चैत्र ५ गते ‘काठमाडौं युथ कनक्लेभ–२०७५’ हुने

चैत्र ५ गते ‘काठमाडौं युथ कनक्लेभ–२०७५’ हुने


युनिभर्सल कलेज, न्यू समिट कलेज, अपोलो इन्टरनेशनल कलेज, काठमाण्डौ मोडेल कलेज तथा हिमालय कलेज अफ इन्जिनेरिङको संयुक्त आयोजनामा यही चैत्र ५ गते प्रज्ञा भवन, कमलादी, काठमाण्डौमा ‘काठमाण्डौ युथ कनक्लेभ–२०७५’ हुने भएको छ ।
आयोजक कलेजका प्रतिनिधिहरुले आइतबार पत्रकार सम्मेलन गरेर उक्त कनक्लेभको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएका हुन् ।

युनिभर्सल कलेज, शान्तितगरका प्राचार्य डा.शिवदत्त ज्ञवालीले १०+२ पछि पनि स्वदेशमै उच्च शिक्षा दिन आफूहरु सक्षम रहेको र विश्वस्तरीय प्रतिष्पर्धी शिक्षा प्रदान गर्न सक्षम रहेको सन्देश दिन पनि यो कनक्लेभ आयोजना गर्न लागिएको भन्दै उद्देश्यबारे प्रकाश पारेका थिए । उनले भने,‘देशको जनसंख्याको झण्डै ४० प्रतिशत जनसंख्या युवायुवतीहरु भएको समूदायलाई एउटै मञ्चमा ल्याई देशका विभिन्न क्षेत्रमा ख्यातिप्राप्त, अनुभवी तथा उल्लेख्य प्रगति गरेका व्यक्तिहरुको ज्ञान, सिप र अनुभव बाँडी यो वर्गलाई चौतर्फी विकासमा योगदान पुर्याउन युवाहरुलाई उत्साहित, अभिप्रेरित तथा दिशानिर्देश गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गर्न लागेका छौं ।’

डा. ज्ञवालीले देशका शसक्त युवायुवतीहरुलाई विदेश जानुभन्दा यही देशमा सम्भावना खोज्न उत्साहित गरी नेपालमै उच्च शिक्षा प्रदान गरी देशको आर्थिक विकासमा सक्रिय नेतृत्व दिई स्वरोजगारका अवसरहरु सिर्जना गरी देश सेवामा अभिप्रेरित गर्नपनि यस कार्यक्रमले ठूलो योगदान तथा भूमिका खेल्ने विश्वास दिलाए । उक्त एकदिवसीय कनक्लेभको प्रत्यक्ष प्रशारण न्यूज २४ टेलिभिजनले गर्ने आयोजकले जनाएको छ ।
उक्त कनक्लेभको प्रमुख अतिथि भने सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् प्रतिनिधि सभाका सदस्य योगेश भट्टराई रहेको पनि आयोजकले जनाएको छ ।

त्यस्तै, कनक्लेभमा नेपालका सफल बैंकर अनिल केशरी शाहले ‘द पावर अफ युथस् ईन नेशन बिल्डिङ’ भन्ने शीर्षकमा आफ्नो लेक्चर दिनेछन् । प्रधानमन्त्री केपी शर्मा ओलीका आईटी विज्ञ अस्गर अलीले ‘द फ्युचर अफ ई–कमर्स एण्ड आईटी सेक्टर ईन नेपाल र द जर्नी फ्रम स्र्टाटअप्स टु अन्टरप्रेन्युअर’ शीर्षकमा प्रवचन दिनेछन् ।

त्यस्तै, नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारश खड्काले ‘नेश्नल युनिटी थ्रु स्पोर्टस्’ शीर्षकमा आफ्नो प्रवचन दिने कार्यक्रम रहेको छ । युट्यवर सिसम बानियाँले ‘प्यासन टु प्रोफेशन ः थिङकिङ आउट अफ द बक्स’ शीर्षकमा प्रवचन दिनेछन् । मिस नेपाल–२०१८ श्रृंखला खतिवडाले ‘प्रोस्पेरिटी थ्रु प्रमोटिङ टुरिज्म’ शीर्षकमा प्रवचन दिनेछिन् ।

व्यवसायी सौरभ ज्योतिले ‘दि बिजनेश ईनभाईरोमेन्ट ईन नेपाल ः च्यालेन्ज एण्ड अपरचुनिटिज र द रोल अफ युथ ईन बिजनेश वल्र्ड’ नामक शीर्षकमा आफ्नो प्रवचन दिनेछन् । त्यस्तै चर्चित हाँस्यकलाकार सन्दिप क्षेत्रीले स्ट्याण्डिङ आउट विथिन मास’ नामक शीर्षकमा प्रवचन दिने आयोजक संस्थामध्येको एक काठमाडौं मोडेल कलेज, बालकुमारीका प्राचार्य सुरेन्द्र सुवेदीले जानकारी दिए ।

सुवेदीले उक्त एक दिवसीय कनक्लेभमा १८–२० वर्ष उमेरसमूहका करिब ३ हजार युवायुवतीहरुको सहभागिता हुने अपेक्षा गरिएको सुनाए । कार्यक्रमलाई थप आकर्षक बनाउनको लागि स्वप्न सुमनका सांगितिक प्रस्तुति रहने र कमेडियन सन्दिप क्षेत्रीको प्रहसन, सुशान्त खत्रीको नृत्यलगायतका विभिन्न खानका स्टलहरु, खेलहरु तथा विद्यार्थीहरुको रोचक प्रस्तुतिहरु पनि समावेश गरिएको आयोजकले जनाएको छ ।