काठमाडौंमा कविता कृष्णमूर्ति साङ्गीतिक सन्ध्या

काठमाडौंमा कविता कृष्णमूर्ति साङ्गीतिक सन्ध्या


काठमाडौंस्थित ‘भारतीय महिला सङ्घ’द्वारा विश्वप्रख्यात भायोलिन वादक डा.एल. सुब्रमण्यम र प्रसिद्ध बलिउड गायिका कविता कृष्णमूर्तिको सांगीतिक प्रस्तुति रहेको परोपकारी सांगीतिक कार्यक्रमको आयोजना गरिएको छ । अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा सो कार्यक्रम काठमाडौंस्थित भारतीय राजदूतावासमा आयोजना गरिएको हो ।

उक्त कार्यक्रममा राजनीतिज्ञ, कलाकार, संगीतकार, साहित्यिक व्यक्तित्व, विद्यार्थी तथा सञ्चारकर्मी लगायत विभिन्न क्षेत्रका गरी पन्ध्र सयभन्दा बढी व्यक्तिको उपस्थिति थियो । विशेषगरी उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई, सांसद, प्रधानसेनापति, कूटनीतिक नियोगका प्रमुृख, नेपाल सरकारका विशिष्ट श्रेणीका पदाधिकारी, पूर्वमन्त्री, पूर्वसांसद, प्रसिद्ध कलाकार मनिषा कोइराला, उद्योगपति, कलाकार एवं वरिष्ठ सञ्चारकर्मीका साथै समाजका प्रतिष्ठित व्यक्तिहरुको कार्यक्रममा उपस्थिति थियो ।

कार्यक्रममा डा. एल. सुब्रमण्यम तथा गायिका कविता कृष्णमूर्तिको साथमा अतुल रनिङ्गा र फ्रिजो फ्रान्सिस (किबोर्ड), वसन्त कुल्कर्णी (ड्रम्स तथा परकुसन), अल्वेन फर्नाण्डेज (गितार), किथ पिटर्स (बेस गितार), तन्मोय बोस (तबला), पी.एन.एस. फाल्गुन (मृदंगम) र बिनय भिन्सेन्ट (साउण्ड इञ्जिनियर) लगायतले प्रस्तुति दिएका थिए ।

गायिका कृष्णमूर्तिको टोलीले २५ वर्षअगाडि गाएको ‘चिठ्ठी आएन, चिठ्ठी आएन मेरो मायालुको… चिठ्ठी आएन’ गाउँदा दर्शकदिर्घाबाट प्रशंसकहरुले साथ दिएका थिए । उक्त गीतका सङ्गीत निर्देशक शम्भूजित बाँस्कोटाले उनलाई साथ दिएका थिए ।

सांगीतिक क्षेत्रमा डा. एल. सुब्रमण्यम एक विश्वविख्यात भायोलिन बादकका रूपमा परिचित छन् । त्यस्तै कविता कृष्णमूर्ति प्रख्यात बलिउड गायिकाको रुपमा सुपरिचित छिन् । उनले विभिन्न १६ भाषामा १८ हजार भन्दा बढी गीत रेकर्ड गराइसकेकी छिन् ।

यी दुई युगल जोडी समुहको सांगीतिक प्रस्तुति अविस्मरणीय रह्यो । आफ्नो आधुनिक तथा शास्त्रीय भायोलिन वादन तथा गायनद्वारा उनीहरूले दर्शक श्रोतालाई मन्त्रमुग्ध बनाएका थिए ।

भारतीय महिला सङ्घद्वारा आयोजित यस परोपकारी सांगीतिक कार्यक्रम भारत र नेपालबीचको साझा सांगीतिक विरासतलाई प्रवर्धन गर्ने एक प्रयास भएको सम्बद्ध पक्षको भनाई छ । उक्त सङ्घले सामाजिक तथा सांस्कृतिक क्रियाकलापमार्फत भारतीय तथा नेपाली समुदायबीच सद्भाव र मित्रता अभिवृद्धि गर्ने एक मञ्चको रुपमा कार्य गर्दै आएको छ । यसले नेपालमा सामाजिक उद्देश्यका विशेषतः महिला तथा बालबालिकासँग सम्बन्धित विभिन्न किसिमका परोपकारी कार्य नियमित रुपमा गर्ने गर्दछ ।

भारतीय महिला संघकी अध्यक्ष नम्रता पुरीले स्वागत मन्तव्य व्यक्त गर्ने क्रममा चुनौतीपूर्ण अवस्थामा पनि मुहारमा खुशी ल्याउनु र मानवीय सद्भाव–सहयोग बढाउनु सङ्घको उद्देश्य भएको बताउँदै टिकट बिक्रीबाट सङ्कलित रकम परोपकारी कार्यमा खर्च गरिने जानकारी दिएकी थिइन् ।