‘विदेशी हाइहाई स्वदेशी कुना लगाई’

‘विदेशी हाइहाई स्वदेशी कुना लगाई’


  • स्वयम्भूनाथ कार्की

राज्य सञ्चालनमा विभिन्न शक्ति हावी हुन खोज्नु अनेकौँ दबाब समूहले आफ्नो उपस्थिति देखाउन बल गर्नु अस्वाभाविक बिल्कुलै होइन । इतिहासमा पनि समर्थ सम्राटले आफ्नो शत्रु मुलुकमा मात्र ध्यान दिँदैन थिए मित्र मुलुकहरूमा पनि उत्तिकै चासो रहने गर्दथ्यो । एक कमजोर मुलुकले पनि आफ्नोे मित्र अनि शत्रु मुलुकको शासन–प्रशासनलाई आफ्नो अनुकूलतामा ल्याउने प्रयत्न गरिन्थ्यो । अर्को मुलुकमा यस्ता अभियान चलाउँदा आफ्नै मुलुकमा अरू हाबी हुन नपाओस् भनेर त्यसको पनि प्रबन्ध गर्न नसक्ने मुलुकहरू नष्ट भएर जाने गर्दथे । यो क्रम वर्तमानमा पनि छ ।

निश्चय नै कौटिल्यले आफ्नो अर्थशास्त्रमा प्रकरण १३५ देखि १४६ सम्म सात अध्यायमा सिकाएको कुरा वर्तमानमा हुबहु प्रयोग गर्न सकिन्न । सञ्चारका माध्यमहरूमा भइरहेको प्रगति, यातायातको तीव्रता आदिले नयाँ कौशल अनि सीपको आवश्यकता पर्ने गर्दछ । शक्तिशाली होस् वा कमजोर कुनै पनि मुलुकले आफ्नो देशमा उपस्थित विदेशी शक्ति निमिट्यान्न पार्न सक्दैन । तर, ती मित्र वा शत्रु शक्तिहरूको प्रभावको न्यूनीकरण भने अवश्य गर्न सक्छ र गर्नु पनि पर्छ । यसका निमित्त स्वदेशी शक्ति प्रभावी हुनुपर्दछ ।

वर्तमानमा नेपालमा तीन शक्तिहरू देखापरेका छन् । यिनीहरूले विभिन्न शक्ति आफूमा जोडेका छन् । राजालाई कुना लगाउँदा दरबारमा निहित त्यो स्वदेशी शक्ति सञ्चालन गर्ने संरचना स्थापित गरिएन । त्यसैले त्यो स्वदेशी शक्ति कुना लागेको तथा छिन्नभिन्न अवस्थामा छ । अन्य खेल्ने विदेशी शक्तिहरूलाई साम, दाम, दण्ड, भेद प्रयोग गरेर सन्तुलनमा राख्न सक्ने हुन सकेको छैन । त्यसैले अहिले नेपालमा खेल्दै गरेका स्वदेशीबाहेकका शक्तिहरू नियन्त्रणबाहिर जस्तै छन् । उनीहरूको छद्म युद्धको मैदान भएको छ नेपालको भूमि अनि हतियार र मतियार भएका छन् नेपालका सम्भ्रान्त वर्ग । यस सम्भ्रान्तमा राजनीतिक, सामाजिक, बौद्धिक, आर्थिकलगायत सबै क्षेत्रमा प्रभाव राख्नेहरू पर्दछन् ।

नेपालमा खेल्दै गरेका स्वदेशीबाहेकका शक्तिहरू नियन्त्रणबाहिर जस्तै छन् । उनीहरूको छद्म युद्धको मैदान भएको छ नेपालको भूमि अनि हतियार र मतियार भएका छन् नेपालका सम्भ्रान्त वर्ग । यस सम्भ्रान्तमा राजनीतिक, सामाजिक, बौद्धिक, आर्थिकलगायत सबै क्षेत्रमा प्रभाव राख्नेहरू पर्दछन् ।

