खड्गीकी छोरीलाई मुकेशको चुम्बन-राजन घिमिरे

खड्गीकी छोरीलाई मुकेशको चुम्बन-राजन घिमिरे


कलेज पढ्दै गरेकी रागिनी खड्कीलाई चलचित्र प्लानमा नायिका बनाए निर्देशक शोभित बस्नेतले । सिनेमामा अभिनय गर्ने सोच अनि इच्छा सानैदेखि भए तापनि रागिनीले आफ्नो त्यो इच्छा बुबा द्वन्द्व-निर्देशक राजेन्द्र खड्गीसमक्ष कहिले पनि व्यक्त गर्न सकिनन्, तर उनको त्यो इच्छा पूरा गराइदिए शोभितले ।
पढेका नवोदिताहरूको अभाव खड्किरहेको अवस्थामा आएकी रागिनी सिनेमा खेल्ने लोभमा गलत दृश्यहरू नदिने प्रतिबद्धता त व्यक्त गर्छन् तर चलचित्र ‘प्लान’को एक दृश्यमा उनले दिएको किसिङ दृश्य यतिबेला चर्चामा छ । रागिनीलाई ओठमा चुम्बन गर्ने अवसर पाएका छन् नायक मुकेश ढकालले । रागिनी तस्बिरमा त्यो दृश्य त्यस्तो देखिए तापनि पर्दामा त्यो दृश्यले र्सार्थकता पाउने कुरा बताउँछिन् । ‘सिनेमामा राख्नका लागि मात्र यो दृश्य राखिएको छैन । कथाको मर्म खुल्नेछ यो दृश्यले,’ उनले भनिन् ।
यता नेपाली चलचित्रमा किसिङ नायक भनेर चिनिएका मुकेश ढकालले चलचित्र निगरानीमा अरुणिमा लम्साललाई किस गरेका थिए भने ‘प्लान’मा रागिनीलाई किस गरेका छन् । अरुणिमा र रागिनीमध्ये कसको कस्तो रहेछ त ओठ ? जवाफमा उनले भने, ‘मैले त्यस्तो स्वाद लिने र अनुभव बटुल्ने उद्देश्यले यो दृश्य दिएको होइन । यो त चलचित्रका लागि गरिएको एउटा अभिनय हो । यसलाई चर्चाको माध्यम नबनाउने हो कि ?’ उनको आग्रह छ ।

६ लाखे हिरोको गुनासो
आँखा चिम्लेर हातमा आएकाजति सबै सिनेमा खेल्ने हो भने आर्यन सिग्देललाई भ्याई-नभ्याई हुन्छ । तर, उनले यसो गरेनन् । सिनेमालाई सङ्ख्यात्मक नभएर गुणात्मक बनाऊँ भन्ने उनको सोच अनि योजनाको विरोधमा केही सिनेकर्मी उत्रिएपछि यतिबेला आर्यनको मन कुँडिएको छ । उनी भन्छन्, ‘चित्त नबुझेर फिल्म खेल्दिनँ भन्दा पनि सुख छैन । मेरो यस्तो स्पष्ट विचारलाई यहाँ केही साथीले गलत रूपमा हल्ला गरेका छन् ।’
आर्यनले यतिबेला एउटा सिनेमा खेलेको पारिश्रमिक ६ लाख तोकेका छन् । आफ्नो यो निर्णयमा उनी पछुतो छैन भन्छन् । ‘यो त मेरो अधिकार हो नि । मैले मागेको दिनेको फिल्म खेल्छु नत्र खेल्दिनँ । मैले आफ्नो अधिकार पनि प्रयोग गर्न नपाउनु -‘ उनको तर्क छ ।
अब आर्यनले बढी पारिश्रमिक माग्न थाल्यो । यसलाई सिनेमा क्षेत्रबाट आउट गर्नुपर्छ भनेर केही सिनेकर्मी आफूविरुद्ध लागेकोमा पनि आर्यनको कडा आपत्ति छ । ‘मलाई कसैले यो क्षेत्रमा ल्याएको पनि होइन र कसैले आउट पनि गर्न सक्दैन । कसैको दबाबमा म आफ्नो निर्णयबाट भाग्दिनँ,’ उनी भन्छन् ।
