न्युयोर्कको सडकलाई ‘माउण्ट एभरेष्ट वे’ नामाकरण

न्युयोर्कको सडकलाई ‘माउण्ट एभरेष्ट वे’ नामाकरण


  • मनोज रिजाल, न्युयोर्क

अमेरिकी सरकारले विश्वको सांस्कृतिक र आर्थिक महानगरी न्युयोर्कको एक सडकलाई नेपाल र नेपालीको सम्मानमा औपचारिक रुपमा ‘माउण्ट एभरेष्ट वे’ नामाकरण गरेको छ ।

न्युयोर्क सहरका पाँच क्षेत्रमध्ये क्विन्स काउन्टीको ज्याक्सन हाइट्समा अवस्थित ७५औँ सडकको २५ देखि ३१ एभिन्युसम्मको खण्डलाई मार्च ९ तारिखका दिन एक औपचारिक समारोहको आयोजना गरी ‘माउण्ट एभरेष्ट वे’ नामाकरण गरिएको हो ।

नेपालीहरूको खचाखच उपस्थिति रहेको उक्त कार्यक्रमलाई न्युयोर्क सिटीका काउन्सिल सदस्य कोस्टा कन्स्टान्टिनिडेस, अमेरिकाका लागि नेपालका राजदुत डा. अर्जुन कुमार कार्की एवम् महावाणिज्यदुत पुष्प भट्टराई लगायतले सम्बोधन गर्नुभएको थियो ।

उक्त सम्बोधनपश्चात नेपालको मौलिक संस्कृति झल्किने विभिन्न नृत्य एवम् झाँकीहरू समेत प्रस्तुत गरिएको थियो । हाल अमेरिका भ्रमणमा रहनुभएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई समेत उक्त अवसरमा नागरिक अभिनन्दन गरिएको थियो ।

गत डिसेम्बरमा न्युयोर्कको सिटी काउन्सिलले ज्याक्सन हाइट्सको उक्त सडकलाई ‘माउण्ट एभरेष्ट वे’ नामाकरण गर्ने निर्णय गरेको थियो । यसमा क्विन्स काउण्टीबाट न्युयोर्क सिटी काउन्सिलमा प्रतिनिधित्व गर्ने काउन्सिल सदस्य कोस्टा कन्स्टान्टिनिडेसको मुख्य भुमिका रहेको थियो । साथै, न्युयोर्कमा अवस्थित नेपाली महावाणिज्यदुतावास एवम् यहाँका नेपाली समुदायले समेत यसमा सकारात्मक भुमिका खेलेका थिए ।

न्युयोर्क सहरका पाँच क्षेत्रहरू– म्यानहाटन, ब्रुकलिन, क्विन्स, ब्रङ्क्स र स्टाटन आइलेण्ड मध्ये क्विन्स क्षेत्रमा नेपालीहरूको बाक्लो बसोबास रहेको छ । नेपाली लगायत भारतीय, बंगाली, अन्य दक्षिण एसियाली र लाटिनोहरूको पनि बाक्लो उपस्थिति छ क्विन्स काउन्टीमा । साथै, न्युयोर्क सहरमा सबैभन्दा बढी अन्तर्राष्ट्रिय भाषाहरू बोलिने क्षेत्र समेत क्विन्स काउन्टी नै हो ।

नेपालमा अवस्थित विश्वको सबैभन्दा अग्लो शिखर सगरमाथा अर्थात् माउण्ट एभरेष्टको नाममा न्युयोर्कको सडक नामाकरण हुनुलाई यहाँका नेपाली भाषीहरूले गर्वको रुपमा लिएका छन् ।

‘अमेरिकामा यो (बाटोको नाम माउण्ट एभरेष्ट वे) देख्न पाउँदा मलाइ अत्यन्त गौरवान्वित महसुस भइरहेको छ । अमेरिकी सरकार र नेपाल सरकारलाई मेरो तर्फबाट हार्दिक धन्यवाद,’ न्युयोर्कमा बसोबास गर्ने नेपाली मुलकी कर्चुङ वाइबा उक्त सडकसँगै आफु उभिएको फोटो फेसबुकमा पोष्ट गर्दै आफ्नो स्टाटसमा लेख्छिन् ।

‘आजको ऐतिहासिक माउण्ट एभरेष्ट वे नामाकरण कार्यक्रमले फाटेका धेरै मनहरू आपसमा जुट्यौंँ । यसैगरी सबैको यस्तै एकता होस् भन्ने कामना गर्दछु,’ न्युयोर्कका नेपाली भाषी रोशन ढुंगाना थप्छन् ।

[email protected]