणनीतिअनुसार विकट मानिने रामनगरको सो इलाकामा सडक मर्मत कार्य गरिएको थियो । उक्त सडकलाई पिच गर्न थप पहल गर्ने प्रतिबद्धता प्रहरीले जनाएको छ भने आकस्मिक बिरामी पर्दा प्रहरीको सवारीसाधन प्रयोग गर्न एसएसपी सिंहले स्थानीय बासिन्दालाई आग्रह गरिएको बताएका छन् ।
यसकारण लोकप्रिय छन् एसएसपी थापा
सरकारी सेवामा रहेका अधिकांश व्यक्तिले देश र जनताको सेवाभन्दा पनि आफ्नो जागिरकै लागि मात्र काम गरेका प्रशस्तै उदाहरण छन् । तर, कुनै ‘जागिरे’ यस्ता पनि हुन्छन्, जो आफू या आफ्नो परिवारको लाभलोभमा नपरी देशकै सेवामा खटेका हुन्छन् । निजामती कर्मचारी होऊन् वा प्रहरी या अन्य, आफ्नो कर्तव्यपरायणताका लागि मरिमेट्ने कर्मचारी विरलै नै हुन्छन् । कर्मचारीमा पनि निजामतीको भन्दा जङ्गीको अलिक फरक अवस्था रहेको हुन्छ । तर, जनतामाझ भिजेर काम गर्ने एक अब्बल प्रहरी अधिकारीको रूपमा उदाहरणीय व्यक्ति बनेका छन् प्रहरी वरिष्ठ उपरीक्षक विक्रमसिंह थापा । विभिन्न उदाहरणीय कामका साथ आफ्नो पहिचान कायम गर्दै नेपाल प्रहरीको सङ्गठनलाई आफ्नो तहबाट अझ मजबुत र जनताको मन जित्ने कर्मका लागि एसएसपी थापा कहलिएका छन् । युनिटी ठगी प्रकरण, रूपन्देहीको तेलचोरी काण्डलगायतका अनेक प्रकरणमा सफलता हासिल गरेर लोकप्रिय बनेका एसएसपी थापाको नाम समस्या परेको बेला प्रहरी सङ्गठनभित्र विशेष तवरमा लिइने गरेको सम्बद्ध प्रहरीअधिकारीहरू बताउँछन् । यिनै जुझारु प्रहरी अधिकारी यतिबेला शान्तिसुरक्षा कायम गर्नका दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले प्रहरीभित्रै गठन गरिएको नयाँ निकाय ‘प्रहरी युक्ति तालिम महाविद्यालय’को प्रमुखका रूपमा पसिना बगाइरहेका छन् । यस निकायको स्थापना गरी निर्माण सम्पन्न गर्न एसएसपी थापालाई नवलपरासी पठाइएको थियो । आफूलाई जिम्मा दिएको काम समयमै सम्पन्न गरी उनले स्थानीय जनताको मन जित्ने थप कामसमेत गर्दै आएकाले एसएसपी थापाको चर्चा चुलिएको हो ।

मन्त्री खड्कालाई मातृशोक
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् सहरी विकासमन्त्री डा. नारायण खड्कालाई मातृशोक परेको छ । उहाँकी माता धर्मकुमारीको गत आइतबार राति सय वर्षको उमेरमा त्रियुगा नगरपालिका–१४ (उदयपुर) झोराटोलस्थित निवासमा निधन भएको हो । मन्त्री खड्का राजधानीबाट आइतबार नै उदयपुरस्थित गृहस्थान पुगी स्थानीय त्रियुगा नदीमा स्वर्गीय माताको अन्तिम दाहसंस्कार कर्ममा सरिक हुनुभएको थियो । क्षेत्री परम्पराअनुसार १३ दिन किरियापुत्री बस्नुपर्ने संस्कार भए तापनि देशको राजनीतिक परिस्थिति र मन्त्री पदमा रहनुभएका कारण खड्काले पाँच दिनमै किरियापुत्रीको काम सम्पन्न गर्नुहुने बुझिएको छ ।

