विद्युत चोरेर आयोजना निर्माण गर्दै माथिल्लो चाकु ‘ए’

विद्युत चोरेर आयोजना निर्माण गर्दै माथिल्लो चाकु ‘ए’


–छविलाल बगाले
सिन्धुपाल्चोकको भोटेकोशी करिडोरमा निर्माणाधिन २२ दशमलव २ मेगावाटको माथिल्लो चाकु ‘ए’ जलविद्युत आयोजनाले अनाधिकृत रुपमा विद्युत चोरी गरेको खुलासा भएको छ । चालु आर्थिक बर्षमै व्यवसायिक उत्पादन थाल्ने गरी निर्माणाधिन यो आयोजनाले नेपाल विद्युत प्राधिकरणको ११ हजार भोल्टेजको लाइनबाट सिधैं विद्युत हुकिङ गरेको हो ।

आयोजनाले विद्युत चोरी गरी विद्युत चुहावट नियन्त्रण अभियानको धज्जी उडाएको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले घटना र बिचारलाई जानकारी दिएका छन् । उनका अनुसार प्रवद्र्धक कम्पनी शिव श्री हाइड्रोपावर प्रालिले आयोजना निर्माणका लागि विद्युत प्राधिकरणसँग एकसय केभीका ३ वटा ट्रान्सफर्मर जडान गरी विद्युत लिने सहमति गरेको थियो । तर आयोजनाले प्राधिकरणसँग लिएको विद्युत प्रयोग नगरी चोरी गरेको विद्युत उपभोग गरेको हो । ११ हजार किलोभोल्टेजको प्रणालीबाट ‘ट्यापिङ’ गरी १ यस केभीको निजी ट्रान्सफर्मरमा लगेर आयोजना निर्माण गरेको प्राधिकरणले जनाएको छ । जुन गैरकानुनी कार्य हो । ‘प्राधिकरणका कर्मचारीले आयोजनाले विद्युत हुकिङ गरिरहेको अवस्थामा फेला पारेका हुन् ।’ उनले भने, ‘आयोजनाले कहिलेदेखि विद्युत चोर्न थालेको र कति चो¥यो भन्ने बारेमा अनुसन्धान भइरहेको छ ।

प्राधिकरणका पूर्व कार्यकारी निर्देशक समेत रहेका महेन्द्रलाल श्रेष्ठ यस आयोजनाका प्रमुख कार्यकारी अधिकृत छन् । प्राधिकरणकै उच्च अहोदामा रहेर काम गरिसकेका ब्यक्ति नै विद्युत चोरीको घटनामा मुछिएकोले यो घटनालाई प्राधिकरणले गम्भिर रुपमा लिएको छ । प्रारम्भिक अनुमानका आधारमा आयोजनाले ४६ लाख मूल्य बराबरको विद्युत हुकिङ गरेपनि यो दर बढ्ने प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार विद्युत चोर्नेबिरुद्ध विद्युत चोरी नियन्त्रण ऐन, विद्युत चोरी नियन्त्रण नियमावली र प्राधिकरणको विनियमावलीका आधारमा हर्जना, कैद या दुवै सजाय हुने प्रवक्ता अधिकारी बताउँछन् ।

४ अर्ब ३ करोडको अनुमानित लागत रहेको यस आयोजनामा प्राधिकरणले सबै विद्युत कटौती गरिदिएको छ । जसका कारण आयोजनाको निर्माण कार्य अबरुद्ध हुन पुगेको छ । विद्युत उत्पादन गरेर प्राधिकरणलाई बिक्रि गर्ने गरी आयोजना र प्राधिकरणबीच विद्युत खरिद सम्झौता गरेको आयोजनाले अनाधिकृत रुपमा विद्युत हुकिङ गर्नु राम्रो कार्य नभएको प्राधिकरणको तर्क छ ।

यतिबेला नेपाल विद्युत प्राधिकरण प्रणालीमा हुने विद्युत चुहावट नियन्त्रणमा तल्लिन छ । प्राधिकरणले १८ घण्टासम्मको लोडसेढिङलाई हटाएर विद्युत चुहावट समेत रोकेको छ । ‘चालु आर्थिक बर्षको ६ महिनामा विद्युत चुहावट १६ दशमलव ६५ प्रतिशतमा झरेको छ ।’ प्रवक्ता अधिकारीले भने, ‘प्राधिकरणले आफ्ना सबै संयन्त्र प्रयोग गरेर प्रणालीमा हुने विद्युत चुहावट रोक्न सफल भएको छ । तैपनि असहयोगको श्रङ्खला भने उत्तिकै छ ।’