सिड्नीमा नेपाली विद्यार्थीको सहारा बन्दै सरोज

सिड्नीमा नेपाली विद्यार्थीको सहारा बन्दै सरोज


  • राजन घिमिरे, अष्ट्रेलिया

के तपाईं उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलियाको सिड्नी आउने तयारीमा हुनुहुन्छ ? तपाईंहरूको सिड्नीमा कोही आफन्त वा साथिभाइ छैनन् ? सिड्नी झर्नासाथ बस्ने–खाने सुविधा नहुँदा दिक्क मानिरहनु भएको त छैन ?

यस्तो परिस्थिति परे पनि अब आत्तिनु पर्दैन । बढीमा दुई साता त तपाईंहरूका लागि यस्ता आधारभूत आवश्यकता पूरा गरिदिन्छन् सिड्नीका सरोज भट्टराईले ।

तपाईं एक कल मात्र गर्नुस्, तपाईंलाई लिन एअरपोर्टमा नै पुग्छन् सरोज, रात होस् या दिन । कोठा खोजिदिन्छन् र दुई हप्ता तपाईंलाई साथ दिन्छन् । यस्ता मनकारी प्रवासी नेपाली ठिटो सरोजले यतिबेला शुरूको समयमा कोही र केही नभएर अलपत्र परेकाहरूका लागि ‘वाह’ गर्नलायकको काम गरेर सबैको प्रशंसा कमाएका छन् ।

‘मन कमाएपछि धन पनि कमाउन सकिन्छ’– जीवनको सबैभन्दा ठुलो कुरा आत्मसन्तुष्टि रहेछ भन्ने बुझेका भट्टराई अगाडि भन्छन्– ‘अष्ट्रेलियामा धेरै धन भएर पनि मन नभएका र जीवन अस्तब्यस्त भएकाहरूको पीडा मैले देखेको छु । तिनीहरूका अगाडि म धनी होइन र ?’ उनको प्रश्न छ ।

आफू पनि शुरूमा विद्यार्थीकै रूपमा अष्ट्रेलिया आएको सरोज सम्झन्छन् । ‘मलाई थाहा छ शुरूमा विद्यार्थीहरूको पीडा कस्तो हुन्छ । भन्छन् नि सर्पको खुट्टा सर्पले देख्छ । मैले देखेको र भोगेको छु पीडा । त्यही कुराले मन छोयो मलाई अनि यो काम अगाडि बढाएँ ’, उनले भने ।

सरोजको यो कार्यको प्रशंसा र चर्चा नेपालसम्म पुगेको छ । ‘आजकल त नेपालबाटै उड्ने बेलामा कल आउँछ अनि म सिड्नीको एअरपोर्टमा लिन पुग्छु,’ सरोजले थपे । तनहुँका सरोज अष्ट्रेलिया आएको पाँच वर्ष मात्र भएको छ । उनि दुई वर्ष ब्रिजबेनमा बसे भने विगत तीन वर्षदेखी भने सिड्नीमा बस्दै आएका छन् ।

सरोजले नेपाल बस्दा केही समय ओशो तपोवनमा स्वामी अरूणसँग पनि धेरै समय बिताए । जीवनमा खुशी नै धन हो भन्ने मान्यतालाई मनमा राखिरहे । धन टन्न भएर खुशी हुन नसक्नेहरूको लागि सेवाबाट खुशी मिल्छ भन्ने कुराको गहिरो अध्यन गरेका छन् सरोजले । यसैले पनि आफूलाई प्रेरित गरेको उनको भनाई छ । ‘म आफू बाँच्न र जीवनलाई अगाडि बढाउन मेरो आफ्नै काम पर्याप्त छ । तर विद्यार्थीहरूलाई सहयोग गर्न पाउनु मेरो लागि ठुलो खुशीको कुरा हो’, उनले भने ।

सिड्नीमा करियर काउन्सुलरको रूपमा पनि चर्चित छन् सरोज । कसरी काम पाउने ? कुन काम पाउन के गर्नु पर्छ ? कुन–कुन र कस्तो–कस्तो काम कहाँ पाइन्छ ? मानिसहरूसँग कसरी डिलिङ गर्ने ? जस्ता महत्वपूर्ण पाटामा सरोजले काउन्सिलिङ दिनेगरेका छन् ।

बढीमा दुई हप्ता निःशुल्क बसेको स्थानमा पछि फेरि बस्न मन लागेमा न्यूनतम रकम तिरेर निरन्तर बस्न सक्ने ब्यवस्था सरोजले मिलाइदिन्छन् । विद्यार्थीहरूलाई सजिलो होस् भन्ने ध्येयले उनले जतिसक्दो थोरै रकममा बस्ने ब्यवस्था पनि गरिदिन्छन् । भन्छन्, ‘म माध्यम मात्र हो, विद्यार्थीहरूको निमित्त लागिपरेको छु । प्रतिसेकेन्डलाई डलरमा हिसाब गर्ने यो समाजमा मनको खुशीको लागि दौडिरहेको छु ।’ यसो भन्दै भावुक बने सरोज ।