जलाउने तयारीमा को–को छन् ?

जलाउने तयारीमा को–को छन् ?


othernewsसत्तरीवटा सङ्घसंस्था संविधानमा आगो लगाउने तयारी गर्दै
– रामहरि पाण्डे
संविधानसभाबाट संविधान कहिले जारी हुन्छ, त्यसको कुनै टुङ्गो छैन । तर, संविधानसभाबाट जारी हुने संविधान जलाउने भन्दै पचासभन्दा बढी सङ्घ–सङ्गठन र तीन दर्जनभन्दा बढी राजनीतिक पार्टीका नेता तथा कार्यकर्ता सक्रिय भइसकेका छन् । उनीहरू संविधानसभाबाट जारी हुने संविधानले आफ्नो हकअधिकार सुनिश्चित गर्न नसक्ने र आफ्ना माग पनि सम्बोधन नगर्ने भन्दै संविधान जारी हुनुअघि नै जलाउने तयारीमा जुटेका हुन् ।
यसअघि पनि ती सङ्गठन र राजनीतिक दलका नेताहरूले संविधानको मस्यौदा जलाएर विरोध गरिसकेका छन् । राप्रपा नेपाल, फोरम लोकतान्त्रिकबाहेकका मधेसकेन्द्रित दलले संविधानसभा भवनमै मस्यौदा च्यात्नुका साथै सार्वजनिक कार्यक्रम गरी संविधानको मस्यौदा जलाइसकेका छन् । त्यसैगरी विभिन्न जनजाति सङ्गठन, मोर्चा तथा हिन्दूराष्ट्र पक्षधर सङ्गठनलगायतकाले मस्यौदा जलाइसकेका छन् । यसरी मस्यौदा जलाउनेहरूले संविधानमा आफ्नो माग सम्बोधन नभएको भन्दै फरक–फरक माग राखी मस्यौदा जलाएका हुन् ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीले तयार गरेको एक गोप्य रिपोर्टअनुसार ७० भन्दा बढी सङ्घ–सङ्गठन संविधान जारी नहुँदै संविधान जलाउने तयारीमा छन् । उनीहरूले संविधानको मस्यौदा सार्वजनिक हुनेबित्तिकै जलाउने र आफ्नो आन्दोलनलाई अघि बढाउने तयारी गरिरहेका छन् ।
आन्दोलनको तयारीमा रहेकाहरू सबैको एकैखाले माग छैन । उनीहरूमध्ये बहुसङ्ख्यक सङ्गठनले नेपाललाई हिन्दूराष्ट्र कायम गरिनुपर्ने र यो कुरा संविधानमै लेखिनुपर्नेमा जोड दिएका छन् । एकीकृत माओवादी र विभिन्न समयमा एमाओवादीबाट अलग्गिएर बेग्लै पार्टी बनाएका स–साना सङ्गठनबाहेक अधिकांशले नेपाललाई हिन्दूराष्ट्र कायम गरिनुपर्ने माग गरेका छन् । यद्यपि एमाले र काङ्ग्रेसले आधिकारिक रूपमा यसबारे केही नबोले पनि ती दलका बहुसङ्ख्यक नेताहरूले पनि हिन्दूराष्ट्रको पक्षमा वकालत गरेका छन् । हिन्दूवादी सङ्घ–सङ्गठनले एमाओवादीबाहेक अन्य दलका नेताहरूले आफ्ना मागप्रति समर्थन रहेको दाबी गरेका छन् । त्यसो त काङ्ग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्का, लक्ष्मण घिमिरेलगायतले नेपाललाई हिन्दूराष्ट्र कायम गरिनुपर्ने भन्दै अभियान नै सञ्चालन गरेका छन् । त्यस्तै एमाले, राप्रपा, नेकपा मालेलगायत अन्य दलका नेताहरूले पनि खुमबहादुर खड्काको अभियानलाई समर्थन गरेका छन् । उनीहरू संविधानसभाबाट जारी हुने संविधानमा नेपाललाई हिन्दूराष्ट्र घोषणा नगरे प्रस्तुत संविधानको विरोधमा उत्रने तयारीमा छन् ।
नेपाललाई हिन्दूराष्ट्र कायम गरिनुपर्ने र संवैधानिक राजतन्त्रको वकालत गर्दै आएको राप्रपा नेपाल संविधानमै हिन्दूराष्ट्र कायम गर्नुपर्ने भन्दै साउन अन्तिम साताबाट राजधानीकेन्द्रित आन्दोलन गर्ने तयारी गरिरहेको छ । राप्रपा नेपालले पनि संविधानमा आफ्ना माग सम्बोधन नभए जलाउने भन्दै आफ्ना कार्यकर्तालाई उर्दी नै जारी गरेको छ । ‘नेपाललाई हिन्दूराष्ट्र कायम गरिनुपर्छ र यो कुरा संविधानमै लेखाउनका लागि हामी साउन अन्तिम साताबाट राजधानीकेन्द्रित आन्दोलनमा उत्रन्छौँ,’ राप्रपा नेपालका वरिष्ठ सहमहामन्त्री राजाराम श्रेष्ठले भने, ‘९५ प्रतिशत जनता ओमकार परिवारभित्र रहेको देशको संविधानमा हिन्दूराष्ट्र उल्लेख भएन भने उनीहरू स्वतः आन्दोलनमा आउनेछन् ।’ हामीले मात्र होइन, अन्य पार्टीका वरिष्ठ नेताहरूसमेत सनातन धर्मसापेक्ष हिन्दूराष्ट्र कायम गर्नुपर्ने भनिरहेको भन्दै त्यसलाई अटेर गरेर अघि बढे संविधानले देश चलाउँदैन, जलाउँछ– श्रेष्ठले भने ।
यसैगरी हिन्दू स्वमय्सेवी सङ्घका वरिष्ठ नेता मुरली निरौलाले पनि संविधानमै हिन्दूराष्ट्र कायम नगरी जारी गरेको संविधान मान्य नहुने र त्यो तत्कालै जल्ने बताए । ‘संविधानमा नेपाललाई हिन्दूराष्ट्र कायम नगरे कसरी अघि बढ्ने भन्ने फैसला हामीले होइन जनताले नै गर्छन्,’ उनले भने, ‘अहिले सार्वजनिक गरेको मस्यौदाकै आधारमा संविधान जारी गरे हामीलाई मात्र होइन, त्यो कसैलाई पनि मान्य हुँदैन ।’
विश्व हिन्दू महासङ्घ, विश्व हिन्दू परिषद्, प्राज्ञिक विद्यार्थी परिषद्, पशुपति शिक्षा प्रसार समिति, राष्ट्रिय सेविका समिति, राष्ट्रिय श्रमिक सङ्घ, जनकल्याण प्रतिष्ठान नेपाल, जनजाति कल्याण आश्रमलगायत दुई दर्जनभन्दा बढी सङ्गठन र दलका नेतहरूले संविधानमै नेपाललाई हिन्दूराष्ट्र कायम गरिनुपर्ने माग गर्दै आएका छन् । उनीहरूले संविधानमा आफ्ना माग सम्बोधन नगरी जारी गरिएको संविधान नमान्ने र जलाउने चेतावनी दिँदै आएका छन् ।
सङ्घीय समाजवादी फोरम नेपालले पनि संविधानसभाबाट जारी हुने संविधानले आफ्ना माग सम्बोधन नगर्ने भन्दै अन्दोलनको तयारी थालेको छ । उसले संविधानसभा भवनमै संविधानको मस्यौदा च्यातेको थियो । संविधानले आदिवासी, जनजाति, अल्पसङ्ख्यकलगायत कसैको मागलाई सम्बोधन नगरेको र चार दलको सिन्डिकेटबाट जारी हुन लागेको भन्दै आन्दोलनको तयारी गरेको हो । आन्दोलनका लागि अन्य जातीय मोर्चा र आन्दोलनमा रहेका विभिन्न घटकहरूसँग छलफल गरिरहेको छ । ‘संविधानको मस्यौदा हेर्दा त्यसले हाम्रो अधिकार रक्षा गर्दैन, त्यसैले हामी विरोधमा उभिएका हौँ,’ समाजवादी फोरमका केन्द्रीय सदस्य अजम्बर राई काङमाङले भने, ‘हाम्रा मागलाई सम्बोधन नगरी संविधान जारी हुन्छ भने त्यो संविधान जारी भएलगत्तै जल्छ ।’
त्यस्तै लिम्बुवानका कुमार लिङ्देन, खुम्बुवानका रामकुमार खम्बु, आदिवासी जनजाति राष्ट्रिय आन्दोलन, जनजाति महासङ्घ, नेपाल तामाङ घेदुङ सङ्घलगायतले पनि संविधानमा आफ्ना माग सम्बोधन नभए संविधानसभाबाट जारी हुने संविधान मान्य नहुने र त्यो जल्ने बताइसकेका छन् । यी सङ्गठनहरूले पहिचानसहितको जातीय राज्य माग गर्दै आएका छन् ।
एकीकृत माओवादीबाट अलग्गिएर बेग्लै पार्टी बनेको मोहन वैद्य नेतृत्वको माओवादीले पनि संविधानसभाबाट जारी हुने संविधान मान्य नहुने स्पष्ट पारिसकेको छ । संविधानको मस्यौदा जलाएर आन्दोलनको सुरुवात गरेको सो पार्टीले संविधानसभाबाट जारी हुने संविधान पनि जलाउने निर्णय नै गरिसकेको छ । सो पार्टीका प्रवक्ता पम्फा भुसालले भनिन्, ‘हामी संविधानसभाबाट जारी हुने संविधान मान्दैनौँ, संविधान जारी भएलत्तै जलाउँछौँ ।’ भुसालका अनुसार मणि थापाको क्रान्तिकारी कम्युनिस्ट पार्टी, मातृका यादवको नेकपा माओवादी र परि थापाको पार्टीले पनि संविधानसभाबाट जारी हुने संविधान जलाउनेछन् । त्यसैगरी ३० दलीय मोर्चामा रहेका अन्य साना दलले पनि संविधानसभाबाट जारी हुने संविधान जलाउने चेतावनी दिएका छन् ।
यता मधेसकेन्द्रित दलहरूले पनि समग्र मधेसलाई एक प्रदेश बनाउनुपर्ने भन्दै आन्दोलनमा उत्रिरहेका छन् । उनीहरूले पनि सङ्घीयतासहितको संविधानको माग गर्दै संविधानमै समग्र मधेसलाई एक प्रदेश नबनाए संविधानसभाबाट जारी हुने संविधान मान्य नहुने चेतावनी दिँदै आएका छन् । मधेसकेन्द्रित दल फोरम गणतान्त्रिक, फोरम नेपाल, सद्भावना पार्टी, तराई मधेस सद्भावना पार्टी, सङ्घीय सद्भावना पार्टीले संविधानको मस्यौदाको विरोध गर्दै मस्यौदामा उल्लेख गरेका कुरालाई नसच्याई जस्ताको तस्तै गरे त्यो संविधान जलाउने बताएका छन् । उनीहरू पनि आन्दोलनको तयारीमा छन् । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भने, ‘संविधानको मस्यौदा हेर्दा त्यसले हाम्रो अधिकार सुनिश्चित गर्र्दैन, हाम्रो मागलाई सम्बोधन नगरी जारी गरे संविधान जल्छ, मधेसका जनताले त्यसलाई स्वीकार गर्दैनन् ।’