पहिलो समूहमा पश्चिमा मुलुकहरू, भ्याटिकनका प्रभावमा मुलुकहरू पर्दछन् । यो समूहमा वर्तमानमा विश्वको नेतृत्व लिएका मुलुकहरू छन् । विश्वकै अर्थतन्त्र आफ्नो हातमा नचाउन सक्ने शक्तिराष्ट्रहरूको प्राथमिकतामा नेपाल पर्न परेको कारण नेपालको चासोको निमित्त पटक्कै होइन । उनीहरूलाई आफूलाई भविष्यमा चुनौती दिनसक्ने गरेर बढ्दै गरेका नेपालका दुवै छिमेकीलाई रोक्न नेपाल आवश्यक परेको छ ।

दोस्रो समूहमा भारत चीनलगायतका मुलुकहरू छन् । भारतलाई नेपालमा आफ्नो वर्चश्व कायम राख्ने पुरानो लोभ त कायम नै भए पनि यो प्रयत्नमा धेरैचोटि चोट व्यहोरिसकेको छ । अहिले पहिलो समूहको तारो चीन र आफू भएको कारणले विश्वमा अन्य स्थानमा उनीहरूको जे–जस्तो सम्बन्ध भए पनि नेपालको मामिलामा सहकार्य र सहचासो आवश्यक छ । चीनको निमित्त तिब्बत मर्मस्थल हो जहाँ नेपालबाट सहुलियतले प्रहार गर्न सकिन्छ । त्यस्तै भारतका कास्मिरलगायत केही प्रान्तहरू उसको पनि मर्मस्थलको रूपमा रहेका छन् । यहाँ भारतका अन्य छिमेकी मुलुकमा बसेर चोटिलो प्रहार हुन सकेन । तर, नेपालबाट चोटिलो प्रहार हुन सक्छ ।

यहाँ रोचक त के कुरा छ भने भारत आफैं पनि तिब्बतमा प्रहार गरेर चीनलाई बिचलित गर्न चाहन्छ । त्यस्तै चीन पनि कास्मिरमा प्रहार गरेर भारतलाई बिचलित गर्न चाहन्छ । केही समय त उनीहरूले पश्चिमा शक्तिले नेपालबाट अर्काको त्यो मर्मस्थलमा प्रहार गरिदेओस् भन्ने चाहेकोजस्तो देखियो । तर, अर्कोलाई प्रहार गरिसकेपछि आफूलाई पनि छोड्दैन भन्ने भएपछि नेपालमा त्यो शक्ति रोक्नु दुवैको लक्ष्य भएको देखिन्छ । जानेर वा नजानेर नेपालमा भइरहेका कति अनौठा घटनाहरूलाई गहिरिएर अध्ययन गर्ने हो भने कुन–कुन घटनामा कुन–कुन शक्ति कता थिए र के–के गरे भन्ने प्रस्ट हुन्छ ।

‘विदेशी हाईहाई स्वदेशी कुना लगाई’ले गर्दा नेपाल धुस्नो हुने गरेर रणक्षेत्र भएको देख्ने महसुस गर्ने राष्ट्रप्रेमीहरूमध्ये कोेही–कोही निराश पनि हुन थालेका छन् । यी दुवै शक्तिहरूलाई सन्तुलन गरेर निष्प्रभावी बनाउन नेपालको नेतृत्व कहिले एक कहिले अर्को गरेर चहारेर हुन्न । यो ‘वल्लाघरको नरे पल्लाघर सरे’ रणनीतिले मुलुक सिङ्गै रह्यो भने पनि छियाछिया हुन्छ । यसको निमित्त त नेपालको स्वदेशी शक्ति जगाउनैपर्छ । त्यो शक्तिले कुनै समयमा विश्वको मामिलामा पनि निर्णायक भूमिका खेलेको थियो । एक अपरिचित मुलुकलाई विश्व मञ्चको महत्वपूर्ण पात्र बनाएको थियो ।