साहसिक खेल ‘जिपलाइन’ : डोरीमा झुण्डिँदै धुलिखेलदेखि पाँचखाल

साहसिक खेल ‘जिपलाइन’ : डोरीमा झुण्डिँदै धुलिखेलदेखि पाँचखाल


  • छविलाल बगाले

विगत केही दिनयता धुलिखेल क्षेत्रको रौनक नै अर्कै छ । पर्यटन प्रवद्र्धनका लागि शुरु गरिएको ‘जिप लाइन’ ले युवाहरुको मन लोभ्याइदिएको छ । ‘पिकनिक’ खान र घुम्नका लागि मात्रै धुलिखेल पुग्नेहरु अब त्यत्तिकै फर्कनुपर्दैन् । उनिहरुले अब प्याराग्लाइडिङ, बञ्जीजस्तै साहसिक खेल ‘जिपलाइन’को मज्जा लिन पाउने भएका छन् ।

१५ दिन अघि मात्रै काभ्रेपलाञ्चोकको धुलिखेल–८, थाक्लेडाँडादेखि पाँचखाल–५, खावाको ११ सय मिटरको दुरीमा शुरु भएको ‘जिपलाइन’ १५ बर्षमाथिका युवायुवतीहरुको रोजाईमा परेको छ । काठमाडौँदेखि ३३ किलोमिटर दूरीमा पर्ने पर्यटकको आकर्षक गन्तव्य धुलिखेलमा साहसिक खेल ‘जिप लाइन’ले सेवा दिन थालेपछि यसले धेरैको मन हरेको छ । वल्र्ड वाईड एडभेन्चर प्रालिले पर्यटन बर्ष २०२० लाई लक्षित गरी पौने ५ करोडको लागतमा साहसिक खेल ‘जिपलाइन’ को शुरुवात गरेको हो । थप सुविधा प्रदान गर्न तथा बालबालिकालाई उपयुक्त खेलका लागि अन्य संरचना निर्माण र व्यवस्थापनको काम समेत भइरहेको छ ।

 

नेपाली पर्यटन बजारमा नयाँ प्रडक्ट

साहसिक खेल ‘जिपलाइन’ नेपाली पर्यटन बजारको क्षेत्रमा नितान्त नयाँ र फरक प्रडक्ट मान्न सकिन्छ । यसअघि पोखरामा पनि जीपलाइन सेवा भएपनि यसमा खेलिने सुपरम्यान खेल र जोडीले गर्ने खेल भने पहिलो भएको सञ्चालक केदार थापाको दावी छ । उनका अनुसार यो नेपालकै पहिलो सुपरम्यान जिपलाइन पनि हो । ‘नेपाल आउने पर्यटकले औधी रुचाउने ‘सुपरम्यान फ्लाइङ’ नेपाली पर्यटकमाझ पनि लोकप्रिय नै बनेको छ ।’ सञ्चालक थापाले भने, ‘यही बाटो भएर आउने आन्तरिक तथा बाह्य पर्यटकहरु एक पटक आफ्नो सवारी रोकेरै भएपनि ‘जिपलाइन’ को मज्जा लिने गरेका छन् । त्यसैले हामी व्यवसायप्रति खुसी नै छौं ।’ काठमाडौंबाट नजिक र पर्यटकीय दृष्टिकोणले पनि परिचित ठाउँ भएकोले धुलिखेललाई नै रोजेर यो व्यवसाय शुरु गरेको उनको सञ्चालक थापाको भनाई छ ।

१५ दिनमा ३ सयलाई सेवा

उनका अनुसार भोटेकोशीमा हुने साहसिक खेललगायत ठाउँमा जाने आउने बाटो अरनीको राजमार्ग भएकाले त्यसको समिपमा जिप लाइन शुरु गरिएको हो । जिपलाइन १५ दिनको अवधिमा चीन, कोरिया, हङ्कङ, अमेरिका र स्वीजरल्याण्डका पर्यटकले साहसिक खेलको मजा लिइसकेका छन् भने आन्तरिक पर्यटकको पनि ओइरो लागेको छ । अहिलेसम्म ३ सय बढिले सेवा लिइसकेको सञ्चालक थापा बताउँछन् ।

‘जिपलाइन’ मा कसरी मज्जा लिने ?

