प्रचण्डविरुद्ध अदालत जाने तयारी

प्रचण्डविरुद्ध अदालत जाने तयारी


हिंसात्मक सङ्घर्षका कमाण्डर प्रचण्डविरुद्ध उनी अमेरिका भ्रमणमै रहेका बेला अमेरिकामा उजुरी परेको छ । केन्टुकी स्टेट विश्वविद्यालयका प्राध्यापक डा. तिलक श्रेष्ठले बाल्टिमोरस्थित सङ्घीय अनुसन्धान ब्युरोमा प्रचण्डविरुद्ध उजुरी दिएका हुन् ।

‘एउटा आतङ्ककारी अमेरिका घुमिरहेको छ’ भन्दै उजुरीमा श्रेष्ठले लेखेका छन्, ‘प्रचण्ड अमेरिकाको आतङ्ककारी सूचीमा छन् । उनले चलाएको युद्धमा सत्र हजार गरिब नेपाली मारिएका थिए ।’ आफूलाई कहाँ उजुरी गर्नुपर्ने हो थाहा नभएको भन्दै उजुरीमा श्रेष्ठले लेखेका छन्, ‘आतङ्कवादविरुद्ध अमेरिकाको अडान र नीतिगत मान्यता, आन्तरिक तथा विश्वव्यापी मान्यताका आधारमा कानुनी उपचार होस् ।’

डा. तिलकको उजुरीकै आधारमा मात्र प्रचण्ड अमेरिकामा पक्राउ पर्ने सम्भावना रहँदैन । तथ्य प्रमाणसहित कसैले अदालतमा उजुरी गऱ्यो र अदालतले पक्राउ पुर्जी जारी गरेको अवस्थामा मात्र उनी पक्राउ पर्नेछन् । मंगलबार बेलुकासम्म कसैले प्रचण्डविरुद्ध अदालतमा उजुरी हालेका छैनन्, तर नेपालीहरूको एउटा टोलीले प्रचण्डविरुद्ध अदालतमा उजुरी गर्ने विषयमा वकिलहरूसँग परामर्श गरिरहेको बुझिएको छ ।