गुण्डा नाइकेहरूले फेरे असुल्ने तरिका
विभिन्न व्यापारिक कम्पनी तथा व्यक्तिहरूसँग हप्ता असुली गर्ने ‘डन’हरूले पछिल्लो समयमा पार्टी र भूकम्पपीडितलाई सहयोग गर्ने नाममा रकम असुल्न थालेको समाचार प्राप्त भएको छ । ‘पार्टीको निर्णयअनुसार तपाईंले हामीलाई यति सहयोग गर्नुप-यो, तपार्इंले गरेको सहयोग रकम पार्टी कमिटीमार्फत भूकम्पपीडितसमक्ष पु-याउँछौँ’ भन्दै राजधानीमा आपराधिक घटनामा संलग्न रहँदै आएका ‘डन’हरू नयाँ तरिकाबाट हप्ता असुलीमा लागेका छन् ।
महानगरीय प्रहरी परिसरका अनुसार कुनै न कुनै आपराधिक घटनामा सक्रिय रहेका व्यक्तिहरू अहिले सामाजिक कार्यका नाममा हप्ता असुलीमा लागिरहेकाछन् । परिसरका एक प्रहरी निरीक्षकले भने, ‘विभिन्न राजनीतिक दलका सदस्य बनेका आपराधिक घटनामा संलग्न व्यक्तिहरू पार्टी र भूकम्पपीडितका नाममा आर्थिक सङ्कलनमा समेत संलग्न भएको सूचना प्राप्त भएको छ, त्यसैको आधारमा हामी छानबिन गरिरहेका छौँ ।’
परिसर स्रोतका अनुसार भूकम्पपीडित तथा पार्टीलाई सहयोग गर्ने नाममा एमाले, काङ्ग्रेस र एकीकृत माओवादीनिकट ‘डन’ सक्रिय बनेका छन् । प्रहरीले उनीहरूको विवरण सङ्कलन गर्ने कार्य गरिरहेको छ । ‘पैसा उठाउन पार्टीले नै खटाएको हो वा उनीहरू आफँै सक्रिय भएका हुन् त्यसबारेमा छानबिन भइरहेको छ,’ परिसरका अपराध अनुसन्धान महाशाखाका प्रहरी अधिकृतले भने, ‘राजधानीमा सक्रिय रहेका डनहरूको कनेक्सन ठूला पार्टीका ठूला नेताहरूसँग रहेकोले उनीहरूको छानबिन गर्न निकै कठिन भएको छ ।’ ती अधिकृतले थपे, ‘हामीले प्रमाणसहित नियन्त्रणमा लिए पनि कार्यालयमा हाजिर गराउन नपाउँदै छाड्नुपर्ने हुन्छ, त्यसैले हामी असफल भएका छौँ ।’
महानगरीय प्रहरी परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक उत्तमबहादुर कार्कीले आपराधिक घटनामा संलग्न भएका व्यक्तिहरूले भित्रभित्रै आफ्नो गतिविधिलाई सक्रिय बनाएको बताए । उनीहरूले बाहिर देखिनेगरी कुनै आपराधिक घटना गराएको देखिँदैन, तर भित्रभित्रै उनीहरू आफ्नो धन्दामा सक्रिय रहेको देखिन्छ ।’ उद्योगी–व्यापारीहरूलाई दुःख दिने गरे पनि त्यसबारे सम्बन्धित निकायले उजुरी नदिँदा समाउन कठिन भएको भन्दै कार्कीले भने, ‘उनीहरूको गतिविधिबारे हामीले अनौपचारिक जानकारी पाए पनि उजुरी पर्दैन, त्यसैले सजिलै उम्कन सफल भएको देखिन्छ ।’
दल र प्रभावशाली व्यक्तिको संरक्षण नपाएका गुन्डा राजधानीमा छैनन् । उनीहरू रात्रिकालीन व्यवसायको आवरणमा असुली गर्ने, राजनीतिक प्रभावको आधारमा ठेक्कापट्टा लिने, व्यवसायीलाई धम्क्याएर रकम असुली गर्नेलगायतका गतिविधिमा सक्रिय रहने गरेका छन् । प्रहरीले जबर्जस्ती रकम असुली, गुन्डागर्दी, अपहरणलगायतका गतिविधिमा सक्रिय रहेकालाई संरक्षण दिने व्यक्ति र दलका नेताको सूची बनाएको छ । तर, उनीहरूलाई कारबाही गर्न सकेको छैन । प्रहरी स्रोतका अनुसार राजधानीमा सक्रिय रहेकामध्ये ९५ प्रतिशत गुन्डा कहिल्यै नसुध्रने र उनीहरूलाई सधैँ राजनीतिक संरक्षण रहने देखिन्छ ।
गत वर्षको साउनमा ‘डन’को रूपमा परिचय बनाएको चर्चित गुन्डा नाइके दिनेश अधिकारी ‘चरी’ प्रहरी ‘इन्काउन्टर’मा मारिएपछि राजधानीमा अन्य गुन्डा नाइके ‘डन’को गतिविधि केही समय शून्यजस्तै बनेको थियो । तर, भूकम्प गएपछि उनीहरूको गतिविधि फेरि सक्रिय बनेको हो । प्रहरी स्रोतका अनुसार राजधानीमा सक्रिय रहेका गुन्डा नाइकेहरू कुनै न कुनै नेताको संरक्षणमा रहेका छन् । स्रोतका अनुसार तिनै नेताहरूकै सुझावअनुसार उनीहरूले आफ्नो धन्दालाई परिवर्तन गरेका हुन् ।
आपराधिक गतिविधिको नेतृत्व गर्दै आएका ‘डन’ गणेश लामा आफ्ना सहयोगी परिचालन गरेर नयाँ तरिकाबाट हप्ता असुली गरिरहेका छन् । लामाले राजधानीबाट प्रकाशित हुने एक दैनिक पत्रिकामा लगानीसमेत गरेका छन् । उनी फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य पनि हुन् । उनीविरुद्ध प्रहरीमा दर्जनौँ उजुरीसमेत परेको छ । एमाले नेता प्रदीप नेपालनिकट मिलन गुरुङ उर्फ ‘चक्रे मिलन’ले पनि राजधानीमा आफ्नो आपराधिक गतिविधिलाई तीव्रता दिँदै लगेको प्रहरीको भनाइ छ । राजधानीको चक्रपथ, चाबहिल क्षेत्रलाई आधार बनाएर गुन्डागर्दी गर्दै आएका चक्रेले ‘मिलन फाउन्डेसन’ मार्फत रकम असुली गरिरहेका छन् । उनले आफ्नो फाउन्डेसनले ‘सामाजिक काम’ गर्ने भन्दै पैसा असुलिरहेका छन् । यसबारे प्रहरीलाई राम्रो जानकारी भए पनि कुनै कारबाही गर्न सकेको छैन ।
त्यस्तै काङ्ग्रेस नेता अर्जुननरसिंह केसी तथा गगन थापानिकट रहेका कुमार घैँटेले पनि भूकम्पपीडितका लागि भन्दै रकम उठाइरहेका छन् । आफ्नो आपराधिक कार्यलाई तीव्रता दिएका छन् । त्यस्तै एमालेका नेताहरूनिकट सुजन पौडेल ‘बाहुन डन’ले पार्टीका नाममा व्यापारीहरूसँग रकम असुली गर्ने गरेका छन् । उनी केन्द्रीय कारागारमा बन्दीजीवन बिताइरहे पनि आफ्ना कार्यकर्तामार्फत रकम असुलिरहेका छन् । विराटनगर क्षेत्रलाई आधार बनाएर आपराधिक गतिविधि गर्दै आएका एमालेनिकट डन पर्शुराम बस्नेत, काठमाडौंलाई केन्द्र बनाएका दीपक मनाङेलगायतका व्यक्तिहरू पनि यतिबेला सामाजिक कार्यका लागि भन्दै नगद उठाउन राजधानीमा सक्रिय रहेका छन् ।

