भारतलाई पाँचौँ पटक साफ महिला फुटबल उपाधि

भारतलाई पाँचौँ पटक साफ महिला फुटबल उपाधि


पाँचौँ महिला साफ फुटबल प्रतियोगिताको उपाधि भारतले जितेको छ । शुक्रबार विराटनगरको शहीद रङ्गशालामा भएको फाइनल खेलमा भारतले नेपाललाई ३–१ गोलले हराउँदै लगातार पाँचौँ पटक उपाधि चुमेको हो ।

खेलमा पहिलो गोल भारतकी डालिमा छिब्बरले २६औँ मिनटमा गरेकी थिइन् । खेलको ३३औँ मिनेटमा नेपालकी सावित्रा भण्डारीले गोल गरी खेललाई बराबरीमा पुऱ्याएकी थिइन् । खेलको ६३औँ मिनेटमा ग्रेस डाङमेयीले गोल गरी भारतलाई २–१ को अवस्थामा पुऱ्याइन् । खेलको ७८औँ मिनेटमा भारतकी अञ्जु तामाङले आफ्नो देशका लागि तेस्रो गोल गरिन् ।

खेल अवधिभर पाएको अवसरको सदुपयोग गर्न नसकेपछि नेपाल चौथो पटक उपाधिबाट वञ्चित भएको छ ।

खेलमा भारतकी डालिमा छिब्बर उत्कृष्ट खेलाडी घोषित भइन् । प्रतियोगितामा नेपालकी सावित्रा भण्डारी र भारतकी इन्दुमती कथिरेशनले सर्वाधिक ४–४ गोल गरे । बङ्गलादेश अनुशासित टोलीका रूपमा पुरस्कृत भयो ।

नेपाल साफ महिला फुटबलमा चार पटक फाइनलमा पुगेको छ । शुरुआतका तीन संस्करणमा नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो । चौथो साफमा समेत नेपाल सेमिफाइनलमा भारतसँग पराजित भएको थियो ।

pic: rss