सिड्नीमा होली मेला हुँदै

सिड्नीमा होली मेला हुँदै


  • राजन घिमिरे, अष्ट्रेलिया

पछिल्लो समय प्रवासमा पनि नेपाली चाडपर्व र संस्कृतिलाई निरन्तरता दिनुपर्छ भन्ने सोच बढ्न थालेको छ । यस्ता कार्यक्रमहरूले निरन्तरता पाउन थालेपछि प्रवासमा रहेका नेपालीको सहभागिता पनि बढ्न थालेको छ ।

यस क्रममा अष्ट्रेलियावासी उत्साही युवा नेपालीहरू प्रशंसनीय ढङ्गले सक्रिय बनेका छन् । विगतका वर्षजस्तै यसवर्ष पनि सिड्नीमा ‘होली मेला’ आयोजना हुने भएको छ । मेलामा फुड फेस्टिबलको समेत प्रदर्शनी गरिने भएको छ । ‘विगतका भन्दा यो वर्ष अझै केही नयाँ गर्ने योजनामा छौँ हामी,’ आयोजक गगन बिडारीको भनाई थियो ।

सिड्नीको लिडकमको वायट पार्कमा २३ मार्चका दिन आयोजना हुने यो कार्यक्रममा सहभागिता जनाउन कुनै पनि शुल्क लाग्ने छैन भने कार्यक्रमलाई तताउन र प्रवासी नेपालीलाई भरपुर मनोरन्जन प्रदान गर्न नेपालबाट चर्चित कलाकारहरूको सहभागिता रहने भएको छ । शुरुमा १६ तारिखमा आयोजना गर्ने भनिए पनि विशेष कारणवश एक साता पछि सारिएको आयोजक पक्षले जनाएको छ ।

उक्त मनोरञ्जनात्मक कार्यक्रममा नायिका केकी अधिकारी, गायक प्रमोद खरेल, गायिका आस्था राउत, सृजना खत्री, गायक सविन राई, फराओ ब्याण्ड र कार्यक्रम प्रस्तोता दिनेश काफ्लेले विभिन्न प्रस्तुति पस्किँदै छन् । इनरिज एजुकेशन कन्सल्टेन्सी टाइटल स्पोन्सर्स रहेको होली मेलाको तेस्रो संस्करणलाई भब्य बनाउन यतिबेला आयोजक जोडतोडका साथ लागिपरेका छन् ।