धादिङमा फन किड्स नेपालको सहयोग
फन किड्स नेपालले अमेरिकाको हवाईमा बस्ने नेपाली समुदाय ‘द सोसाइटी अफ नेप्लिज इन हवाई’को सहयोगमा भूकम्पमा परेर अभिभावक गुमाएका धादिङका सबै गाविसका १६ वर्षमुनिका बालबालिकालाई शैक्षिक सहयोग प्रदान गर्ने कार्यक्रमअन्तर्गत एक सय ११ जना छात्रछात्रालाई तीन हजारका दरले आर्थिक सहयोग प्रदान गरेको छ । बैरेनी गाविसका १० जना बालबालिकाबाट सो कामको सुरुवात गरिएको हो । पीडित अनाथ बालबालिकाको शैक्षिक समुन्नयनमा विशेष सहयोग पुग्ने र बालबालिकालाई चिन्ता वा तनावमुक्त गर्न सहयोग पु-याउने उद्देश्यले फन किड्स नेपालले गरेको कामको स्थानीयवासीले प्रशंसा गरेका छन् । स्थानीय समाजसेवी गोपी रिमालको अध्यक्षतामा भएको कार्यक्रममा फन किड्स नेपालका अध्यक्ष डी.पी. अर्यालले भूकम्पका कारण धादिङका भूकम्पग्रस्त मण्डली निमावि ढोला–१, बराहकालिका उमाविलगायत तीनवटा विद्यालय स्थायी रूपमा निर्माण गर्ने र ईआएफ हवाई यूएसए र डा. अर्जुन अर्यालको सहयोगमा बराहमालिका उमाविमा २० जना बालबालिकालाई रु. १ लाखको छात्रवृत्ति उपलब्ध गराएको, सोही विद्यालयमा रु. २ लाख ५० हजारको कम्प्युटर दिने कार्यक्रम रहेको र धादिङका अभिभावकविहीन बालबालिकालाई उच्च शिक्षासम्म अध्ययन–अध्यापनमा सहयोग पु-याउन प्रयास गरिने जानकारी दिए ।

भारतीय सहरमा नेवानिको नयाँ उडान
नेपाल वायुसेवा निगमले ०७२ भदौ १५ गतेदेखि भारतको बेंग्लोर र भदौ १८ गतेदेखि मुम्बईको नियमित उडान प्रारम्भ गर्ने भएको जनाएको छ । सुरुमा यी दुवै सहरमा हप्ताको दुई दिन र भविष्यमा हप्ताको तीन दिन उडान गरिने बताइएको छ । प्रवद्र्धनात्मक योजनाअनुसार सुरुको एक महिना दुईतर्फी दुईटा टिकट खरिद गर्नेलाई अर्को एउटा टिकट निःशुल्क उपलब्ध गराइने नेवानिले बताएको छ । मुम्बईका लागि हाल हप्ताको दुई दिन (सोमबार र शुक्रबार) एवम् बेंग्लोरका लागि दुई दिन (मंगलबार र शनिबार) उडान गर्ने निर्णय गरिएको छ भने भविष्यमा यी दुवै सेक्टरका लागि तेस्रो उडान गरिने निर्णय गरिएको छ । काठमाडौं–बेंग्लोर वा काठमाडौं–मुम्बईका लागि एकतर्फी प्रवद्र्धन भाडा १०,०९२ र काठमाडौं–बेंग्लोर–काठमाडौंका लागि २०,८९३, काठमाडौं–मुम्बई–काठमाडौंका लागि २१,०६७ निर्धारण गरिएको पनि बताइएको छ ।

क्याम्पसप्रमुखले गरे यस्तो छल