सालोलाई प्रमुख बनाउन भिनाजुको रोचक सक्रियता
पुनर्निर्माण प्राधिकरणको कार्यकारी प्रमुखमा आफूले चाहेको व्यक्ति नियुक्त गर्न प्रधानमन्त्री सुशील कोइरालालाई एमाले अध्यक्ष केपी ओलीले रोक लगाउनुभएको समाचार प्राप्त भएको छ । प्रधानमन्त्रीनिवास सूत्रका अनुसार दिवाकार गौतम नामक प्यूठानतिरका आफ्ना सेवकले सालो डा. गोविन्द पोखरेललाई प्राधिकरणको कार्यकारी प्रमुख नबनाए आत्महत्या गर्ने चेतावनी दिएपछि सुशील कोइराला योजना आयोगमा उपाध्यक्ष रहेका पोखरेललाई प्राधिकरणको कार्यकारी प्रमुख बनाउन ‘सहमत’ हुनुभएको हो । ज्ञातव्य छ, यसअघि पोखरेललाई योजना आयोगको उपाध्यक्ष नियुक्त गराउन पनि यिनै सेवक दिवाकरले मुख्य भूमिका निर्वाह गरेका थिए । पहिले प्यूठान काङ्गे्रसमा सक्रिय रहेका दिवाकर गौतमलाई संसदीय निर्वाचनमा सुशील कोइरालाले ‘टिकट’ पनि दिलाउनुभएको थियो । ०५६ सालको निर्वाचनमा नराम्रो पराजय भोगेपछि गौतम जनताको सेवा छोडेर सुशीलको सेवामा लाग्दै आएका छन् । यिनै गौतमले २०६३ सालमा आफ्नो साला गोविन्द पोखरेललाई एमाले छोडाएर काङ्गे्रस प्रवेश गराएका थिए । गौतमको निकटवर्ती सूत्रले जनाएअनुसार त्यसबेला उनले सालो गोविन्दलाई भनेका थिए, ‘सुशील कोइरालालाई मैले जे भन्यो त्यही मान्ने अवस्थामा पु-याएको छु । अब लोकतन्त्र आएको छ, तिमी एमालेमै बसिरह्यौ भने उच्च पदमा पु-याउन गाह्रो हुन्छ, काङ्गे्रस प्रवेश गर, म कहाँ पु-याइदिन्छु हेर ।’ नभन्दै सुशील प्रधानमन्त्री बनेपछि सेवक दिवाकरले साला गोविन्दलाई राष्ट्रिय योजना आयोगको उपाध्यक्ष मात्र बनाइदिएनन्, पुनर्निर्माण प्राधिकरणको कार्यकारी प्रमुखका निम्ति सर्वाधिक बलियो उम्मेदवारसमेत बनाइदिएका छन् । प्रधानमन्त्री कोइरालालाई पूर्वजनरल बालानन्द शर्मालाई कार्यकारी प्रमुख बनाउन उपयुक्त हुने सुझाव पनि काङ्गे्रसकै कतिपय नेताहरूले दिएका छन् । तर, आनन्द ढुङ्गाना, दिलबहादुर घर्ती, दिलेन्द्र बडूलगायतले समेत गोविन्द पोखरेललाई नै बनाउनुपर्छ भनी दबाब दिएपछि कोइराला थप सकसमा पर्नुभएको बताइन्छ । प्यूठानबाट निर्वाचित (गृहमन्त्री) वामदेव गौतमले पनि आफ्ना पूर्वकार्यकर्तासमेत रहेका पोखरेललाई नियुक्त गर्न प्रधानमन्त्रीलाई दबाब दिएका छन् । यीबाहेक देशी–विदेशी शक्तिकेन्द्रहरूले पनि गोविन्द पोखरेललाई नै प्राधिकरण प्रमुख बनाउन कसरत गरिरहेको विभिन्न सूत्रबाट बुझिएको छ । त्यसैले प्राधिकरणको कार्यकारी प्रमुखमा पोखरेलको नियुक्ति हुनसक्ने सम्भावना सर्वाधिक रहेको छ । केपी ओलीलाई मनाउन समय लागेकोले मात्र उनको नियुक्तिमा ढिलाइ भइरहेको बताइन्छ । ओलीले नमाने पनि वामदेव गौतम र सुशील कोइरालाले मन्त्रिमण्डलको आगामी कुनै पनि बैठकबाट यससम्बन्धी निर्णय गर्ने तयारी गर्नुभएको बुझिएको छ ।
कार्यकारी प्रमुखमा बालानन्द शर्मा, लीलामणि पौडेल, डा. तिलक रावल र माधव घिमिरेको नाम पनि छलफलमा आएको छ । घिमिरेलाई एमाले वृत्तले चाहेको र उनले उक्त पदमा नियुक्त हुन अनेकौँ कसरत गरिरहेका छन् । तर, कुनै आकस्मिक अड्चन आएन भने दिवाकर गौतम आफ्नो सालो गोविन्द पोखरेललाई प्राधिकरण प्रमुख बनाउन सफल हुने देखिएको छ ।

