अवकासप्राप्त एसपी थापाको ‘मेरो जीवनयात्रा’ लोकार्पित

अवकासप्राप्त एसपी थापाको ‘मेरो जीवनयात्रा’ लोकार्पित


अवकाशप्राप्त ब्रिटिस गोर्खा सेना तथा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका एसपी सङ्गीतविज्ञ हस्तबहादुर थापा (पल्लीमगर)को आत्मकथा ‘मेरो जीवनयात्रा’ लोकार्पण गरिएको छ । शनिबार राजधानीस्थित होटल ऱ्याडिसनमा पूर्व प्रहरी महानिरीक्षक, राजदूत एवम् सांसद खड्गजीत बरालले पुस्तक लोकार्पण गरे ।

कार्यक्रमका प्रमुख अतिथि बरालले लेखक थापा नेपाल प्रहरी ब्यान्डको निर्माता भएको उल्लेख गर्दै उनकै अगुवाईमा प्रहरी ब्यान्ड एउटा नमूना ब्यान्ड बन्न सफल भएको बताए । ब्रिटिस गोर्खा सेनाको ब्यान्डमा कार्यरत थापालाई प्रशिक्षकका रूपमा नेपाल प्रहरीमा ल्याएर कुशल ब्यान्ड स्थापनाको भूमिका खेलेका तत्कालीन प्रहरी महानिरीक्षक बरालले असल प्रहरी तयार पार्नमा ब्यान्डको महत्वपूर्ण भूमिका रहने दाबी गरे ।

कार्यक्रममा अर्का पूर्व प्रहरी महानिरीक्षक हेमबहादुर सिंह, दोस्रो विश्वयुद्ध लडेका पूर्व मेजर त्रिलोकसिंह थापा क्षेत्री र कवि राजेन्द्र शलभले लेखक थापा र लेखककी बुहारी लाराले लेखक थापाका समग्र योगदानका बारेमा प्रशका पारेका थिए ।

स्याङ्जाको एउटा विकट र पिछडिएको गाउँमा जन्मे–हुर्केका र अठ्ठाइस वर्ष बेलायती सेनाको ब्रिटिस गोर्खा ब्यान्डमा कुशलतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गरेका हस्तबहादुर थापा (पल्लीमगर) वि.सं. २०३४ सालमा नेपाल प्रहरीमा सङ्गीत प्रशिक्षकका रूपमा प्रवेश गरेका थिए । त्यसको बीस वर्षपछि प्रहरी उपरीक्षकबाट अवकाश लिएका उनी लगत्तै सशस्त्र प्रहरी बलमा सङ्गीत प्रशिक्षककै रूपमा आवद्ध भए । उनकै नेतृत्वमा सशस्त्र प्रहरी बलमा सङ्गीत ब्यान्डको स्थापना भयो ।

आफ्नो जीवनको अधिकांश समय ब्रिटिस गोर्खा सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा सेवा गरेर, दर्जनजति देश घुमेर, थुप्रै मान–सम्मान र पुरस्कार प्राप्त गरी हाल अवकाशप्राप्त जीवन बिताइरहेका थापाले आफूले घुमेका, देखेका अनि भोगेका समय र घटनालाई समेटेर आत्मकथात्मक कृति ‘मेरो जीवनयात्रा’ प्रकाशनमा ल्याएका हुन् ।

यसअघि ‘प्राथमिक सुरसमता मार्ग (भाग–३ सम्म)’, ‘आधारभूत स्टाफ नेटेशन तथा नेपाली पर्व, संस्कार र सांस्कृतकि धुनहरू’, ‘सरल सङ्गीत ज्ञानमाला र परम्परागत बिगुल धुनहरू’ प्रकाशित गरिसकेका छन् । पुस्तक रत्न पुस्तक भण्डारले छापेको हो ।