भुस्याहा कुकुर : खतरा के–केमा ?

भुस्याहा कुकुर : खतरा के–केमा ?


कुकुर घरपालुवा स्तनधारी जनावर हो । कुकुरको सुन्ने र सुँघ्ने शक्ति अत्यन्त तीक्ष्ण हुन्छ । घरको सुरक्षाका लागि पालिने कुकुरलाई स्वामीभक्त प्राणीको रूपमा लिइन्छ । घरको रेखदेखका लागि पालिने कुकुर मानिसले सोखका लागि पाल्ने गर्छन् ।

तर, हालका वर्षहरूमा घरपालुवा कुकुरलाई पनि सडकमा छाड्नले भुस्याहा कुकुरको संख्या अत्यधिक वृद्धि भएको छ । एक तथ्यांकअनुसार अहिले राजधानी उपत्यकामा २५ हजार भुस्याहा कुकुर छन् । पोथी कुकुरले एक बेतमा १२ वटासम्म छाउरा जन्माउने गर्छ । जसका कारण कुकुरको संख्या वर्षेनी ठूलो मात्रामा वृद्धि हुने गरेको छ ।

एक तथ्यांकअनुसार आव ०७४–७५ मा उपत्यकामा मात्र रेबिज लागेका भुस्याहा कुकुरको टोकाइबाट २५ जनाको मृत्यु भएको छ । सहिद राज तथा सरुवा रोग अस्पताल टेकुमा भुस्याहा कुकुरले टोकेर खोप लगाउन आउने बिरामीको संख्या वर्षेनी दोब्बरले वृद्धि हुने गरेको अस्पताल स्रोतको भनाइ छ ।

यस्ता कुकुरको व्यवस्थापनमा महानगरपालिकाले प्रभावकारी कदम चाल्न नसक्दा भुस्याहा कुकुरको बिगबिगी बढेको कुकुरबाट पीडितहरूको भनाइ छ । त्यस्ता कुकुरकै कारण दिनहुँ कैयौँ सवारी दुर्घटना हुने गरेका छन् । यसबाट सवारीसाधनमा क्षति, व्यक्ति अंगभंग र कतिको मृत्युसमेत हुने गरेको छ ।

महानगरपालिकाले यस्ता भुस्याहा कुकुरको न्यूनीकरणका लागि बन्ध्याकरण गर्न भन्दै वार्षिक करोडौँ रकम छुट्याए पनि प्रभावकारी हुन सकेको छैन । भुस्याहा कुकुर नियन्त्रण र व्यवस्थापन गर्न सयौँ संस्था दर्ता भए पनि एक–दुईबाहेक अरू बजेट कसरी पचाउने भन्ने ध्याउन्नमै लाग्ने गरेका छन् जसका कारण यो समस्याको निराकरण हुन नसकेको हो ।

उपत्यकामा भुस्याहा कुकुर नियन्त्रण गर्नु भनेको राजधानीको सौन्दर्य बढाउनु पनि हो । यसबाट वर्षेनी रेबिजबाट मृत्यु हुनेको संख्या घट्ने, कुकुरकै कारण हुने दुर्घटना नियन्त्रण हुने मात्र होइन, यसको नियन्त्रणमा जति खर्च लाग्छ त्योभन्दा बढी यसबाट पीडितहरूले उपचारमा गर्ने जोगिन्छ । त्यसैले सम्बन्धित निकायले यथाशक्य चाँडो यसको नियन्त्रणका लागि ध्यान दिनु आजको अपरिहार्यता हो ।

प्रवीण श्रेष्ठ