राजस्व छल्न पनि ठेक्का !
प्रतिमहिना बाह्र हजार लाखसम्मको राजस्व क्षति
भूकम्पपछि देशको ध्यान अन्यत्र मोडिएको मौका पारेर केही व्यापारी तथा भन्सार कार्यालयका कर्मचारीले सुरु गरेको ‘कमाउ धन्दा’ अझै जारी रहेको पाइएको छ । भूकम्पपश्चात् प्रधानमन्त्री र अर्थमन्त्री राहत तथा बास व्यवस्थापनतर्फ केन्द्रित रहेपछि व्यापारी र केही भन्सार कार्यालयसम्बद्ध कर्मचारीहरू योजनाबद्ध रूपमा ‘राजस्व मार्न’ लागिपरेका हुन् । यस कार्यमा हिमालय सीमापारका पूर्वअध्यक्ष एवम् नेपाल चेम्बर अफ कमर्सका नीलकण्ठ चौलागाईंको समूह, सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष राजेन्द्र श्रेष्ठको समूह र मोहनबहादुर बस्नेतको समेत साझेदारी रहेको राजकुमार बस्नेत तथा तेजबहादुर श्रेष्ठलगायतको समूह विशेष रूपमा सहभागी रहेको पाइएको छ । उनीहरूले चीनका विभिन्न सहरबाट व्यापारीहरूको सामान ढुवानी गरी भन्सार पार गराउने र त्यसबापत मोटो कमिसन असुल्ने गर्दै आएका छन् । यी गिरोहका नाइकेहरूले वीरगन्ज, तातोपानी, मेची, विराटनगर, भैरहवा, वीरगन्ज, ड्राइपोर्ट, राजस्व अनुसन्धान विभाग र भन्सार विभागका प्रमुखहरूलाई आर्थिक प्रलोभनमा पारी अत्यन्त न्यून भन्सार तिरेर सामान नेपाल भित्याउने व्यवस्था मिलाएका छन् । ढुवानीका नाममा राजस्व छल्ने ठेक्का लिनेहरूले राजस्व अनुसन्धान विभागलाई प्रतिकन्टेनर रु. बीस हजार, पथलैयास्थित राजस्व अनुसन्धान विभागलाई प्रतिकन्टेनर रु. बीस हजार तथा सम्बन्धित भन्सार कार्यालयलाई प्रतिकन्टेनर रु. दुई लाख घुस बुझाएर न्यून भन्सार शुल्क तिरी सामान भित्याउने काम गर्दै आएका छन् । यिनीहरूले आयात गरिएको सामानको गुणस्तर, परिमाण र घोषणा फरक पारी नक्कली कागजात तयार गर्ने र प्रतिकन्टेनर बीस लाखका दरले राजस्व छल्ने काम गर्दै आएका छन् । चीनबाट प्रतिमहिना करिब तीन सय कन्टेनर सामान विभिन्न भन्सार नाका हुँदै नेपाल भित्रिने गर्दछ । तर, ठीक यतिबेला भने ६ सय कन्टेनर नेपाल भित्रिनका निम्ति बाटैमा रहेका छन् । प्रतिमिहना ६ हजार लाख रुपैयाँको राजस्व नोक्सानी व्यहोर्दै आएको नेपालले अब यो महिनामा बाह्र हजार लाखको राजस्व क्षति व्यहोर्नुपर्ने सम्भावना छ ।
प्राप्त जानकारीअनुसार विगतमा तातोपानी भन्सार नाकाबाट चीनमा उत्पादित तयारी सामग्री तथा कच्चापदार्थ आयातको नाममा तस्करी गर्दै आएका गिरोहले भूकम्पपश्चात् आफ्नो धन्दा ‘मोडिफाई’ गरेका हुन् । उनीहरू चीनको ग्वाङ्झाउ, ईयूलगायतका सहरमा पुगी व्यापारीहरूले नेपाल आयात गर्न लागेका सामानको काठमाडौंलगायत देशका विभिन्न स्थानमा ‘डेलिभरी’ दिने र त्यसबापत कमिशन बुझ्ने धन्दामा छन् । यी गिरोहलाई वीरगन्जलगायतको भन्सारका प्रमुखहरूले आर्थिक लाभ लिएर सहयोग पु-याउँदै आएका छन् । व्यापारीहरूले रेडिमेड गार्मेन्ट, जुत्ता–चप्पल, कस्मेटिक्स, इलेक्ट्रिक्स एवम् इलेक्ट्रोनिक्सलगायत घरेलु प्रयोगका सामग्रीहरू नेपालमा आयात गर्ने गरेका छन् । यसरी आयात गरिने सामग्रीमध्ये जिन्स पाइन्टचाहिँ नेपालबाट भारततर्फ तस्करी हुने गरेको छ । भूकम्प गएयता त्रिभुवन विमानस्थल भन्सार कार्यालय भएर अत्यन्त न्यून विजकीकरणमा समान आयात भइरहनुको कारणबारे सम्बन्धित निकायले खोजबिन नगर्नु आश्यर्चको विषय छ ।
नेपालका व्यापारीहरूले हुन्डीमार्फत चीनमा पैसा पठाउने, ग्वाङ्झाउलगायतका सहरका ठूला पसल र फ्याक्ट्रीका काउन्टरहरूबाट सामान खरिद गर्ने र ती सामान राजस्व छल्दै नेपालको काठमाडौंलगायत विभिन्न सहरमा ‘डेलिभरी’ दिन नीलकण्ठ चौलागाईंलगायतको गिरोहलाई ठेक्का दिने गर्दछन्, गर्दै आएका छन् । राजस्व मार्ने यस्तो धन्दा समाचारमा उल्लिखित तीन गिरोहबाहेक तरुण खेम्का, विष्णु श्रेष्ठलगायतका व्यक्ति पनि संलग्न रहेका छन् । भन्सार कर्मचारीतर्फ ‘को–अर्डिनेसन’ गर्नेमा गोविन्द थापा नामक व्यक्तिको नाम विशेष रूपमा लिने गरिन्छ ।
यसरी व्यापारको नाममा तस्करी र अर्बौंको राजस्व छल्ने धन्दा हुँदा पनि भन्सार विभाग, राजस्व अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दृष्टि नपुग्नु दुःखको विषय बनेको छ ।

