शक्तिशाली शासक बन्दै केपी शर्मा ओली !

शक्तिशाली शासक बन्दै केपी शर्मा ओली !


प्रधानमन्त्री केपी शर्मा ओलीले सेना परिचालनको अधिकारसमेत आफूमा निहित गर्न खोजेको भनी सार्वजनिक टीका–टिप्पणी हुन थालेको छ । रक्षामन्त्री ईश्वर पोखरेलले ‘राष्ट्रिय सुरक्षा परिषद्को काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ पारित गर्नका निम्ति सँसदीय प्रक्रिया अघि बढाएपछि प्रधानमन्त्रीले सेनाको अधिकारसमेत आफूमा राख्न खोजेको भनी नकारात्मक टिप्पणी शुरु भएका हुन् ।

प्रस्तावित विधेयकमा ‘नेपाल सरकारले नेपाली सेनालाई विकास निर्माण, विपद् व्यवस्थापन, मुलुकको समग्र राष्ट्रिय हित र सुरक्षालगायतका कार्यमा उपयोग र परिचालन गर्न सक्ने’ व्यवस्था गरिएको छ । दफा ‘६’ को उपदफा ‘३’ मा ‘उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए पनि गम्भीर राष्ट्रिय सङ्कट उत्पन्न भएमा वा तत्काल सेना परिचालन नगरे त्यस्तो सङ्कट उत्पन्न हुने देखिएमा र तत्काल परिषद्को बैठक बस्न सम्भव नभएमा अध्यक्षले सेना परिचालनको लागि नेपाल सरकारसमक्ष सिफारिस गर्न सक्नेछ’ भन्ने व्यहोरा उल्लिखित छ ।

राष्ट्रिय सुरक्षा परिषद्को अध्यक्ष प्रधानमन्त्री रहने वैधानिक व्यवस्था छ र विधेयकको उपदफा ‘२’ मा ‘…नेपाली सेना परिचालन गर्न आवश्यक देखिएमा परिषद्को सिफारिसमा नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयबमोजिम राष्ट्रपतिबाट नेपाली सेना परिचालनको घोषणा हुने’ व्यवस्था भए पनि उपदफा ‘३’ ले यो व्यवस्थालाई एकप्रकारले निष्क्रिय बनाइएदिएको छ । सुरक्षा परिषद्का अध्यक्ष प्रधानमन्त्रीलाई सेना परिचालन गर्न आवश्यक लागेमा जुनसुकै बेला जेसुकै निहुँमा सेना परिचालन गर्न पाउने ‘अधिकार’ प्रस्तावित विधेयकको दफा ‘६’ उपदफा ‘३’ ले गरिदिएको छ ।

प्रधानमन्त्री ओलीले राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभाग र राष्ट्रिय अनुसन्धान विभागजस्ता महत्वपूर्ण निकायहरूलाई गत वर्ष नै आफूमातहत ल्याइसकेका छन् । अब सेना परिचालनको विशेष अधिकारसमेत प्रधानमन्त्रीमा रह्यो भने ओली इतिहासकै शक्तिशाली शासकमा रूपान्तरित हुने प्रबल सम्भावना छ ।