सञ्चालनमा आएको ‘जिप लाइन’ मा तीन प्रकारका साहसिक खेल रहेका छन् ।
कम्पनीले एकजना मात्रे खेल्न मिल्ने गरी क्लासिक जिपलाइन, दुईजना अर्थात प्रेमजोडी एकैपटक खेल्न मिल्ने गरी कप्पल जिपलाइन र सुतेर अनि हात फिँजाएर खेल्न मिल्ने सुपरम्यान गरी तीन प्रकारको साहसिक खेल सञ्चालनमा ल्याएको छ । पर्यटकहरुको आफ्नै रोजाई र इच्छाका आधारमा ‘जिप लाइन’ को मज्जा लिन सकिने व्यव्स्था भएको अर्का सञ्चालक रुपेश श्रेष्ठले घटना र बिचारलाई जानकारी दिए ।

डोरीमा उड्न कति लाग्छ त बजेट ?

अन्य खेलको तुलनामा ‘जिपलाइन’ अर्थात डोरीमा झुण्डिएर खेलिने यो खेल निकै रोमाञ्चक मध्येको एक हो । यसमा सामान्य प्राविधिक त्रुटि भएमा खेलाडीहरुको ज्याने पनि जान सक्छ । तर यसका लागि कम्पनीले बिशेष ध्यान पु¥याएको छ । साहसिक खेलका लागि नेपाली नागरिकले प्रतिव्यक्ति क्लासिकमा रू. २ हजार ५ सय, सुपरम्यानको ३ हजार ५ सय र जोडीको लागि ४ हजार शुल्क निर्धारण गरेको छ । तोकेको छ । सार्क र अन्य मूलुकको हकमा ३५ देखि ४० डलर शुल्क तोकिएको सञ्चालक थापाले बताए ।

दृष्यावलोकन गर्दा छुट्टै आनन्द

जब धुलिखेल–८, थाक्लेडाँडादेखि ‘टेक अफ’ शुरु हुन्छ तव मात्रै देख्न सकिन्छ हरिया जंगल अनि अनि अगाडीरहेको हिमालको मनोरम दृश्य । पाँचखाल–५, खावामा ‘ल्यान्डिङ’ नभएसम्म खेलाडीहरुले निकै रमाइलो र आनन्दको महशुस गर्ने गर्दछन् ।

समुन्द्र सतहदेखि १३ सय मिटर उचाइबाट शुरु भएर ‘भर्टिकल ड्रप’ दुई सय ४० फिट हुँदै १२ सय मिटरको उचाईमा पुग्दा त खेलाडीले भरपुर आनन्दको महशुस गर्ने गरेको संचालकहरु बताउँछन् । कम्मरमा विशेष प्रकारको डोरीसहितको फुलबडी आर्नेसमा बसेर चराको पखेटा झैँ हात फैलाएर ‘सुपरम्यान फ्लाइङ’ गरेका संचारकर्मी टिपी भुसालले डोरीमा हुँइकिदाको मज्जा नै बेग्लै रहेको बताए । उनि मात्रै होइन काठमाडौंबाट शनिबार डोरीमा झुण्डिएर ‘जिपलाइन’को मज्जा लिन धुलिखेल पुगेका नारायण भट्टराईले पनि करीब एक मिनेट हावामा उड्दाको बेग्लै आनन्द भएको बताए । ‘माथिबाट जंगल, फाँट, घर साथै विभिन्न दृष्यावलोकन गर्दा फरक आनन्द आयो ।’ अर्का संचारकर्मी नारायण पौडेलले भने, ‘पर्यटन क्षेत्रमा नयाँ प्रडक्टको शुरुवात भएको छ ।’

५ लाखसम्मको दुर्घटना बीमा

विशेष प्रकारको डोरीसहितको फुलबडी आर्नेस, गट्टा र लकिङ डोरीको सहायताको भरमा एउटा फलामको तारमा कुद्ने विषय सानो विषय होइन् । कम्पनीले खेलाडीको विमा पनि गर्ने गर्दछ । जिपलाइन खेलमा नेपाल सरकारको नियमानुसार ५ लाखसम्मको दुर्घटना बीमा गरिएको छ । जिपलाइनमा अमेरिकन र क्यानेडियन प्रविधिको गुणस्तरीय सामग्री प्रयोग गरेकोले कुनै जोखिम नरहने सञ्चालक श्रेष्ठ बताउँछन् । उनका अनुसार पर्यटन विभाग, पर्यटन बोर्ड, उद्योग विभाग र उद्योग मन्त्रालय तथा वन मन्त्रालय लगायतका निकायबाट स्वीकृति लिएर सो व्यवसाय शु गरिएको हो ।

२० देखि २५ जनालाई रोजगारी

जिपलाइनमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा २० देखि २५ जनालाई रोजगारी पाएका छन् । ‘टक अफ’ र ‘ल्याण्डिङ’ दुवैतर्फ गरी १० जना, यात्रु ‘रिसिभ’ का लागि २ जना र अन्य होटलमा कार्यरत छन् । व्यवसाय फस्टाउँदै गएपछि रोजगारी बढ्ने कम्पनीको दावी छ ।