पत्रकार !

पत्रकार !


  • अनाथ अंकल

मेरा शब्द रोइरहेछन्
भावगंगा किनार भरी
हावामा पात हल्लिएझैँ
परेली पिल्पिलाउँदै
भिजेको छ स्वाभिमान
र, प्रश्न आकृति बनेर
सोधिरेछ

तिम्रो मित्र,
म कहाँनेर छु ?
म कसैभित्र छु, वा
मभित्र कथित अभिशप्त
निर्देशित टोन बसेको छ ?

हो, मभित्र केही छ
जुन मैले चिमोटीरहन्छु

अनि,
ऊसले मलाई चिमोटीरहन्छ ।

ए साथी !
तिमीले भनेझैँ
मैले स्वामीभक्त बन्नुपर्ने,
उहाँको लागि एक अञ्जुली
पवित्र मन अर्पण गर्दै,
भक्तिरसको शिरोमणी
उहाँबाटै लिनुपर्ने !

महासय,
मैले त्यो सक्दिनँ
मभित्र मन छैन
किनकि,
म, मनभित्र बस्नै मान्दैन,
म अन्त कसैभित्र समाहित छ
र उसैसँग रोएको छ,

म मेरै पदचिन्ह र
गन्तब्यका डोबहरू रुङ्दै बसेको छ ।
माफ गर
‘मैले ‘माथि’को तलुवा चाट्दै
कुकृत्यको चित्र पुज्नुपर्ने,
कौरवशाली कथानक चलचित्रका
दुर्योधन र शकुनीलाई ढोग्नुपर्ने !
अहँ त्यो म सक्दिनँ ।

मित्र महाराज,
म कहाँ छु ?
कहाँ छ मेरो मन मयल ?
बताइदेउ तिमीले
तिम्रो कुराले
म आज स्लिल हुन सक्दिनँ
मेरो मन तातो छ

दिमाग रन्किएको छ ।
आँफै बोहुलाएको हैन मित्र,
बोहुलाउन कर गरिएको छ ।

भन्दैछन् साथीहरू
के भएको छ र त्यहाँ
भुकम्पले निमुखा मरेका त हुन्,
धनराशीको जोहो गर्न नसकी
बेघरबार छन् केही,
आफैँ सुरक्षित हुन नसकेर
कतै बलात्कृत भएका छन् नारी,

केहीको घरबास जलाइएको हो,
बासको आफैँ जोहो गर्न नसकेर
पालभित्र रात काट्नु नियति हो ।’

तिनका नाममा कोकोले के–के गरे ?
मैले तिनैको लेख्नुपर्ने,
मालिकको सयललाई दुत्कार्नुपर्ने,
कस्तो पत्रकार त्यो अरे ?’

मेरा कुटिल मित्रहरूसँग
’मैले गल्ती गरेँ हजुर
भाग्य–भवितब्यमा मैले
हस्तक्षेप नगर्नुपर्ने,
आफ्नो मन दबाउनुपर्ने,
निबहरू बङ्ग्याउँदै
शब्दहरूलाई नचाउनुपर्ने
घटनाका चित्रहरूमा
उनीहरुको चित्र नदेख्नुपर्ने ।
गल्ती भो हजुर !
भन्नुपर्ने अरे ?’,

मलाई मन्जुर छैन साथी
तिम्रा सल्लाहाका कुरा
तिम्रा माफी माग्ने कुरा
जे गर्छौ गर !
मलाई समाज र राजद्रोही भन्दै
ठुला–ठुला ब्यानरहरूमा
मेरो फोटो सजाएर
कुना काप्चामा नारा लगाउ
कि प्रशासन लगाएर
वारेन्ट जारी गर
हैन भने राज्यबाट लालमोहर लगाएर
तुरुन्त मलाई पागल घोषित गर,

कि भने महोदय,

सिभिल वा फौजी कलाकारमार्फत
मेरो कलम फोर
मेरा हात भाँचिदेऊ
वा मार

मेरो सुसाइड नोट लेखेर
कतै लगेर झुण्ड्याइदेउ ।

ए साथि !
त्यसपछि मेरो मन
तिमीसँग नभए पनि
मेरो आत्माले
तिम्रो कृत्य गान नगाए पनि
कलमले शब्द कोर्ने छैन,
मेरो नाममा लेखिएको
तिम्रो पेज खाली रहने छ,
अर्को कसैले दुस्साहस गर्ने छैन
बरु सक्छौ भने
मेरो सल्लाह मान
र जे मनलाग्छ त्यही गर ।

– बेल्जियम