एउटा फिल्म खेलेबापत ६ लाख पारिश्रमिक माग्दा पनि यतिबेला आर्यन व्यस्त नै छन् । उनी यतिबेला कृषा चौलागाईंको चलचित्र ‘तिमी मेरो साथी बन्न सक्छौ’मा व्यस्त छन् भने यसपछि पनि उनलाई आफ्नो सिनेमाको हिरो बनाउनेको सङ्ख्या लामै छ । ‘म सङ्ख्या बढाउँदिनँ । बरु वर्षमा दुईवटा फिल्म खेल्छु तर समय दिएर र ध्यान दिएर खेल्छु,’ उनी भन्छन् । एउटा सिनेमा खेलेबापत दुई लाख पारिश्रमिक पाउनासाथ दङ्ग परेर ठूलै हल्ला मच्चाउनेको अगाडि गजवका अफर आउँदा पनि त्यस्ता अफरलाई अस्वीकार गर्ने आर्यन केटीको मामिलामा भने अलि ‘लुज’ मानिन्छन् । कुरा के हो त ? ‘म आफैं उनीहरूप्रति क्रेजी भएको होइन । मेरा बढी केटीसाथी छन् । त्यही सम्बन्धलाई लिएर वा देख्नेहरूले मेरोबारेमा गलत हल्ला फैलाएका हुन् । सबै महिला साथीसँगको सम्बन्धलाई गलत रूपमा हेरिनुहुन्न । तर यहाँ त्यही भइरहेको छ,’ उनी स्पष्ट पार्छन् ।

सिंगापुरमा आनन्दको वाहवाही
गजल गायन क्षेत्रमा राम्रो स्थान जमाएका गायक हुन् आनन्द कार्की । नेपाली, हिन्दी वा पाकिस्तानी तीनै भाषाको गजल गाउन सिपालु आनन्दको यो प्रतिभाले यतिबेला सीमापारिका देशमा पनि ‘वाहवाही’ कमाएको छ ।
तपाईं गीत-संगीत र विशेषगरी गजलप्रेमी हुनुहुन्छ र विश्वको सुन्दर देश भनेर चिनिने सिंगापुर जाँदै हुनुहुन्छ भने त्यहाँको केन्द्र भागमा रहेको ‘कान्तिपुर तन्दुरी रेस्टुरेन्ट एन्ड बार’मा जान नभुल्नुहोला । त्यसो त जोकोही नेपाली, भारतीय र पाकिस्तानी सिंगापुर जानासाथ रेस्टुरेण्टमा नगई नछोड्नुहोस् । किनकि, हरेक साँझ आनन्द कार्कीको सुमधुर स्वरमा नेपाली, भारतीय र पाकिस्तानी गीत-गजलहरू गुञ्जने गर्छन् उक्त रेस्टुरेन्टमा । सिंगापुरको आकर्षणकै रुपमा स्थापित भएका आनन्द कार्की विगत लामो समयदेखि कान्तिपुर रेस्टुरेन्टमा गीत प्रस्तुत गरिरहेका छन् । त्यहाँ केही समय उनलाई महिला आवाजका लागि गायिका प्राश्ना शाक्यले साथ दिएकी थिइन् भने अहिले उनको ठाउँमा एक दारि्जलिङकी गायिकाले साथ दिइरहेकी छिन् ।
सिंगापुरको प्रमुख स्थानहरूमा ‘साउथ एसियाका चर्चित गायक’ भनेर आनन्दको प्रचारप्रसार पनि गर्ने गरिएको छ । सिंगापुर जाने नेपाली, भारतीय वा पाकिस्तानीलाई त्यहाँको मनोरञ्जनका लागि प्रमुख स्थान बनेको कान्तिपुर रेस्टुरेन्ट र आनन्द कार्कीको उपस्थितिले स्थानीय नेपाली साँच्चै आफैं नेपालमा रहेको आभास मिल्ने गरेको बताउँछन् । नेपाली भने आनन्द कार्कीको आवाजमा विशेषगरी नेपाली सुगम गीत-सङ्गीत नै सुन्ने गर्छन् ।