सुस्ताए वैद्य
जस्तोसुकै विरोधका कार्यक्रम गरे पनि संविधानसभाबाट संविधान जारी भएरै छाड्ने निचोडमा पुगेको नेकपा–माओवादी यतिबेला सुस्ताएको छ । सरकार र संविधानसभाको विरोधमा आन्दोलनका कार्यक्रम गर्दै आएको माओवादीले आफ्नो आन्दोलनमा कार्यकर्ताकै सहभागिता नभएपछि सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगित गरी पार्टीको आन्तरिक काममा जुटेको छ । उनीहरू संविधान जारी भएपछि पार्टीको राणनीति के हुने, कसरी अघि बढ्ने, संविधान जारी गरेपछि हुने–गरिने निर्वाचनमा पार्टीको धारणालगायतका विषयमा आन्तरिक छलफल गरिरहेका छन् ।
‘अहिले हाम्रो कुनै कार्यक्रम छैन, आन्तरिक कार्यक्रममै छौँ,’ पार्टीका स्थायी समिति सदस्य नारायण शर्मा पौडेलले भने, ‘आगामी दिनमा कसरी अघि बढ्ने भन्नेमा पार्टीभित्र छलफल भइरहेको छ ।’ ‘अब संविधानसभाबाट संविधान जारी भएपछि पार्टीले गर्ने कार्यक्रममा हामी केन्द्रित भएका छौँ,’ उनले भने, ‘बर्खाको समय भएकाले पनि पार्टीले कुनै सार्वजनिक कार्यक्रम नराखेको हो, त्यसैले अहिले पार्टी सुस्ताएकोजस्तो देखिएको छ, तर यो सुस्ताएको होइन, आन्तरिक तयारीमा जुटेको हो ।’
पार्टी प्रवक्ता पम्फा भुसालले पनि अहिले पार्टीको केही कार्यक्रम नरहेको बताइन् । ‘हामीले संविधानको मस्यौदाको विरोध गरेका छौँ, जलाएका छौँ,’ उनले भनिन्, ‘त्यसबाहेक अन्य कुनै कार्यक्रम राखिएको छैन ।’ उनले आगामी १६ साउनमा चितवनमा जनताको संविधान कस्तो हुनुपर्छ भन्ने विषयमा अन्तरक्रिया कार्यक्रम राखिएको र पार्टीको ध्यान त्यतै केन्द्रित भएको बताइन् ।
यता, नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेकपा माओवादी पनि आन्तरिक कार्यक्रममा व्यस्त रहेको छ । चीन र भारतबीच भएको लिपुलेक सम्झौता र संविधानसभाले जारी गरेको संविधानको मस्यौदाको विरोध गर्दै एकदिने नेपाल बन्द गरेको पार्टीले आफ्नो विरोध कार्यक्रम सफल भएको भन्दै नयाँ कार्यक्रमको तयारीमा जुटेको छ । तर, कस्तो कार्यक्रम गर्ने भन्ने विषयमा टुङ्गोमा पुगिसकेको छैन । पार्टीका एक केन्द्रीय नेताले भने, ‘हामी आन्तरिक तयारीमा छौँ, छिट्टै आन्दोलनका कार्यक्रम सार्वजनिक गरी सङ्घर्षमा उत्रन्छौँ ।’ नेपाल बन्द सफल भएकाले आन्दोलनका कार्यक्रम तय गर्ने हौसला मिलेको भन्दै ती नेताले भने, ‘अब हामी राजधानीकेन्द्रित आन्दोलन गर्नेछौँ, त्यो पूर्णरूपमा कसरी सफल बनाउने भन्नेमा केन्द्रित हुनेछ ।’

‘खुट्टा भाँचिन्छ’
नेकपा माओवादीका केन्द्रीय सदस्यसमेत रहेका इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष ईश्वरचन्द्र ज्ञवालीमाथि भ्रष्टाचार गरेको आरोप लागेको छ । अध्यक्ष ज्ञवालीलाई सहिद कृष्ण सेन इच्छुकको नाममा सरकारी खर्चमै बन्न लागेको इच्छुक प्रतिष्ठानको भवन निर्माणका नाममा आर्थिक अनियमितता गरेको आरोप लागेको हो । कार्यालयकै एक कर्मचारीले दिएको जानकारीअनुसार ज्ञवालीले कागजी प्रतिस्पर्धाका अधारमा आफन्त पर्ने महेश थापाको दिवा निर्माण सेवा कम्पनीलाई भवन निर्माण गर्ने ठेक्का दिलाएको र त्यसरी ठेक्का दिलाएबापत ९० लाख रकम हात पारेका थिए । साथै अध्यक्ष ज्ञवालीले कमसल सामान राखेर भवन निर्माण गर्न लगाई त्यसबाट पनि कमिसन बुझेको, किन्दै नकिनेको सामान किनेको भनी फर्जी बिल बनाएर प्रतिष्ठानको नाममा घोटाला गरेको, प्रतिष्ठानमा काम गर्ने इन्जिनियरद्वय नरेश श्रेष्ठ र नीरज केसीलाई काममा लगाई पारिश्रमिक नदिएर सेवाबाट निकालेको, सामान खरिद गर्दा भ्याट नतिरेकोलगायतका आरोप लगाइएको छ ।
तर, अध्यक्ष ज्ञवालीले भने आफूमाथि लगाइएको आरोपमा कुनै तुक नभएको जिकिर गरे । ‘आफ्नो प्रगतिप्रति इष्र्या गर्नेहरूले अनावश्यक आरोप लगाउँदै मिडियाबाजी गर्दै हिँडेका छन्,’ ज्ञवालीले भने, ‘प्रतिष्ठानमै रहेका केही गद्दार जासुसहरूले खान नपाएर आरोप लगाएका हुन्, त्यस्ताको खुट्टा भाँच्नुपर्नेछ, वास्तविकता छानबिन गरेर त्यस्ताको खुट्टा भाँचिन्छ ।’ ‘हामी खाइनखाई प्रतिष्ठानका लागि काम गरिरहेका छौँ, सबै काम पारदर्शी ढङ्गबाट भएका छन्, सरकारी टोलीले अनुगमन गरिरहेको छ, कोलेनिकाले सबै हिसाब हेरिरहेको छ,’ उनले भने, ‘यस्तो अवस्थामा कसरी अनियमितता हुन सक्छ, यी सबै वाहियात कुरा हुन् ।’ ऋषिराज बराल, अशोक सुवेदीलगायतका केही व्यक्ति आफूविरुद्ध लागेको र उनीहरूले प्रतिष्ठानको कार्यसमितिमा रहेका केही मानिसको सहयोग लिएको पाइएकोले उनीहरूका बारेमा आन्तरिक अनुसन्धान गरिरहेको प्रतिक्रिया अध्यक्ष ज्ञवालीले घटना र विचारलाई दिए ।

तटबन्ध निर्माण्ँमा मित्रराष्ट्रको थप सहयोग
नेपालका तीन नदी बागमती, लालबकैया र कमला नदीमा तटबन्ध निर्माण्ँ गर्न भारत सरकारले ३८ करोड ६२ लाख ६ हजार थप सहयोग उपलब्ध गराएको छ । तटबन्ध निर्माण्ँको बाँकी काम सम्पन्न गर्न खर्च गरिने उक्त रकमको चेक मंगलबार सिँचाइ मन्त्रालयमा आयोजित एक समारोहमा नेपालका लागि भारतीय राजदूत रनजित रायले सिँचाइमन्त्री एनपी साउदलाई हस्तान्तरण्ँ गर्नुभयो ।
नेपाल–भारत डुबान तथा बढी नियन्त्रण्ँ व्यवस्थापन संयुक्त समितिको नवौँ बैठकको निणर््ँयअनुसार भारतले नेपाल सरकारलाई उक्त रकम उपलब्ध गराएको बुझिएको छ । पश्चिम राप्ती, मोहना, दोदा र लखनदेहीमा तटबन्ध निर्माण्ँमा सहयोग गर्ने इच्छा व्यक्त गरेको मित्रराष्ट्र भारतले यसअघि बागमती, लालबकैया र कमला नदीमा तटबन्ध निर्माण्ँका लागि तीन अर्ब ४६ करोड ५४ लाख उपलब्ध गराइसकेको छ । उक्त रकमबाट बागमती नदीमा ४० किलोमिटर, लालबकैया नदीमा ६१ किलोमिटर र कमला नदीमा ६८ किलोमिटर तटबन्ध निर्माण्ँ भइसकेको सिँचाइ मन्त्रालयको भनाइ छ ।

