प्रचण्डले टेक्ने भए अमेरिका !

प्रचण्डले टेक्ने भए अमेरिका !


सत्ताबाहिर रहेका बेला युरोप, अमेरिका र अस्ट्रेलियाको भ्रमण गर्न सचेत रहँँदै आएका माओवादी युद्धका कमाण्डर प्रचण्डले पहिलोपटक अमेरिकाको भ्रमण गर्ने अवसर पाउने भएका छन् । आफ्नी बिरामी पत्नीको उपचारका लागि भन्दै उनी अमेरिका जान लागेका हुन् । अमेरिकी राजदूतावासका अधिकारीहरूसँग पटक–पटक वार्तालाप भएपछि प्रचण्ड भ्रमणमा जान सकिने विश्वासमा पुगेका हुन् ।

चैत २ गते प्रचण्ड आफ्नी पत्नी र सहयोगीसहित अमेरिका प्रस्थान गर्ने कार्यक्रम बनेको छ । पत्नीको उपचार भनिए पनि प्रचण्डको यो भ्रमण राजनीतिक एवम् कूटनीतिक दृष्टिले अर्थपूर्ण हुने देखिएको छ । युद्धकालमै डाक्टर केबी रोकायामार्फत अमेरिकासँग सम्बन्ध बनाउन सफल प्रचण्डले यो भ्रमणका क्रममा अमेरिकी इच्छा सम्बोधन गर्न प्रचण्ड राजी हुन सक्ने विश्वास गरिएको छ । खासगरी इन्डो–प्यासिफिक कमाण्डसँगको सहकार्य गर्ने सवालमा प्रचण्ड यो भ्रमणपछि सकारात्मक हुने ठानिएको छ ।

यसअघि भेनेजुएला प्रकरणमा वक्तव्य दिएर प्रचण्ड चर्चामा आएका थिए । प्रचण्डको वक्तव्यलाई अखिलका उत्ताउलो विद्यार्थी नेताको स्तरको भएको टिप्पणी त्यसबेला गरिएको थियो । प्रचण्डको वक्तव्यबाट अमेरिकी राजदूतावास तथा इन्डो–प्यासिफिक कमाण्डमा सामेल हुने विषयप्रति सकारात्मक मानिएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पनि स्तब्ध हुन पुगेका थिए । उक्त वक्तव्य अन्ततः एउटा बार्गेनिङ मात्र भएको पुष्टि हुन पुगेको छ । सीके राउतसँग सम्झौता हुनु र उनमा अमेरिका भ्रमण गर्ने विश्वास पैदा हुनु संयोग मात्र नभएको बताउन थालिएको छ । रातारात कुनै कुराबाट तरङ्गित भएर भड्किएनन् भने यसपटक उनी अमेरिका पुग्ने निश्चित भएको छ ।