लमजुङ÷ लमजुङ सदरमुकाम बेसीसहरस्थित जनविकास कलेजका क्याम्पसप्रमुख अङ्गराज घिमिरेले क्याम्पसको अस्तित्व नै मेटाउने तवरले मनोमानी गरेको प्रमाण भेटिएको छ । कजेजमा भर्ना भई बीबीएस प्रथम वर्षमा अध्ययनरत ४२ जना विद्यार्थीलाई गत साउन २७ गते बीबीएस प्रथम वर्षको परीक्षाको फर्म भर्ने अन्तिम मितिका दिन क्याम्पसप्रमुख घिमिरेले क्याम्पसको फर्म भराउन गेटवे हिमालयन रिसोर्टमा लगी ललाइफकाई प्रभावमा पारेर फर्म भराई लमजुङकै अर्को क्याम्पस ‘मस्र्याङ्दी बहुमुखी’मा फर्म भराएको तथ्य खुलासा भएको छ ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष तेजनारायण अधिकारीका अनुसार गत साउन २७ गते राति नौ बजेसम्म बसेर विद्यार्थीलाई अर्को क्याम्पसमा फर्म भराई क्याम्पसमा रहेको विद्यार्थीका भर्ना फर्म, रजिस्टरसहित सम्पूर्ण महत्वपूर्ण कागजातसहित क्याम्पसप्रमुख घिमिरे सम्पर्कविहीन भएका छन् । जनविकास उमाविको माविका शिक्षकसमेत रहेका क्याम्पसप्रमुख नै सम्पर्कविहीन भएपछि खोजतलास गर्दा घिमिरेले विद्यालयमा समेत दुई दिनको बिदा लिएको प्राचार्य रत्नमान श्रेष्ठले बताए । क्याम्पस सञ्चालक समितिले दुवै क्याम्पसमा सहमति गरी विद्यार्थीको परीक्षा फर्म फिर्ता गर्ने निर्णय गरी मस्र्याङ्दी बहुमुखीका क्याम्पसका प्रमुख हरिबाबु थापासँग कुरा राख्दा थापाले अस्वीकार गरेकोसमेत समितिले जनाएको छ । सबै प्रक्रियाका साथ सम्पर्कविहीन भएका क्याम्पस प्रमुख घिमिरेले क्याम्पसलाई थप ३ दिनको बिदासमेत दिएका अध्यक्ष अधिकारीले बताए । घटनासँगै भोलिपल्ट २८ गते बिहान बसेको क्याम्पस समितिको बैठकमा क्याम्पसप्रमुख घिमिरेको राजीनामा बैठकमै आइपुगेपछि समितिले क्याम्पसप्रमुख घिमिरेलाई निलम्बन गरेको छ । यस्तै समितिले जिल्ला प्रशासन कार्यालयमा फर्म फिर्ताको माग गर्दै ठाडो उजुरी जाहेरसमेत गरेको अध्यक्ष अधिकारीको भनाइ छ ।
पछिल्लो समय कलेजलाई सहकारीमा स्थापनापछि व्यवस्थापक नियुक्ति गर्नुपर्ने र शिक्षा मन्त्रालयबाट एउटा उमाविको स्थायी कर्मचारी अर्को कलेजको क्याम्पसप्रमुख हुन नपाउने निर्णय आएपछि घिमिरेले आफू क्याम्पसमा नरहने अवस्था देखेपछि क्याम्पसलाई नै तहसनहस बनाउने तवरले यो घटना घटाएको क्याम्पस समितिको ठहर छ । क्याम्पसमा विभिन्न आर्थिक हिनामिनासमेत भएको पाएपछि समितिले हिनामिना खोज्नेगरी समितिका अध्यक्ष तेजनारायण अधिकारीको नेतृत्वमा अनुगमन समिति बनाएसँगै समिति बनाएको १५ दिनमै क्याम्पसप्रमुख घिमिरेले आफूलाई आरोपबाट पन्छाउन राजीनामा पेस गरेको बताइएको छ । राजीनामासँगै घिमिरेले क्याम्पसको अस्तित्व नै मेटाउने तवरले मनोमानी सुरु गरेको समितिले जनाएको छ । समितिले घिमिरेले हालसम्म १५ लाखभन्दा बढी आर्थिक हिनामिना गरेको आशङ्का गरेको छ । २०६६ सालमा स्थापना भएको यस कलेजमा यतिबेला एक सय ४० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