मानव बेचविखनविरुद्ध सञ्चारकर्मीलाई अभिमुखीकरण
मानव बेचखिनविरुद्ध सुरक्षित वैदेशिक रोजगारका लागि सञ्चारमाध्यम र सञ्चारकर्मी विषयक एकदिवसीय अभिमुखीकरण कार्यक्रम दोलखाको चरिकोटमा सम्पन्न भएको छ । दोलखा जिल्लालाई कार्यथलो बनाएर कार्यरत रहेका सञ्चारकर्मीलाई मानव बेचविखनविरुद्ध र सुरक्षित वैदेशिक रोजगारबारे अभिमुखीकरण गर्ने उद्देश्यले ‘पौरखी नेपाल’ले सो कार्यक्रम आयोजना गरेको हो । नेपाल पत्रकार महासङ्घका दोलखा जिल्ला सभापति उद्धव पोखरेललाई अतिथि तुल्याइएको अभिमुखीकरण कार्यक्रमको कार्यक्रमको अध्यक्षता पौरखी नेपालकी अध्यक्ष मञ्जु गुरुङले गरेकी थिइन् ।
कार्यक्रममा सहजकर्ताका रूपमा पत्रकार कुमार यात्रुले नेपालमा सुरक्षित वैदेशिक रोजगार र मानबविखनको अन्तरसम्बन्ध तथा सञ्चारमाध्यम तथा सञ्चारकर्मीको भूमिकाका सम्बन्धमा आफनो प्रस्तुति दिएका थिए । उनले सही र सत्य समाचारले मानिसको ज्यान, सम्पत्ति र भविष्य सुरक्षित हुन सक्ने सम्भावना रहे पनि असत्य समाचार त्यत्तिकै खतरनाक हुने बताए । सुरक्षित वैदेशिक रोजगारका आधारभूत विषयमा सञ्चारकर्मीलाई जानकारी भएन भने यस विषयमा समाचार लेख्न कठिनाइ हुने स्मरण गर्दै सञ्चारकर्मीले यस विषयलाई संवेदनशील भएर ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

माछा मार्न गएका युवा गोहीको सिकार
राप्ती नदीमा माछा मार्न गएका चितवन रत्ननगर जनकौलीका एक युवाको गोहीको आक्रमणबाट मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार रत्ननगरको सौराहास्थित हात्तीसारनजिकै राप्ती नदी गएका स्थानीय मिथुन चौधरीको गोहीको आक्रमणबाट ज्यान गएको हो । आफ्ना दुई साथीसहित भई गत शुक्रबार साँझ चौधरी राप्तीमा मार्न थालेका बेला अचानक गोहीले आक्रमण गरेको थियो । मिथुनलाई गोहीले आक्रमण गरेपछि अन्य दुईले भागेर ज्यान जोगाएका थिए । भागेर गाउँ पुगेका युवाले जानकारी गराएपछि खोजी गर्दै जाँदा निकुञ्जको जङ्गलनजिकै गोहीले खाइरहेको अवस्थामा चौधरीको शव फेला पारिएको थियो ।

यस्ता छन् बच्चाको बलि दिने अपराधी
परासी/ नवलपरासीको कुडिया गाविसमा अबोध बालकको घाँटी रेटेर हत्या गर्ने अभियुक्तहरूलाई प्रहरीले सार्वजनिक गरेको छ । कुडिया गाविस–४ मर्चाहवा बस्ने शिवशरण कोहारका १० वर्षीय छोरा सोनु भन्ने जीवन कोहारको हत्या गर्ने अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको हो । बालकको हत्या भएको ३ दिनपछि साउन ८ गते जीवनको शव घरदेखि पाँच सय मिटर दक्षिणतर्फ खोलाको किनारमा पटेर घारीमा घाँटी छुट्टिएको अवस्थामा फेलापरेपछि लिखित जाहेरीको आधारमा प्रहरीले हत्याका घाँटी रेट्ने मुख्य अभियुक्त कुडिया–४ बस्ने वर्ष ३५ को कोदई हरिजन, सोखा (झाँक्री) गंगा हरिजन, हत्या गर्ने बेला बच्चाको हात–खुट्टा अठ्याउने कुडिया–४ का ५० वर्षीय रुदल हरिजन, सूर्यभान र १८ वर्षीय विजय हरिजनलाई नियन्त्रणमा लिई कारबाही चलाएको प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायले जानकारी दिनुभएको छ ।
मुख्य अभियुक्त कोदई हरिजनको १८ वर्षीय छोरा विजय हरिजन बेला–बेलामा बिरामी हुने र निको पार्न जीवनको हत्या अन्धविश्वासको आडमा घटाएको प्रारम्भिक अनुसन्धानबाट बुझ्न आएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । बालकको हत्या गराउन कोदईले गंगा हरिजन, रुदल हरिजन र सूर्यभान हरिजनलाई घटना घटाउन अगाडि ५० हजार रुपैयाँ दिइएको प्रहरी अनुसन्धानबाट थाहा लागेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । पत्रकारहरूको माझमा मुख्य अभियुक्त कोदईले आफू अन्धविश्वासको जालमा फसेर बालकको हत्या गरेको स्वीकार गरेका थिए ।
कुडिया गाविसमा हत्याले पूरै गाउँ शोकमग्न भएको छ भने सम्पूर्ण दोषीलाई कडा कारबाहीको माग पनि गरिएको छ । त्यसैगरी जिल्ला प्रहरी कार्यालय नवलपरासीले देव गाउँ–४ स्थित माछापोखरीमा पोखरीको पानी थुन्न क्रिकेट मैदानको माटो झिकी पोखरीको डिल पुर्दा वादविवाद हुँदा भएको झडपमा ६ व्यक्ति सख्त घाइते भई उपचार भइरहेको र १४ आरोपीलाई पक्राउ गरी अनुसन्धान भइरहेको उपरीक्षक उपाध्यायले जानकारी दिनुभयो । सो ठाउँमा कुनै अप्रिय घटना घट्न नदिन व्यापक प्रहरी परिचालन गरिएको बताइएको छ । उपरीक्षक उपाध्यायका अनुसार भारततर्फ फरार भएको आरोपीहरूलाई भारतीय काउन्टर पार्टस्सँग समन्वय गरी खोजी कार्य भइरहेको र थप घटना घट्न नदिन प्रहरी परिचालन गरिएको पत्रकारलाई जानकारी गराइएको छ ।
– आरपी उपाध्याय

