प्रचण्डका सबै अस्त्र असफल, नेता पद नछोडे प्रचण्ड आफैं छोडिने

प्रचण्डका सबै अस्त्र असफल, नेता पद नछोडे प्रचण्ड आफैं छोडिने


नेकपा माओवादीले प्रचण्डलाई संसदीय दलको नेताबाट हर्टाई पार्टीमा शक्ति सन्तुलनको स्थिति बनाउन गरेको प्रयास अझै सफल हुन सकेको छैन । प्रचण्डले संसदीय दलको नेता पद परित्याग गरी डा. बाबुराम भट्टराईलाई उक्त जिम्मेवारी सुम्पन्न राजी नभएसम्म अन्य कुनै पनि एजेण्डामा छलफल र सहमति गर्ने सोच मोहन वैद्य किरणले बनाउनुभएको छैन । प्रचण्ड पनि उक्त पद त्याग्न कुनै पनि हालतमा तयार हुनुहुन्न, बरु सो पदमा बसिरहन उहाँले अनेकौँ छलकपट र ‘ट्याक्टिस’ गर्दै आउनुभएको छ । सुरुमा बाबुरामलाई प्रधानमन्त्री बनाउने पक्षमा आफू रहेको प्रचार गराएर प्रचण्डले यस मुद्दालाई थामथुम पार्ने प्रयास गर्नुभएको थियो । तर, वैद्यले संसदीय दलको नेता पद छोड्नैपर्ने अडान लिनुभएपछि प्रचण्डले अर्को खेल खेल्नुभयो । आफ्ना समर्थक जनजाति सभासद्हरूलाई अघि सारेर प्रचण्डले रामबहादुर थापा बादल प्रधानमन्त्री हुनुपर्ने ‘प्रस्ताव’ सार्वजनिक गराउनुभयो । प्रचण्डको जालझेलपूर्ण खेललाई धेरै राम्रोसँग बुझनुभएका बादलले उक्त प्रस्तावलाई ठाडै अस्वीकार गर्दै त्यसको भण्डाफोर गर्नुभयो । बादलले किरण र बाबुरामजीहरूसँग बनेको एकता र सहकार्यलाई तोड्न मात्र आफूलाई प्रधानमन्त्री बनाउने फोस्रो चर्चा चलाएको बताएर प्रचण्ड प्रयासको खिल्ली उडाइदिनुभयो । यसरी बादललाई प्रधानमन्त्री बनाउन चलाएको चर्चाले कुनै काम नगरेपछि प्रचण्डले नक्कली मन्त्रिमण्डलको सूची तयार गरेर प्रचार गराउनुभयो । मन्त्री बन्ने भएपछि कतिपय नेता आफूतिर आउन सक्ने र कतिपयको भूमिका बदलिने ठानेर प्रचण्डले उधारो मन्त्रिमण्डलको खाका त प्रस्तुत गर्नुभयो, तर कसैले पनि पत्याइदिएनन् । प्रचण्डको कपटपूर्ण चालबाजीका रूपमा पछिल्लो घटनालाई लिइएको छ । संसदीय दलको नेता छोड्न प्रचण्डले आनाकानी गर्नुले मोहन वैद्य र बाबुराम भट्टराईलाई थप गम्भीर बनाएको छ । विषयान्तर गरेर मूलमुद्दाबाट ध्यान पन्छाउन प्रचण्डले गोयबल्स शैलीमा गरेको प्रचारबाजीको भ्रममा नपर्न किरणले निकटवर्ती तथा जनसाधारणलाई पनि आग्रह गर्नुभएको छ । ‘मन्त्रिमण्डलमा सुधार एउटा विषय भएको, तर संसदीय दलको नेता परिवर्तन नभएसम्म अन्य कुनै एजेण्डामा छलफल र सहमति बन्नेछैन,’ किरणको भनाइ छ, ‘जबसम्म प्रचण्ड दलको नेता पद बाबुरामलाई हस्तान्तरण गर्न राजी हुनुहुनेछैन, तबसम्म पार्टी एकतालाई प्रचण्डले सहयोग पुर्‍याएको मानिने छैन ।’ बाबुराम भट्टराई संसदीय दलको नेता, रामबहादुर थापा बादल सैन्य आयोगको प्रमुख र मोहन वैद्य किरण पार्टी सङ्गठन विभागको कार्यकारी प्रमुख बन्नुपर्ने वैद्य-बाबुराम पक्षको पहिलो र न्यूनतम सर्त हो । वैद्यले अहिलेसम्म अध्यक्ष पदमा दाबी गरिसक्नुभएको छैन । तर, प्रचण्डले यसैगरी अटेरी गरिरहेमा अध्यक्ष पदबाट समेत प्रचण्डलाई हटाइन सक्ने सम्भावना छ । संसदीय दल र केन्द्रीय समिति दुवै निकायमा सुदृढ रहनुभएका वैद्यलाई असफल तुल्याउन प्रचण्डले निकै प्रयास गरिरहनुभएको छ । उहाँले पहिले महाधिवेशन या विस्तारित बैठक या प्लेनमको आयोजना गरेर समस्याको समाधान खोज्ने प्रस्ताव राख्नुहुँदा वैद्यले त्यसका निम्ति प्रचण्डले संसदीय दलको नेता पद छोड्नुपर्ने र केन्द्रदेखि तलैसम्म महाधिवेशन आयोजक समिति बनाइनुपर्ने सर्त राख्नुभयो । यसरी किरणले सर्त तेर्स्याएपछि प्रचण्ड पछि हट्नुभयो । केन्द्रीय समितिको अधुरो बैठकमै प्रचण्डले ‘पहिले शान्ति र संविधानसम्बन्धी कार्यदिशाका बारेमा छलफल गर्ने’ त्यसपछि मात्र कार्यविभाजनमा प्रवेश गर्ने भन्दै बाबुराम भट्टराई र किरणबीच दरार पैदा गर्ने प्रयास गर्नुभयो । त्यसमा पनि किरणले विमति जनाउँदै कार्यविभाजनको विषय टुङ्ग्याएर मात्र कार्यदिशाका बारेमा छलफल गर्ने अडान लिनुभयो । त्यसअघि किरणलाई एक्लै भेटेर प्रचण्डले आफू जनविद्रोहकै पक्षमा रहेको बताउँदै किरणलाई फकाउने प्रयास गर्नुभएको थियो । तर, किरणले प्रचण्डलाई कुरामा होइन व्यवहार र कार्यपरिणामका आधारमा मात्र विश्वास गरिने बताएर निराश तुल्याइदिनुभएको थियो । सबै किसिमका अस्त्र असफल भएपछि प्रचण्ड अनेकौँ किसिमका काल्पनिक समाचार सिर्जना गरी भ्रम सिर्जना गर्ने र सबैलाई थकाउँदै परिस्थिति आफ्नो पक्षमा बनाउने प्रयासमा हुनुहुन्छ । तर, उहाँको प्रयास सफल हुनसक्ने सम्भावना अब देखिन छोडेको छ । आफ्नो छुट्टै पार्टी बनाउने या किरणका आदेशहरूको पालना गर्दै पार्टीमा चुपचाप तेस्रो कोटिको नेताको भूमिका निर्वाह गरेर बस्नेबाहेक अर्को कुनै विकल्प प्रचण्डका अघिल्तिर देखिएको छैन ।