करिश्मालाई प्रश्न- ‘अझै छ तपाईंमा चर्चाको भोक ?’

करिश्मालाई प्रश्न- ‘अझै छ तपाईंमा चर्चाको भोक ?’


  • राजन घिमिरे, अष्ट्रेलिया

अकबरी सुन आफैंमा शानदार र गुणवान हुन्छ, यसमा कसी लगाइरहनु पर्दैन । घाम पूर्वबाट उदाउँछ, यो तथ्य कहिले मिथ्या सावित हुन सक्छ र ? यस्ता धेरै अकाट्य सत्य वा यथार्थहरू छन् जसलाई कुनै ब्याख्या–विश्लेषण र दाबीको आवश्यकता पर्दैन ।

नेपाली सिनेमाकी अभिनेत्री करिश्मा मानन्धर पनि एक यस्तो उदाहरण वा प्रतीक हुन्, जसले चर्चा र प्रशंसाका लागि झुठ, नक्कल, तड़कभडक र अफवाहको लठ्टी कहिल्यै टेक्नु परेन । पहिलो चलचित्र ‘सन्तान’देखि हालै बजारमा आएको चलचित्र ‘जात्रैजात्रा’सम्मको गीतमा करिश्माको शानदार उपस्थिति र ‘अदा’मा कतै कमजोरी देखिएको छ त ? बरू उनको छोरीको उमेरका नवप्रवेशीहरूको काममा ‘तलमाथि’ देखिन्छ । करिश्माको प्रस्तुतिले गीतलाई रौनकता थपिदिएको छ । त्यसैले त भन्ने गरिन्छ, – ‘वल्ड इज गोल्ड.., अझै जादुमय छ करिश्माको करिश्मा …!’

जसले पाँचसय भन्दा बढी नेपाली चलचित्रमा काम गरिन्, जोबिना कुनै समय चलचित्र निर्माणको कल्पना पनि गर्न सक्दैनथे निर्माताहरू, उनको समय कुरेर बस्दथे, करिश्माले खेलेपछि लगानी सुरक्षित हुने कुराप्रति विश्वस्त हुन्थे निर्माता । जसले नेपाली सिनेमाको एउटा युगको प्रतिनिधित्व गरिन्, उनलाई यतिबेला चर्चा, लोकप्रियता, नाम र वाहवाहीको लोभ र भोक होला त ? के उनी अहिलेका चलचित्रकर्मीहरूसँग फिल्म खेल्नु पऱ्यो, हिट हुनु पऱ्यो भनेर हारगुहार गर्दै हिँडेकी होलिन् त ?

‘करिश्मालाई पनि चाहियो हिट गितको सहारा… ! करिश्मालाई हिट हुने रहर… !’ – सुन्दै उदेक लाग्छ । यस्तै दूराशययुक्त खबरहरू आएपछि करिश्माले मुख खोलिन्– ‘… हिट हुने रहर भनेको के हो ? भइसकेको या पाइसकेको कुराको के रहर ?’

करिश्माले सहज तरिकाले यसरी प्रतिप्रश्नात्मक जवाफ दिएपछि हिट र फ्लपको फोस्रो मापदण्ड खोज्दै हिँड्नेहरू तैँचुपमैचुप भएका थिए । जसले निरन्तर रूपमा तीन दशक नेपाली चलचित्रमा बितायो, अरू कुनै पेशा वा क्षेत्र रोजेन, के यिनलाई आज आएर हिट हुने र चर्चा पाउने लालसा होला ? यत्रो समयसम्म कलाकारितामा टिक्नु वा निरन्तरता दिनु नै हिट र चर्चाको प्रमाण होइन र ? उनीसँगै चलचित्रमा प्रवेश गरेका कति नायिकाहरू आज कहाँ के गरेर बसेका छन् ? समाज, मुलुक र हामी नै अनविज्ञ छौँ । तर करिश्माको बारेमा कसलाई के सोध्ने ? स्वदेश होस् वा प्रवासमा बस्ने…, करिश्माबारे सबै जानिफकार नै छन् । यस्ती सर्वकालीन प्रिय करिश्माले अहिले आएर किन हिट र चर्चाको लागि मरिमेट्नु पऱ्यो ?