प्रदेश सरकारको घोषणा : साफ फुटबलमा विजयी बने जनही २ लाख पुरस्कार

प्रदेश सरकारको घोषणा : साफ फुटबलमा विजयी बने जनही २ लाख पुरस्कार


नेपालमा पहिलोपटक आयोजना भएको पाँचौँ महिला साफ फुटबल प्रतियोगितामा नेपाल समूहले विजय प्राप्त गरेमा प्रदेश १ सरकारले प्रत्येक खेलाडीलाई जनही दुई लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय प्रदेश १ को शुक्रबार भएको निर्णयअनुसार सो पुरस्कार दिने घोषणा भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार धु्रव सुवेदीले जानकारी दिए ।

मन्त्रिपरिषदको निर्णयअनुसार नेपाल समूह विजेता नबने पनि खेलाडीको हौसला बढाउन जनही एक लाख रुपैयाँ प्रदान गर्ने निर्णय भएको छ ।

फागुन २८ गते शुरु भएको सो प्रतियोगिताअन्तर्गत नेपाल र भारतबीच शुक्रबार अन्तिम खेल हुने भएको छ । यसैगरी, नेपाल समूह विजेत भएमा विराटनगर महानगरपालिकाले पनि थप पुरस्कार दिने प्रमुख भीम पराजुलीले यसअघि नै घोषणा गरिसकेका छन् । प्रतियोगिता विराटनगरको शहीद रंगशालामा भइहेको छ ।