७ सय ११ स्थानीय तहमा तहमा बैंकका शाखा

७ सय ११ स्थानीय तहमा तहमा बैंकका शाखा


मुलुकभरका कूल ४२ वटा स्थानीय तहमा अझै पनि बैंकका शाखा खुल्न सकेका छैनन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको सात महीनाको आर्थिक विवरणअनुसार ७५३ स्थानीय तहमध्ये ७११ तहमा मात्रै बैंकका शाखा कार्यालय पुगेका छन् ।

सरकारले वित्तीय पहुँच पु¥याउने लक्ष्यका साथ सबै स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुर्याउने लक्ष्य राखेको भए पनि अझै शाखा पुग्न नसकेका हुन् । सरकारले स्थानीय तहमा नै बैंकका शाखा पुर्याएर वित्तीय पहुँच पुर्याउने र हरेक नेपालीको एक बैंक खाता खोल्न अभियान नै सञ्चालन गरिरहेको छ । चालू आर्थिक वर्षको अन्त्यसम्म सबै स्थानीय तहमा बैंकका शाखा पुर्याएर वित्तीय पहुँच पुर्याउने लक्ष्य राखिएको छ । बैंकको विवरणअनुसार प्रदेश नं १ का कूल १३७ स्थानीय तहमध्ये गत माघ मसान्तसम्म मात्रै १२९ बैंकका शाखा खुलेका छन् ।

यस्तै प्रदेश नं २ का १३६ स्थानीय तहमध्ये १३३ वटामा शाखा खुलेका छन् । सो प्रदेशमा तीन वटा स्थानीय तहमा मात्रै पुग्न बाँकी छन् । प्रदेश नं ३ का ११९ स्थानीय तहमध्ये ११४ वटा शाखा खुलेका छन् । सो प्रदेशमा अझै चार वटा स्थानीय तह वित्तीय पहुँचबाट टाढा रहेका छन् । गण्डकी प्रदेशका कूल ८५ स्थानीय तहमध्ये हालसम्म ८२ वटा, प्रदेश नं ५ का १०९ स्थानीय तहमध्ये १०७ वटा बैंकका शाखा खुलेका छन् । कर्णाली प्रदेशका ७९ स्थानीय तहमध्ये ६४ वटामा बैंकका शाखा पुगेका छन् ।

सुदूरपश्चिमको ८८ स्थानीय तहमध्ये ८२ वटामा बैंकका शाखा खुलेका छन् । अझै छ वटा स्थानीय तहमा बैंकका शाखा नखुल्दा वित्तीय पहुँच पुग्न सकेको छैन । देशभर नै बैंक तथा वित्तीय संस्थाका शाखा माघ मसान्तमा सात हजार ७३१ वटा पुगेका छन् । त्यस्ता शाखा सङ्ख्या गत असार मसान्तमा छ हजार ६५१ रहेका थिए । केन्द्रीय बैंकको इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाको सङ्ख्या गत असार मसान्तमा १५१ रहेकामा माघ मसान्तमा बढेर १५७ पुगेका छन् ।

यस्तै माघ मसान्तसम्ममा बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्तिसम्बन्धी प्रक्रिया अगाडि बढ्दा १६४ वटा बैंक तथा वित्तीय संस्था सो प्रक्रियामा समावेश भएका छन् । त्यसमध्ये १२२ वटा संस्थाको इजाजत खारेज भई ४२ संस्था कायम भएका छन् ।