सीकेले अब जनमत पार्टीको ब्यानरमा ‘राजनीति’ गर्ने

सीकेले अब जनमत पार्टीको ब्यानरमा ‘राजनीति’ गर्ने


दुई साताअघि सरकारसँग ११बुँदे समझदारी गरेर मूलधारको राजनीतिमा आएका भनिएका सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनको बैठकले पार्टीको नाम ‘जनमत पार्टी’ राख्ने निर्णय गरेको छ । सिरहाको लहानमा दुई दिनसम्म चलेको गठबन्धनको राष्ट्रिय परिषद् बैठकले पार्टीको नाम जनमत पार्टी राख्ने निर्णय गरेको हो ।

स्वतन्त्र मधेश गठबन्धन’का नाममा सक्रिय राउतले सरकारसँग एकाएक गरेको सहमतिपछि यसरी पार्टीको नाम फेरेको सन्दर्भलाई मिश्रित रुपले हेरिएको छ । कतिपयले यस कदमलाई सकारात्मक मान्दै राउतले पृथकतावादी लाइन त्यागेको अर्थमा बुझेका छन् भने धेरैले उनको यस निर्णयलाई थप शंकास्पद तथा रहश्यको रुपमा अर्थ्याएका छन् ।

राउतले दलको नाम ‘जनमत’ राख्नु अर्थपूर्ण

सीकेसँग सरकारले गरेको सहमतिसँगै ‘जनअभिमत’ र ‘जनमत संग्रह’ शब्दमा विवाद र बहस चर्किरहेको परिवेशमा राउतले दलको नाम नै ‘जनमत’ राख्नुलाई अर्थपूर्ण ठानिएको छ ।

सिरहाको लाहानमा सम्पन्न बैठकपछि पार्टीका केन्द्रीय सदस्य अब्दुल खानले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएअनुसार जनमत पार्टीको अध्यक्षमा सिके राउतलाई चयन गरिएको छ भने पार्टीको केन्द्रीय कमिटी ३५ सदस्यीय रहनेछ ।

बैठकले पार्टीको झण्डा रातो, सेतो र हरियो रङको ठाडो धर्काको बीचमा बीचको सेतो स्ट्रिपमा रातो रङको अष्टदल रहने निर्णय गरेको पनि सो विज्ञप्तिमा जनाइएको छ ।

पार्टीले चुनाव चिह्न ‘अष्टदल’ दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिने निर्णय गरेको समेत उल्लेख गरिएको उक्त विज्ञप्तिअनुसार निर्वाचन आयोगमा दल दर्ता भएपछि हाल कायम रहेको केन्द्रीय समिति थप विस्तार गरिने छ ।