‘चियावाला’ मोदीद्वारा ‘म पनि चौकीदार’ अभियान सुरु

‘चियावाला’ मोदीद्वारा ‘म पनि चौकीदार’ अभियान सुरु


भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय जनता पार्टी (बिजेपी)को ‘म पनि चौकीदार’ अभियानको सुरुवात गरेका छन् ।

सबै भारतीय नागरिक कसरी चौकीदार हुन् भन्ने बारेमा तयार पारिएको भिडियो ट्वीटरमा सार्वजनिक गरेर उनले अभियानको सुरुवात गरेका हुन् ।

‘तपाईका चौकीदारहरु देशभरि सेवा गरिरहेका छन्, म एक्लो छैन । हरेक व्यक्ति जो भ्रष्टाचार, गलत काम, सामाजिक विकृतिका विरुद्धमा लड्छन्, ती सबै चौकीदार हुन्,’ उनले भनेका छन् ।

प्रधानमन्त्री मोदीले देशको प्रगतिका लागि कडा मिहनेत गर्नेहरुलाई पनि चौकीदारको संज्ञा दिँदै आज भारतका सबै नागरिकले म पनि चौकीदार हुँ भन्ने गरेको बताएका एएनआई ले जनाएको छ ।

अघिल्लो पटक सन् २०१४ मा भएको निर्वाचनमा आफू चौकीदार बन्न चाहेको बताएका मोदीले अहिले फेरि त्यही चौकीदारको विषयलाई अभियानको रुपमा सुरु गरेका हुन् । चौकीदारले पैसा र सम्पत्तिको सुरक्षा गरे झैं आफूले देशको संरक्षण गर्न चाहेको उनको भनाई छ ।

भारतीय कांग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीले ‘चौकीदार चोर भयो’ भन्ने टिप्पणी गरेपछि बिजेपीले त्यसको सर्वेक्षण गर्दा धेरै मान्छे चौकीदारको पक्षमा देखिएकाले ‘म पनि चौकीदार’ अभियान उनले सुरु गरेका हुन् ।

सर्वेक्षणले चौकीदारलाई होच्याइएकामा धेरै जना रिसाएको पनि देखाएको भारतीय अधिकारीहरुले जनाएका छन् ।

यसअघिको निर्वाचनमा प्रधानमन्त्री मोदीलाई ‘चियावाला’को रुपमा पनि यसैगरी प्रचार गरिएको थियो । त्यो पनि सकारात्मक र प्रभावकारी भएको थियो ।

भारतमा यही मार्च ३१ देखि निर्वाचन हुन लागेकाले निर्वाचनको दिन नजिकिँदै जाँदा प्रचारप्रसार पनि तीव्र हुन थालेको छ ।