चालु आर्थिक बर्षमा २ सय ८७ मेगावाट विद्युत उत्पादन हुँदै

चालु आर्थिक बर्षमा २ सय ८७ मेगावाट विद्युत उत्पादन हुँदै


–छविलाल बगाले
सरकारले विक्रम संवत् २०८५ सम्मको अवधिलाई उर्जा दशकको रुपमा घोषणा गरेको छ । यसैलाई ध्यानमा राखेर सरकार र निजी क्षेत्र जलविद्युत आयोजना निर्माणमा तल्लिन छन् । तर सरकारले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण भने फेरिएको छैन् । सरकारले विद्युत उत्पादन शुरु हुने समयसम्म पनि प्रसारण लाइन निर्माण नगर्दा निजी आयोजनाको विद्युत खेर जाने अवस्थामा पुगेको छ ।

सरकारले चालु आर्थिक बर्ष २०७५/७६ को अन्त्यसम्म २० वटा जलविद्युत आयोजनाको निर्माण सकिने प्रक्षेपण गरेको छ । यि सबै आयोजनाको जडित क्षमता २ सय ८७ मेगावाट हुनेछ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले चालु आर्थिक बर्षमा सबै आयोजनाको निर्माण सक्ने गरी निर्देशन दिइसकेको छ । मन्त्रालयका अनुसार चालु आर्थिक बर्षको ८ महिनामा ३९ मेगावाट विद्युत् प्रणालीमा थपिएको छ । चालू आर्थिक बर्षमा १४ मेगावाटको कुलेखानी तेस्रो, ६० मेगावाटको माथिल्लो त्रिशूली थ्री ए, २२ मेगावाटको वाग्मती साना जलविद्युत् आयोजना निर्माण सम्पन्न हुने ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले जानकारी दिए । उनका अनुसार ती तीनवटै आयोजनाको परीक्षण उत्पादन हुने क्रममा छ ।

यस्तै, चालू आर्थिक बर्षको अन्त्यसम्म २० मेगावाट क्षमताको तल्लो मोदी, ६ दशमलव ४ मेगावाटको माथिल्लो मैलुङ ए, २२ दशमलव २ मेगावाट क्षमताको माथिल्लो चाकु ए, १२ मेगावाटको नामर्जुन मादी, २५ मेगावाट क्षमताको काबेली ‘बि’–१ पनि निर्माण सम्पन्न हुनेछ ।

उता, ३ दशमलव २ मेगावाटको गेलुन खोला, आठ दशमलव आठ मेगावाटको रुदी ए, ५ मेगावाटको घलेम्दी खोला, ३ दशमलव ३ मेगावाटको कापडीगाड, २३ दशमलव ५ मेगावाटको सोलु, सात मेगावाटको माथिल्लो खिम्ती दुई, पाँच मेगावाटकै घट्टे खोला, १० मेगावाटको इवा खोला, ४ दशमलव ५ मेगावाटको विजयपुर खोला, ७ मेगावाटको माथिल्लो मार्दी र ६ दशमलव ६ मेगावाटको रुडी खोला चालू आर्थिक बर्षको अन्त्यमा सम्पन्न हुने प्रक्षेपण मन्त्रालयको छ ।

मन्त्री पुनले आफ्नो एकबर्षे कार्यकालको समिक्षा गर्दै आगामी आर्थिक वर्ष २०७६/७७ को अन्त्यसम्ममा राष्ट्रिय प्रसारण प्रणालीमा कूल एक हजार २ सय ६९ मेगावाट विद्युत् थपिने दावी गरेका छन् । सो आर्थिक बर्षमा सम्पन्न भई विद्युत उत्पादन थाल्ने आयोजनाहरुमा ४० मेगावाटको खानी खोला–१, २७ मेगावाटको दोर्दी खोला, ४२ मेगावाटको मिस्ट्री खोला, १४ दशमलव ८ मेगावाटको माथिल्लो साञ्जेन, ४२ दशमलव ५ मेगावाटका सान्जेन, १११ मेगावाटको रसुवागढी, ३० मेगावाटको खानी खोला, ८२ मेगावाटको तल्लो सोलु, २५ मेगावाटको माथिल्लो दोर्दी–ए, १६ मेगावाटको सिंगटी खोला, ३६ मेगावाटको अप्पर बलेफी गरी कूल २३ आयोजना सम्पन्न हुनेछन् । यी सबै आयोजनाको जडित क्षमता ९ सय ८२ मेगावाट छ ।

अहिले मुलुकको प्रसारण प्रणालीमा एक हजार १५ मेगावाट विद्युत छ । सरकारले तीन बर्षमा ३ हजार, पाँच बर्षमा ५ हजार र दशबर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ । यही लक्ष्यलाई पच्छ्याउन पनि सरकारले २०८५ सम्मलाई उर्जा दशकको रुपमा घोषणा गरेको छ ।

आर्थिक वर्ष २०७७/७८ सम्म थप ४ सय ५५ मेगावाट विद्युत केन्द्रीय प्रसारण प्रणालीमा जोडिने प्रक्षेपण मन्त्रालयको छ । हरेक आर्थिक बर्षमा विद्युत उत्पादनको लक्ष्यलाई मात्रै हेरेको मन्त्रालयले प्रसारण लाइन निर्माणमा भने कम चासो राखेको देखिन्छ । अहिलेसम्म प्रसारण लाइनको ३ सय ३ टावरमध्ये हालसम्म १ सय ४३ वटा टावरको मात्रै जग तयार भएको मन्त्री पुनले जानकारी दिएका छन् ।

प्रगति विवरणको पूर्णपाठ :
[gview file=”https://ghatanarabichar.com/wp-content/uploads/2019/03/pun.pdf”]