अष्ट्रेलियामा देशसँगै स्वाद चिनाउँदै एभरेष्ट मःम

अष्ट्रेलियामा देशसँगै स्वाद चिनाउँदै एभरेष्ट मःम


  • राजन घिमिरे, अष्ट्रेलिया

के अहिले तपाईं अष्ट्रेलियाको सिड्नीमा हुनुहुन्छ ? जिब्रोमा नेपालमै बसेको स्वाद र मनले चाहेजस्तो खान पाइरहनु भएको छैन कि ? अब यसबारे चिन्ता लिइरहनु पर्दैन ।

नेपाल रहँदा तपाईंको जिब्रोमा झुण्डिएको स्वाद सिड्नीमा पनि उपलब्ध हुन थालेको छ । छिटो, छरितो, सस्तो र भनेको समयमा खान पाइने मःमका पारखी र यस्तो मःमको चाहना राख्नेहरू सिड्नीमा पनि धेरै छन् । तपाईंहरूको यही चाहनालाई पूरा गर्न यतिबेला काभ्रेका सन्तोष अधिकारी र विराटनगरका प्रमोद रिमाल दुई नेपाली युवा लागिपरेका छन् ।

अष्ट्रेलियाको सिड्नीलाई कर्मथलो बनाएका यी युवाले सन् २०१७ देखि सञ्चालनमा ल्याएको एभरेष्ट मःमले यतिबेला सिड्नीमा रहनुभएका नेपालीजनको मन जितिरहेको छ ।

‘हामी सिड्नीको पारामाटामा दुई वर्षदेखि एभरेष्ट मःम खुवाइरहेका छौँ । हाम्रो यो मःमले के नेपाली के विदेशी सबैको मन जितिरहेको छ । विदेशीहरूलाई नेपाली स्वादप्रति आकर्षित गराउन सक्नु हाम्रो सफलता हो,’ सन्तोष र प्रमोदले भने ।

एभरेष्ट ममको यो लोकप्रियतासँगै अब फ्रेन्चआइज पनि बिक्ने भएको छ । एभरेष्टको केही शहरमा फ्रेन्चआइज बिक्दै छ भने अष्ट्रेलियाबाहिर पनि यो ब्रान्ड किन्न चासो देखाउनेको संख्या बढ्न थालेको कुरा बताइएको छ ।

प्रवासमा नेपालीको यस मौलिक ब्यवसाय यसरी विस्तार हुनुलाई प्रवासी नेपालीले गौरवपूर्ण ठानेका छन् । मार्केटिङमा एमबीए र सोसोलोजीमा डबल मास्टर्स सकाएका सन्तोष र नेपालमा इकोनोमिक्समा एमए सकाएर अष्ट्रेलियाबाट एमपीए पूरा गरेका प्रमोदले पनि अष्ट्रेलियाको प्रवासी जीवनमा अरूको काम गरे तर, जीवनमा अरूको काम गरेर उँभो लागिँदैन भन्ने कुरा राम्ररी बुझेका यी युवाले आफ्नै ब्यवसाय शुरू गरेका थिए ।

अब यी दुई युवा आफ्नो ब्राण्डलाई नेपालको नामसँगै स्वाद पनि विश्वमाझ पुऱ्याउन कम्मर कसेर लागिपरेका छन् । एभरेष्ट मःम अहिले सिड्नीको ३० भन्दा बढी सुपर मार्केटमा पाइन्छ भने एभरेष्टले ४४ प्रकारका मःमहरू तयार गर्ने गरेको छ ।