काठमाडौंमा कथाकली नृत्य तथा दक्षिणी भारतको खाना महोत्सव

काठमाडौंमा कथाकली नृत्य तथा दक्षिणी भारतको खाना महोत्सव


भारतको संस्कृति मन्त्रालयद्वारा काठमाडौंमा जारी एक महिना लामो ‘नेपालमा भारत महोत्सव’अन्तर्गत सोमबार साँझ राजधानीमा कथाकली नृत्य तथा दक्षिणी भारतको खाना महोत्सव आयोजना गरियो ।

दक्षिण भारतमा लोकप्रिय कथाकली नृत्य हरिप्रिया नम्बुदिरी नेतृत्वको कलाकर्मी टोलीले प्रस्तुत गरेको हो । पौराणिक पात्र ‘नरकासुर वधम्’ विषयको उक्त नृत्यमा दानव कन्याले स्वर्गका राजा इन्द्रकी बुहारी बन्न गरेका अनुनय असफल भएका कथामा आधारित रहेको कलाकार नम्बुदिरीले बताइन् ।

सांस्कृतिक कूटनीतिका माध्यमबाट भारत र नेपालबीच शताब्दीऔँ पुरानो मैत्रीलाई प्रगाढ तुल्याउने उद्देश्यले आयोजित सो महोत्सवका सहभागीलाई स्वागत गर्दै नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीले प्रस्तुत नृत्यबाट भारत र नेपालका सांंस्कृतिक विविधता एवं समानता झल्काइएको बताउनुभयो ।

प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका निर्देशक प्रा केदारनाथ शर्माले नेपाल–भारत सांस्कृतिक सम्बन्धका विविध आयामबारे चर्चा गर्नुभएको थियो ।