त्रिशूली–३ ‘बी’ को सेयर खुल्यो

त्रिशूली–३ ‘बी’ को सेयर खुल्यो


नुवाकोटमा निर्माणाधीन ३७ मेगावाटको त्रिशूली–३ ‘बी’ आयोजनाका लागि प्रवद्र्धक कम्पनी त्रिशूली जलविद्युत कम्पनी लिमिटेडले साधारण सेयर खुला गरेको छ । ‘जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गतको आयोजनामा लगानी गर्न बिहीबार (चैत ७ गते) बाट आवेदन दिन मिल्ने गरी शुक्रबार सेयर आह्वान गरेको हो ।

बिहीबार खुलेको सेयर छिटोमा चैत १२ गते र ढिलोमा २०७६ बैशाख ६ गते बन्द हुनेछ । कम्पनीले सर्वसाधारणका लागि ३५ लाख ९३ हजार ८ सय ५० कित्ता सेयर निष्कासन गरेको छ । हाल यसको १० प्रतिशत अर्थात् ३ करोड ७० लाख ५० हजार रुपैयाँ (३ लाख ७० हजार ५ सय कित्ता) को लागि मात्र सेयर माग गरिएको छ ।

सय रुपैयाँ मूल्य अंकित उक्त परिमाणको सेयर किन्न हाल १० प्रतिशतले हुन आउने प्रतिसेयर १० रुपैयाँमा आवेदन दिन पाइनेछ । व्यक्तिले किन्न चाहेको बाँकी सेयरबापतको रकम कम्पनीले आयोजनाको निर्माण ५० प्रतिशत पूरा भएपछि माग गर्ने जनाएको छ । सञ्चार मन्त्रालय, कम्पनी, धितोपत्र बोर्ड तथा सरोकारवालाको सहयोगमा समयभित्रै सेयर निष्कासन गर्न सकिएको ‘कार्यक्रम’ का संयोजक नविनराज सिंहले जानकारी दिए । ‘हामी दोस्रो चरणमा तामाकोसी–५ को सेयर निष्कासन गर्नेछौं,’ उनले भने, ‘यसका लागि पनि प्रक्रिया सुरु भइसकेको छ ।’ कम्पनीले जारी पुँजी २ अर्ब ४७ करोड रुपैयाँको १५ प्रतिशत अर्थात् ३७ करोड ५ लाख रुपैयाँको ३७ लाख ५ हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्ट्याएको छ । यसमध्ये ३ प्रतिशत सेयर (१ लाख ११ हजार १ सय ५० कित्ता) कम्पनीका कर्मचारीलाई सुरक्षित राखी बाँकी निष्कासन गरेको जनाएको छ ।

सेयर निष्कासन गर्न धितोपत्रले बिहीबार साँझमात्र अनुमति दिएको थियो । आयोजनामा अहिले नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमको ३०÷३० प्रतिशत सेयर स्वामित्व छ । बाँकी ४० प्रतिशत सेयर सर्वसाधारणका लागि छुट्ट्याइएको थियो । यो संरचना अनुसार ‘कार्यक्रम’ कार्यान्वयन गर्न मिल्दैन । ‘कार्यक्रम’ अनुसार आयोजनाका लागि सेयर माग गर्ने कम्पनीमा ५१ प्रतिशत सरकार र ४९ प्रतिशत सेयर स्वामित्व जनताको हुनुपर्नेछ । तर, पछि ६० प्रतिशत स्वामित्व ५१ मा झार्ने गरी सेयर निष्कासन गर्न लागेको सिंहले बताए । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले अघि बढाएको ‘कार्यक्रम’ प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले गत फागुन २ गते संयुक्तरूपमा शुभारम्भ गरेका थिए । प्रधानमन्त्री ओलीले कार्यक्रम शुभारम्भ भएको ३५औं दिनमा आफूले सेयर किन्ने बताएका थिए ।

कम्पनीले निर्माण गर्ने आयोजनाको लागत निर्माण अवधिको ब्याजसहित प्रतिमेगावाट २२ करोड २३ लाख ६३ हजार रुपैयाँ (कूल लागत ८ अर्ब २२ करोड ७४ लाख ४० हजार ६ सय ७४ रुपैयाँ) अनुमान गरिएको छ । आयोजनाबाट २०७८ साल फागुन २९ गते विद्युत उत्पादन हुने प्रक्षेपण गरिएको छ । आयोजनामा नबिल बैंकको अगुवाईमा हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) र नेपाल बैंकले ऋण लगानी गरेका छन् । ऋण र स्वपुँजीको अनुपात ७० प्रतिशत र ३० प्रतिशत कायम गरिएको छ ।