माथिल्लो त्रिशूली–३ ‘बी’ मा एकैदिन ६० लाखको आवेदन

माथिल्लो त्रिशूली–३ ‘बी’ मा एकैदिन ६० लाखको आवेदन


‘जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गत पहिलो दिन बिहीबार ६० लाख आवेदकले आवेदन दिएका छन् । नुवाकोटमा निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशूली–३ ‘बी’ आयोजनामा लगानी गर्न त्रिशूली जलविद्युत कम्पनीले शेयर निष्कासन गरेको हो । आवेदकबाट एकैदिन बाट करिब ६ करोड रुपैयाँ संकलन भएको छ ।

कम्पनीका प्रबन्ध निर्देशक मोहनप्रसाद गौतमले बिहीबार साँझ साढे ५ बजेसम्म १२ हजार ७ सय ७३ आवेदकले ६० लाख ३१ हजार १ सय ३० कित्ता सेयर किन्न आवेदन दिएको बताए । उनका अनुसार आवेदनबाट ६ करोड ३ लाख ११ हजार ३ सय रुपैयाँ संकलन भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले बिहीबार बिहान साढे ९ बजे बालुवाटारबाट सेयर किन्न आवेदन दिएका थिए । ‘कार्यक्रम’ अन्तर्गतको आयोजनामा लगानी गर्न गत शुक्रबार (चैत १ गते) आवेदन दिन आह्वान गरिएको थियो । बिहीबारबाट निष्कासन गरेको सेयर छिटोमा चैत १२ गते र ढिलोमा २०७६ बैशाख ६ गते बन्द हुनेछ । कम्पनीले सर्वसाधारणका लागि ३५ लाख ९३ हजार ८ सय ५० कित्ता सेयर निष्कासन गरेको छ । हाल यसको १० प्रतिशत अर्थात् ३ करोड ७० लाख ५० हजार रुपैयाँ (३ लाख ७० हजार ५ सय कित्ता) को लागि मात्र सेयर माग गरिएको छ । सय रुपैयाँ मूल्य अंकित उक्त परिमाणको सेयर किन्न हाल १० प्रतिशतले हुन आउने प्रतिसेयर १० रुपैयाँमा आवेदन दिन पाइनेछ । व्यक्तिले किन्न चाहेको बाँकी सेयरबापतको रकम कम्पनीले आयोजनाको निर्माण ५० प्रतिशत पूरा भएपछि माग गर्ने जनाएको छ ।

कम्पनीले जारी पुँजी २ अर्ब ४७ करोड रुपैयाँको १५ प्रतिशत अर्थात् ३७ करोड ५ लाख रुपैयाँको ३७ लाख ५ हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्ट्याएको छ । यसमध्ये ३ प्रतिशत सेयर (१ लाख ११ हजार १ सय ५० कित्ता) कम्पनीका कर्मचारीलाई सुरक्षित राखी बाँकी निष्कासन गरेको जनाएको छ । आयोजनामा अहिले नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमको ३०/३० प्रतिशत सेयर स्वामित्व छ । बाँकी ४० प्रतिशत सेयर सर्वसाधारणका लागि छुट्ट्याइएको थियो । यो संरचना अनुसार ‘कार्यक्रम’ कार्यान्वयन गर्न मिल्दैन । ‘कार्यक्रम’ अनुसार आयोजनाका लागि सेयर माग गर्ने कम्पनीमा ५१ प्रतिशत सरकार र ४९ प्रतिशत सेयर स्वामित्व जनताको हुनुपर्नेछ । तर, पछि ६० प्रतिशत स्वामित्व ५१ मा झार्ने गरी सेयर निष्कासन गर्न लागेको मन्त्रालयले जनाएको छ ।