रूपन्देहीमा एचआईभी/एड्स कार्यक्रम प्रभावहीन
रूपन्देही/ जिल्ला एड्स समन्वय समिति सक्रिय नहुँदा रूपन्देहीमा एचआईभी/एड्ससम्बन्धी कार्यक्रम प्रभावकारी हुन नसकेको सरोकारवालाले बताएका छन् । एचआईभी/एड्सको क्षेत्रमा काम गर्ने विभिन्न एक दर्जनबढी सङ्घसंस्थाहरूले समन्वय समिति सक्रिय नहुँदा एचआईभी/एड्सको क्षेत्रमा गरिने कामको प्रभावकारितामा कमी आएको बताएका हुन् । समन्वय समिति सक्रिय नहुँदा एड्ससम्बन्धी कार्यक्रमको दिगोपन नहुनु, बजेटको अभाव तथा सङ्क्रमितहरूलाई आत्मनिर्भर तथा जीवनोपयोगी सीपका कार्यक्रममा कमी हुँदै गएको उनीहरूले बताए ।
एचआईभी/एड्सको क्षेत्रमा काम गर्ने नमुना एकीकृत विकास परिषद्का अध्यक्ष ज्ञानु पौडेलले समन्वय समितिको सक्रियता नहुँदा सङ्क्रमितको उपचारमा समस्या, कामको दिगोपनमा ह्रास, समुदायस्तरीय जनचेतनामूलक कार्यक्रमको अभाव सिर्जना हुँदै गएको बताउनुभयो । साकार समूह रूपन्देहीकी अध्यक्ष राधिका पुनले समन्वय समिति सक्रिय नहुँदा कार्यक्षेत्रमा काम गर्न समस्या हुने र बजेटको अभावका कार्यक्रम गर्न समस्या भएको धारणा राख्नुभयो । एचआईभी सङ्क्रमितको सङ्ख्या रूपन्देहीमा एक हजार ६ सय ६२ रहेको छ । अहिलेसम्म जिल्लामा एक सय ३२ जनाले सङ्क्रमित भएकै कारण ज्यान गुमाएका छन् । हाल लुम्बिनी अञ्चल अस्पताल बुटवलबाट एक हजार दुई सय २३ जनाले एआरटी लिइरहेका छन् । जसमा महिला पाँच सय १४, पुरुष ६ सय १८ र तेस्रोलिङ्गी ६ जना रहेको जिल्ला एड्स समन्वय समितिको कथन छ । समन्वय समितिका सदस्य मोती पौडेलले राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले समितिप्रति चासो कम दिँदा समस्या आएको बताउनुभयो । उहाँले नियन्त्रण केन्द्रले पर्याप्त बजेट नदिँदा कार्यक्रम गर्न, समीक्षा चौमासिक बैठक, सुपरभिजन, मनिटरिङ तथा तालिमलगायतका कार्यक्रम गर्न समस्या भएको बताउनुभयो । तर, जिल्लामा विभिन्न सरोकारवाला सङ्घसंस्थामार्फत एड्स कार्यक्रमका लागि दुई करोड ८२ लाखभन्दा बजेट जिल्ला रहेको नमुना एकीकृत विकास परिषद्का अध्यक्ष पौडेलले बताउनुभयो ।
रूपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले जिल्लामा ठूलो बजेट रहे पनि जिल्ला समन्वय गरेर अघि बढ्न नसकेको उल्लेख गर्दै अब समन्वय समितिलाई सक्रिय बनाउने र त्यसका लागि पूर्ण पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । जिल्लाका सबै सरोकारवालाहरूसँग बसेर फन्ड बनाई अघि बढ्ने उहाँको धारणा छ ।
– चन्द्रकान्त खनाल

श्रीराधाकृष्णको झुला महोत्सव सम्पन्न
‘साउनको महिना, वृन्दावनको मनोरम वातावरण, कलकल खोला बगिरहेछ, चराहरूको चिरबिर सङ्गीत बजिरहेछ, बाटिकामा थरीथरी पुष्पहरूको सुगन्धित वायु बहिरहेको छ । यही अनुपम आनन्ददायक परिवेशमा कदमको रूखको हाँगामा टाँगिएको झुला (पिङ)मा कुनै बेला श्री राधाजी बस्नुहुन्छ, श्रीकृष्णले पिङ हल्लाउनुहुन्छ अनि राधाजी मन्द मुस्कानसहित पिङको मजा लिनुहुन्छ । कुनै बेला दुवै पिङमा बसेर झुल्छन् । यो दिव्य दृश्य हेरेर भाग्यवानी गोपगोपी पशुपन्छी सबै अनुपम आनन्द, आह्लादमा विभोर हुन्छन् । द्वापरयुगको अवतारकालमा भगवान् श्रीकृष्ण र श्रीराधाजीबीचको यही लीलाको स्मरणमा प्रत्येक वर्ष साउन महिनामा विश्वभरका हिन्दू धर्मावलम्बीहरूले श्री राधाकृष्णको झुला महोत्सव गर्छन् ।
यसैक्रममा कोटेश्वर महादेव मन्दिर परिसरमा श्री राधाकृष्णको एकदिवसीय झुला महोत्सव कार्यक्रम आयोजना गरियो । कोटेश्वर महादेवस्थानका मूल पुजारी लक्ष्मण पाण्डेको संयोजकत्वमा केही अघि गठित ओमनारायण एकादशी सेवा समाजको आयोजनामा सम्पन्न उक्त झुला महोत्सवमा श्री राधाकृष्णको झुला, झुलासम्बन्धी प्रवचन, झुला भजनसहित ५६ भोगको व्यवस्था गरिएको थियो । उक्त कार्यक्रममा स्थानीय सयौँ साधकको समुपस्थिति थियो । ओमनारायण एकादशी सेवा समाजले श्री राधाकृष्णको प्रिय दिन एकादशीका दिन श्री राधाकृष्णको भजन एवम् हरे राम हरे राम राम राम हरे हरे हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरेको नाम संकीर्तन कार्यक्रम महाभूकम्पयता सञ्चालन गर्दै आएको छ ।

भानुलाई सम्झँदै कविता प्रतियोगिता
आदिकवि भानुभक्त आचार्यको २०२औँ जन्मजयन्तीको अवसर पारेर ओलम्पिया वल्र्ड उच्च माध्यमिक विद्यालयले विद्यार्थीबीच प्रतियोगितात्मक कविगोष्ठीको आयोजना गरी आदिकविलाई सम्झिने काम गरेको छ । आदिकविको सम्झनामा गरिएको उक्त कविगोष्ठीमा कुल २१ जना विद्यार्थीले भाग लिएका थिए । प्रतियोगितामा कक्षा ६ देखि ८ सम्मका विद्यार्थीतर्फ बन्दिस बस्नेत प्रथम, प्रिती शाह द्वितीय, विश्वनाथ शर्मा तृतीय भएका थिए भने शशांक ठाकुरले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए । त्यस्तै कक्षा ९ र १० का विद्यार्थीमध्ये सुशीलराज सुवेदी प्रथम, सुशीला सुवेदी द्वितीय र सलिना कँडेल तृतीय भएका थिए भने मुनाल भारतीले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि चर्चित उपन्यासकार अमर न्यौपानेले आफ्नो लेखनीको प्रारम्भ सम्झँदै विद्यार्थी कविहरूलाई निरन्तर उत्साहित भई साहित्यमा लाग्न अभिप्रेरित गरे । कवि प्राडा सनतकुमार वस्तीले आदिकवि भानुभक्त आचार्यलाई जतिखेर सम्झिए पनि हुने भन्दै आदिकविलाई हामीले हमेसा हाम्रो मनमा राख्नुपर्ने बताए । निर्णायकमण्डलका तर्फबाट डा. विमला शर्माले धेरैजना छोराछोरीबीचबाट केहीलाई छान्ने काम कठिन भएको बताइन् । निर्णायकमण्डलमा डा. शर्माका अतिरिक्त कवि सोमनाथ सुवेदी र मिथिला प्याकुरेल पनि थिए ।
विद्यालयका प्रिन्सिपल आर.डी. भट्टको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यार्थी कविहरूका अतिरिक्त डा. सनत वस्ती, आर.डी. भट्ट, सोमनाथ सुवेदी, मिथिला प्याकुरेल, डा. विमला शर्मा, उषा गुरुङ, रूपेश भट्टराई, सन्तोष रिजाल र नवराज पराजुलीले कविता एवम् गजल एवम् आदिकविका रचनाहरू वाचन गरेका थिए ।

