हर्षोल्लासपूर्वक मनाइयो फागु पूर्णिमा

हर्षोल्लासपूर्वक मनाइयो फागु पूर्णिमा


  • पूर्णप्रसाद मिश्र

प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइने रङहरुको पर्व फागु आपसमा रङ दलेर हिमाली तथा पहाडी जिल्लामा सौहार्द एवं हर्षोल्सपूर्वक मनाइएको छ ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व बुधबार परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाइएको हो । यो पर्वलाई वसन्तोत्सव, मदनोत्सव आदि नामले पनि चिनिन्छ ।

केही वर्षअघि सम्म उपत्यकामा उत्ताउलो रुपमा मनाइने फागु प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्दै गएको छ । सडकमा काम विशेषले हिँड्नेलाई इच्छा विपरीत रङ र लोला हान्ने क्रम बन्द हुन थालेको छ ।

यस पर्वका अवसरमा काठमाडौंको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाउँछन् ।

उक्त चीरमा राखिएका ध्वजापताकाहरू औषधोपचारको काममा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाइन्छ ।

फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठकअगाडि मैलको रूखलाई रङ्गीचङ्गी ध्वजापताका साथ सिँगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु शुरु हुन्छ ।

राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको दश पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने चलन पनि सम्पन्न भएको छ ।

त्रेतायुगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रल्हादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रल्हादका साथ दन्किरहेको आगोमा पस्न लगाएका थिए । आगोले छुन नसक्ने वरदान पाए पनि त्यसको प्रयोग गलत रुपमा गरेपछि होलिका आफैँ भष्म भएकी तर भक्त प्रल्हादलाई आगोले नछाएको पौराणिक कथा फागु पर्वसँग जोडिएको छ ।

त्यसैबेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा फागु (होली) खेल्ने परम्परा चलेको मानिन्छ ।

यसैगरी द्वापरयुगमा श्रीकृष्ण भगवान्लाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन् । निजलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको विश्वाससमेत छ ।

राम्रो तरिकाले तयार पारिएका रङ र अबिरले छालाको रोग निवारण गर्ने भएकाले यस्ता रङको प्रयोग गरी फागु खेल्नाले शीतकालमा शरीरमा उत्पन्न कफको विनाश हुन्छ । बालिएको चीरको धुवाँबाट शीतकालका अनेकौँ रोगका कीटाणु निर्मूल हुने हुनाले यो पर्वको आयुर्वेदिक महत्व पनि छ ।

फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिंँदै आएको छ । तराई क्षेत्रमा भने यो पर्व पूर्णिमाको भोलिपल्ट मनाउने गरिन्छ । यस वर्ष पनि तराईमा आज (बिहीबार) होली मनाइँदै छ । तराईका जिल्लामा बिहीबार सार्वजनिक बिदा दिइएको छ ।

pic: rss