तराई सुन्दरीको यो समाजसेवा
परम्परागत र रुढ सामाजिक तथा सांस्कृतिक मूल्यलाई पछ्याइरहेको समाजमा छुट्टै र विशिष्ट तरिकाले प्रतिभा प्रदर्शन गर्नु अनौठो मात्र होइन, चुनौतीपूर्ण पनि हुन्छ । परम्परागत मधेसी समाजमा जात र थर फरक भए पनि पर्दाको संस्कारविरुद्ध जाने काम अप्ठ्यारो नै मानिन्छ, कतिपय सन्दर्भमा त अझ अपराध नै । तर, बाल्यकालदेखि नै साँचेका सपनालाई पूरा गर्न अत्यन्त सहजताका साथ यस्तो अपराधका लागि दुस्साहस गर्ने आँटिली चेलीहरू पनि छन् मधेसमा । रौतहटको गौरकी अनुश्री वैद्य तिनै चेलीमध्येकी एक हुन् जसले सफलतालाई सम्भावना, शक्ति र बुद्ध्रि्रदत्त उपहार मात्र मानिनन्, आशलाग्दो भविष्यका लागि मीठो, सुन्दर र आकर्षक सपना पनि हेरिन् । ती सपनालाई पूरा गर्न आँट, संकल्प र विश्वासका साथ कर्म गर्न पनि पछि परिनन् । उनको सपनाको यात्राको एउटा पडाव बन्यो, गत वैशाख १० को साँझ । सयौँ प्रतिस्पर्धीका माझबाट मिस तराईको अन्तिम १२ सहभागीको भीडमा आइपुग्दासम्म उनी आफ्नो सपना र ती सही सपनाको वीजारोपण भएको असल पारिवारिक संस्कार र सुन्दर परिवेशलाई सम्झिइन् । र, निर्णायकको एउटा प्रश्नको उत्तरमा गौरदेखि काठमाडौंसम्मको यात्राका भोगाइलाई प्रस्ट्याइन् । भौगोलिक विविधताबीचको एउटा भूखण्ड तराई सबै जातजाति, भाषाभाषी र समुदायको अनुपम संगमस्थल भएकोले यस ठाउँलाई सबैखाले रीतिथिति र व्यवहारको उत्कृष्ट स्थल बनाउने उनको चाहना पर्गेलिएको त्यस उत्तरबाट उनी मिस तराई त बन्न सकिनन्, तर निर्णायकको छनोटमा उनी मिस तराईका फर्स्ट रनरअप भइन् । यी मधेसी चेलीलाई आफ्नो प्रतिभा, क्षमता र सीप प्रदर्शन गर्ने साइत जुराएको इन्पिmनिटी इन्टरटेनमेन्ट प्रा.लि.का कार्यकारी निर्देशक अश्विनी झाका अनुसार तुलनात्मक रूपमा थोरै सङ्ख्यामा तराई-मधेसमा बसोबास रहेको वैद्य समुदायकी यी चेलीमा तराईका सबैखाले परम्परा, रीतिथिति, संस्कार र सामाजिक व्यवहारलाई प्रतिनिधित्व गर्ने गुण छन् । उनीभित्र सुन्दर शरीरको विछट्टै आकर्षण मात्र छैन, कुनै पनि विषयवस्तुलाई गम्भीरतापूर्वक बुझ्ने र त्यसअनुरूप कुशलतापूर्वक व्यवहारमा उतार्ने क्षमता पनि छ । कार्यकारी निर्देशक झा भन्छन्- कुनै पनि व्यक्ति पूर्ण त हुन सक्दैनन् तर अनुश्रीको सोच, शैली र व्यवहारले उनीलाई एउटा ठोस व्यक्तित्वको धनी बनाउनेतिर अग्रसर बनाउँदै छ ।