पत्रकार बुढाथोकीमाथि प्रहरी–ज्यादतीको विरोध
साँघु साप्ताहिकका सम्पादक गोपाल बुढाथोकीलाई प्रहरीले वारेन्ट जारी गरेको घटनाप्रति नेपाली छापा माध्यम राष्ट्रिय सञ्जालले घोर आपत्ति जनाएको छ । ‘सञ्जालका कोषाध्यक्षसमेत रहेका पत्रकार बुढाथोकीलाई साँघु साप्ताहिकमा प्रकाशित एक समाचारलाई लिएर वारेन्ट जारी गरिएको भन्ने जानकारी हामीले पाएका छौँ’ भन्दै सञ्जालका सचिव परशु घिमिरेद्वारा जारी विज्ञप्तिमा यस प्रकरणले संस्थालाई स्तब्ध तुल्याएको जनाइएको छ । पत्रिकामा प्रकाशित कुनै सामग्रीमाथि असहमति भए कानुनी उपचार खोज्ने विभिन्न विकल्प हुँदाहुँदै समाचारकै आधारमा प्रहरीले वारेन्ट जारी गर्दा यसले प्रहरी ज्यादती र बुढाथोकीप्रतिको पूर्वाग्रह मात्र झल्काएको छैन, लोकतान्त्रिक गणतन्त्रमा स्वतन्त्र पत्रकारिता र पत्रकारको अवस्था कस्तो छ भन्ने पनि स्पष्ट गराएको सञ्जालको धारणा छ । विज्ञप्तिमा भनिएको छ, ‘कथित साइबर अपराधको नाममा पत्रकारिता र पत्रकारमाथि यसैगरी हमला हुने हो भने नेपालमा स्वतन्त्र पत्रकारिता निरुत्साहित एवम् नियन्त्रित हुने हाम्रो ठहर छ । यो दुरासयपूर्ण व्यवहारप्रति पत्रकार बुढाथोकीसँग क्षमा माग्दै प्रहरीले उहाँको नाममा जारी गरेको वारेन्ट रद्द गर्न हामी जोडदार माग गर्दछौँ । साथै यसरी पत्रकारमाथि पूर्वाग्रहपूर्ण व्यवहार गर्ने र गैरकानुनी ढङ्गले इवी साध्ने प्रहरी अधिकारीमाथि छानबिन गरी कारबाही गर्न पनि सम्बन्धित नियकासँग माग गर्दछौँ । प्रहरीले तत्काल गोपाल बुढाथोकीविरुद्ध जारी गरेको वारेन्ट रद्द नगरे देशभरिका पत्रकार सङ्घर्षमा उत्रन बाध्य हुने जानकारी गराउन चाहन्छौँ ।’

देवकोटाप्रति समवेदना
निर्झर दिलचेत वाङ्मय प्रतिष्ठानको हालै बसेको बैठकले नेपाली भाषा साहित्यका दीर्घसेवी सुप्रसिद्ध विद्वान् वरिष्ठ साहित्यकार राजेश्वर देवकोटाको गत साउन २५ गते ८६ वर्षको उमेरमा भएको दुःखद् निधनबाट नेपाली भाषा–साहित्यको क्षेत्रमा अपूरणीय क्षति पुगेको र यस दुःखद् घडीमा उहाँका शोकसन्तप्त परिवारजनहरूप्रति धैर्यधारण गर्ने शक्ति एवम् दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ । साथै प्रतिष्ठानले उहाँद्वारा रचित एवम् प्रकाशित कृतिहरूको संरक्षण र अप्रकाशित कृतिहरूको खोजी गरेर प्रकाशन गर्न नेपाल सरकार तथा सम्बन्धित निकायले ध्यान दिनुपर्ने उल्लेख गरेको छ । बैठक प्रतिष्ठानका अध्यक्ष कवि रामेश्वर राउत मातृदासको अध्यक्षतामा बसेको थियो ।