‘एकलव्य दृष्टि’को दोस्रो संस्करण
नेपाली लघुकथा साहित्यमा सुपरिचित कथाकार रवीन्द्र समीरको बहुचर्चित लघुकथासङ्ग्रह ‘एकलव्य दृष्टि’को दोस्रो संस्करण बजारमा आएको छ । ८२ वटा लघुकथाको सङ्गालो एकलव्य दृष्टिमा मानवजीवन, प्रकृति, विकृति, विभेद एवम् चिकित्सा Ôेत्रमा देखिएका असङ्गतिहरूलाई रोचक तथा घोचक ढङ्गले उजागर गरिएको छ । ०७२ चैतमा फाइन प्रिन्टद्वारा प्रकाशित ‘एकलव्य दृष्टि’को दोस्रो संस्करण जेठमै प्रकाशित भए पनि भूकम्पको कारण हाल मात्र बजारमा ल्याइएको फाइन प्रिन्टले जनाएको छ ।
विगत दुई दशकभन्दा लामो समय लघुकथा विधालाई केन्द्र बनाएर आठवटा लघुकथा सङ्ग्रहसहित १० वटा साहित्यिक कृति प्रकाशित गरेका समीरका अर्जुनदृष्टि, ईश्वरका कथा, अणु र पहाड लघुकथासङ्ग्रह तथा ग्रेटवालको ग्रेट अनुभूति नियात्रासङ्ग्रह बहुचर्चित पुस्तक हुन् । पेसाले चिकित्सक रहेका डा. समीरले पद्मश्री साहित्य सम्मान, मोती पुरस्कार, अनेसास उत्कृष्ट पुस्तक पुरस्कार, नेपाल विद्याभूषणलगायत दुई दर्जनभन्दा धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेका छन् भने उनले वैशाख १२ को महाभूकम्पपछि आठ जिल्लाका अतिप्रभावित ५४ गाउँमा निःशुल्क स्वास्थ्य शिविरमार्फत नौ हजारभन्दा ज्यादा पीडितको उपचार गरेका छन् । आफ्नो साहित्यिक कृतिबाट प्राप्त हुने सम्पूर्ण रोयल्टी भूकम्पपीडित बालबालिकाको सरसफाइ, पोषण, स्वास्थ्य र शिÔामा अर्पण गर्ने सर्जक समीरले जानकारी दिएका छन् ।

राजमार्गमा प्रशासनको उर्दीविपरीत ठगी
सरकारले राजमार्गको ठगी नियन्त्रण गर्न ठूलो प्रयास ग-यो, अनुगमनका नाममा लाखौँ रुपैयाँ सकायो । राज्यको जनशक्ति र स्रोत–साधानहरू खर्च गरिए, तर सुध्रिएका छैनन् राजमार्गका व्यापारीहरू । खासगरी ठूला राजमार्गहरूका खाजा तथा भान्सा घरहरू सुध्रन सकेनन् । पृथ्वी राजमार्गका होटलहरूमध्ये अधिकांशमा मूल्यसूची टाँस गरिएका छैनन् । होटलहरूले बसचालकसँग मिलेर यात्रुलाई लुट्ने गरेका छन् ।
खासगरी एकान्त ठाउँमा खोलिएका होटलहरूमा बसले खाना, खाजा खान रोक्ने गरिँदा उपभोक्ताहरू जथाभावी मूल्य तिर्न बाध्य भएका छन् । खानामा गुणस्तरीयता छैन, किचन फोहोर छ, बजारमा नबिकेका कुहिएका तरकारी पकाइन्छ, यस्तो दूरावस्थाका बाबजुद पनि प्रदूषित खाना खाएर महँगो पैसा तिर्न बाध्य छन् ।
तल्लो मलेखु बजारको पुछारमा यस्तै एउटा होटल छ । चितवन तासघर एन्ड रेस्टुरेन्ट नाम राखिएको उक्त होटलमा न मेनु छ न मूल्यसूची नै । तर, एक्लो ठाउँमा रोकिएको कारण २०–२५ मिनेटभित्र अरू ठाउँमा खाना खोजेर हिँड्ने समय पनि यात्रुसँग रहन्न । अतः फोहोर खाना महँगोमा खान बाध्य छन् यात्रु तर कसले हेर्ने ।
सरकारले पटकपटक राजमार्गको अनुगमन र कारबाही गरेको दाबी गरे पनि ठोसमा देखिने गरी केही भएको छैन । होटल सञ्चालिकासँग किन मूल्यसूची नराखेकोभन्दा ओठ फालेर उम्कने प्रयास गरिन् । स्थानीय प्रशासनसहितको संयुक्त बजार अनुगमन समितिले तोकेको सादा खानाको मूल्य प्रतिव्यक्ति १२० रुपैयाँ मात्र हुनुपर्नेमा १५० देखिमाथि लिइराखेका छन् ।
यसरी एकान्त ठाउँमा राखिएका होटल तथा खाजाघरहरूले उपभोक्ताबाट उठाएको महँगो मूल्य चालकहरूलाई कमिशन दिने गरेकाछन् । यसरी दिने कमिशन गाडीको साइजअनुसार हुने गरेका छन् । हायस बसहरूमा १६–२० जना बोक्ने हुँदा उनीहरूले प्रतिचालक पाँच सय र ठूला बसहरूलाई प्रतिचालक हजारसम्म प्रदान गर्दै आएको देख्न सकिन्छ । भुक्तानीको रकम खाता बनाएर राख्ने गरेको बुझिन आएको छ । यस विषयमा राज्यका सबै निकायको उचित छानबिन गरी नियम–सर्त नमान्नेलाई दण्ड गरिनुपर्छ ।
– विमल सुवेदी

मस्यौदाकारले किन बिर्सिए बुद्ध ?
विश्व मानचित्रमा नेपाल सानो राष्ट्र भए तापनि नेपाली धेरै भाग्यमानीमा पर्दछन् । नेपाल परिचय गराउने तीन नाममध्ये वीर गोर्खा, विश्वको सर्वोच्च शिखर सगरमाथा तथा नेपालको पवित्र माटोमा विश्वप्रख्यात ‘एसियाको ज्योति’ अहिंसाका प्रवर्तक भगवान् बुद्धको जन्म भएको हो । नेपालीको दुर्भाग्य के हो भने बुद्धप्रति अगाध सम्मान तथा श्रद्धा भए तापनि महामानव भगवान् बुद्धको निर्माणाधीन संविधानमा उल्लेख नहुनु हो ।
बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सत्यलाई स्थापित गर्न देश–विदेशमा विभिन्न कार्यक्रम, गोष्ठी गरेर तथा ‘भगवान् बुद्ध नेपालमा जन्मेका हुन्’ लेखिएको ब्यानर, टी–सर्ट लगाएर नेपाली जनताले विश्व जनमानससामु सन्देश प्रवाहको फलस्वरूप बुद्ध जन्मस्थली नेपाल नै हो भन्ने कुरा धेरै हदसम्म स्थापित भएको छ । यदि निर्माणाधीन नेपालको संविधानको सुरुवात अहिंसाका प्रवर्तक गौतम बुद्धको जन्मस्थल पवित्रभूमि नेपाल शब्ददेखि प्रस्तावना सुरु गरिए यसले निर्माणाधीन संविधान पवित्र ग्रन्थको रूपमा उच्च सम्मान प्राप्त गर्नेछ साथै गौतम बुद्ध नेपालमा जन्मेका हुन् भन्ने आधारको पुष्टि सबल तथा मजबुत हुने थियो ।
थाहा छैन विश्व मानचित्रमा सम्मानित बुद्ध आफ्नो जन्मभूमि नेपालको निर्माणाधीन संविधानको प्रस्तावनामा किन अटेनन्, किन स्थान पाएनन् ? प्रस्तावना लेखनमा आबद्ध भएका बुद्धिजीवी मस्यौदाकारहरूको पूर्वाग्रही सोचका कारणले हो कि ? जानी–नजानी भूलवश छुट्न गएको हो कि ? कसैलाई खुसी पार्न कसैको आदेशमा बुद्ध नामप्रति बेवास्ता गरेका हुन् बुझ्न सकिएन ।
प्रारम्भिक मस्यौदामाथि जनताको सुझाव लिने कार्य सम्पन्न भएको छ । प्रस्तावनामा अझै पनि सच्याउन सक्ने समय विद्यमान छ । नेपालका नेताहरूले नेपालको गरिमालाई विश्वसामु उच्च बनाउन बुद्धप्रतिको सम्मान प्रकट गर्न अत्यन्त आवश्यक छ । तसर्थ प्रस्तावनाको सुरुवातमा बुद्ध शब्द कुनै पनि हालतमा छुट्नुहुँदैन । बुद्धप्रति सम्मान तथा श्रद्धा गर्ने नेपाली जनताले ? बुद्ध ? शब्द लेखिएमा हर्ष प्रकट गर्दै समर्थन गर्नेछन् ।
– अमरदीप मोक्तान, डाँडाखर्क, दोलखा