काठमाडौंको सेन्टजेभियर्समा बीबीएसकी छात्रा रहेकी अनुश्री सनकी र लहडी होइनन् । तर, दु:ख-कष्ट र पीडामा बाँचिरहेकाहरूका लागि केही गर्न उनी फुरुङ्गै हुन्छिन् । सीमान्तकृतहरूलाई केही गर्नुपर्छ भन्ने चेत पिता आसितकुमार वैद्य र आमा शिलारानीबाट प्राप्त गरेकी उनी सामाजिक काम गर्न भने मरिहत्ते गरि्छन् । मिस तराई प्रतियोगितापछि विजेता काठमाडौंमा बधाई थापिरहँदा उनी कसैलाई सुइँको नदिई थाँतथलो गौर पुगिन् । जहाँ उनी सुखसयलका साथ हुरि्करहँदा आफूसँगैका दौंतरीहरू पढ्न नपाएको पीडालाई स्मरण गरिन् । र, उनी बधाई तथा शुभकामना दिने सयौँको भीडलाई पन्छाएर गौरसँगै जोडिएको टिकुलिया गाउँमा पुगिन् । जहाँ विद्यालय जाने उमेरका बालबालिका घाँसदाउरा, मेलापात गर्नेदेखि लिएर गोठाला जाने काम गर्नु सामान्य मानिन्छ । अनुश्रीले त्यस गाउँबाट चारजना बालबालिकालाई प्रभात इंग्लिस बोर्डिङ स्कुलमा भर्ना गराइन् । अभिभावकहरूले नमानेपछि यादव थरका यी विद्यार्थीलाई विद्यालयको छात्रावासमा राखेर पढ्ने व्यवस्था गर्ने अनुश्रीको धोको पूरा हुन सकेन । तर, गोबर सोहोर्न दिन बिताउने बालबालिका कापीकलम लिएर विद्यालयसम्म पुग्न थालेको दृश्यले उनीलाई सुखद रोमाञ्च र गजबले उत्साहित बनाएको छ । अनुश्री भन्छिन्, ‘शैक्षिक सामग्रीसँगै चारै बालबालिकालाई कक्षा १० सम्म पढाउने मेरो इच्छा उनीहरूको विद्यालय भर्नाबाट आरम्भ भएको छ । अब यसलाई निरन्तरता दिने र अझ विस्तारित बनाउने मेरो चाहना छ ।’
मधेसको सबैभन्दा ठूलो समस्या सङ्कीर्ण मानसिकता, विभेदकारी सोच र पुरातन मूल्यका आधारमा नियन्त्रण गर्ने सामाजिक तथा पारम्परिक व्यवस्था भएको मान्ने तराईकी यी सुन्दरीको अबको पाइला शिक्षामा बालिकाको पहुँच बढाउने र निकृष्ट बालश्रमविरुद्ध जनमत बनाउने रहेको छ । उनी भन्छिन्, ‘मिस तराईमार्फत परिचय बनाउने मेरो महत्त्वाकाङ्क्षा चुलिएको छ । तर, म्युजिक भिडियोमा काम गर्न होइन, म सामाजिक काम गरेर आफ्नो पहिचानलाई मजबुत बनाउन चाहन्छु र सँगै बुबाआमाले दिनुभएको संस्कारअनुरूप समाजलाई तिरो दिन चाहन्छु ।’ आन्तरिक पर्यटनलाई पर््रबर्द्धन गरौँ भन्ने नाराका साथ मिस तराईका सहभागीको जनकपुर यात्राको तयारीमा रहेकी अनुश्री यस यात्रालाई समाजोपयोगी मिसन पूरा गर्ने राम्रो अवसरको रूपमा लिएकी छिन् ।
‘तराई समाजका विकृति, विसङ्गति र बेथितिहरूको अध्ययन मात्र होइन, यस समाजलाई सबल र सुन्दर बनाउने प्रयासका बारेमा अध्ययन गर्ने यो राम्रो यात्रा हुनसक्छ,’ उनको भनाइ छ ।-अनिल कर्ण