पुलिसको पोल्टामा लिगको उपाधि मनाङलाई कुठाराघात

पुलिसको पोल्टामा लिगको उपाधि मनाङलाई कुठाराघात


-श्रीविक्रम भण्डारी
सहिद स्मारक रेडबुल ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता हालै सम्पन्न भएको छ । यसपटक पनि नेपाल पुलिस क्लबले उत्कृष्ट प्रदर्शन गर्दै लिगको उपाधि जित्न सफल भएको छ । फाइनलसम्म अपराजित रहेको पुलिसले १७ खेलमध्ये १४ मा जित, दुईमा बराबरी र एउटामा पराजित भएको थियो । पुलिस क्लब लिगको अन्तिम तथा फाइनल खेलमा मनाङ मर्स्याङ्दीसँग पराजित भएको थियो । लिगमा विगत ४९ खेलमा अपराजित रहेको पुलिसको पचासौँ जितमा मनाङ रोडा बनेको थियो । यसरी अपराजित रूपमा अर्थात् पचासौँ खेल जितेर सहिद स्मारक लिगको ट्रफी चुम्ने पुलिसको सपना सपनामै परिणत भएको थियो । गोलअन्तरका कारणले पुलिसले लिगको उपाधि जिते पनि फाइनलमा भोगेको पराजयले पुलिसका खेलाडीहरू त्यति उत्साहित भने देखिएका थिएनन् । पुलिसको लिगमा यो लगातार तेस्रो विजय हो ।
नेपालका सबैभन्दा सफल फुटबल प्रशिक्षकको रूपमा चिनिएका विराटकृष्ण श्रेष्ठले आफ्नो क्लब पुलिसलाई लगातार तेस्रो पटक च्याम्पियन बनाए पनि फाइनल खेलको नतिजाले उनलाई निराश पारेको थियो । फाइनलमा भोगेको पराजयले निकै गम्भीर बनेका विराटले वास्तविक जितको खुसीसमेत बाँड्न सकेका थिएनन् । उनले भने, ‘हामी कीर्तिमानको नजिक पुगेर पनि चुक्यौँ, हार्दा ज्यादै दु:ख लागेको छ ।’ अन्तिम खेलमा जितेको भए उपाधि उचाल्दाको शान नै बेग्लै हुने बताउँदै विराटले यो हारले खल्लो अनुभव भएको स्वीकारे । सानो भूलले गर्दा हार्नुपर्‍यो, त्यसैले च्याम्पियन हँुदा पनि कस्तो-कस्तो नरमाइलो लागिरहेको छ । वास्तविक रूपमा भन्नुपर्दा नुन नहालेको तरकारीजस्तै भएको छ- यो विजय मेरा लागि । र पनि, हामीले उपाधिको रक्षा गर्न सफल भएका छौँ, यसैमा सन्तुष्टि मान्नुपर्छ ।
नामी, दामी र स्तरीय खेलाडीले सुसज्जित मनाङ मर्स्याङ्दी यो लिगको प्रमुख दाबेदारको रूपमा रहेको थियो । बालुवामा पानी हालेझैं खेलाडीको खरिदमा लाखौँ रुपैयाँ खर्च गरेको मनाङले अन्तिम समयसम्म पनि आफ्नो दाबेदारीले प्रस्तुत गरेको थियो । थ्री स्टारसँग भोगेको अप्रत्यासित पराजय नै मनाङका लागि दुर्भाग्य बनेको थियो । गोलअन्तरका कारणले मात्र लिग च्याम्पियन बन्न चुकेको मनाङ अहिले पनि थ्री स्टारसँग भोगेको पराजय भुल्न सकेको छैन । यो पराजय अहिले पनि मनाङका लागि निकै किडकिडाहाट बनेको छ । थ्री स्टारसँग नहारेको भए मनाङलाई उपाधि जित्नबाट कसैले रोक्न सक्ने थिएन । स्मरण छ, यो लिगमा लिग च्याम्पियन पुलिस क्लबसरी मनाङले पनि समान जित र हार व्यहोरेको थियो । दुवै टिमले १७ खेलमा ४४ अङ्क हासिल गरे पनि गोलअन्तरका कारणले मात्र मनाङले दोस्रो स्थानमा चित्त बुझाउनुपरेको थियो ।
०६८ सालको सहिद स्मारक रेडबुल ‘ए’ डिभिजन फुटबल प्रतियोगितामा १८ वटा क्लबको सहभागिता रहेको थियो । जसम्ाा महेन्द्र पुलिस क्लब, मनाङ मर्स्याङ्दी, जावलाखेल, थ्री स्टार, हिमालयन शेर्पा, आरसीटी, एनआरटी, नेपाल आर्मी, फ्रेन्डस, बाँसबारी, बौद्ध, एपीएफ, सरस्वती, मच्छिन्द्र, स्वयम्भु, बीबीसी, युनाइटेड र कोइलापानी रहेका थिए । ‘ए’ डिभिजन लिगमा मोफसलबाट पहिलोपटक प्रतिस्पर्धा गरेको कोइलापानीले यो प्रतियोगितामा निराशाजनक प्रदर्शन गरेको थियो । ‘ए’ डिभिजनमा पुग्नुअघि कोइलापानीले जुन उत्कृष्ट प्रदर्शन गरेको थियो त्यसको सानो अंश पनि लिग चरणमा देखाउन सकेन । यो लिगमा कोइलापानीको उलपब्धि भनेको तीनवटा खेलमा बराबरी मात्र खेल्नु रह्यो । अन्य खेलमा कोइलापानी नराम्रोसँग पराजित भएको थियो । उसले यो लिगमा एउटा पनि खेल जित्न सकेन । आर्थिक समस्याका कारणले गाँजेकाले पनि कोइलापानीको यस्तो प्रदर्शन भएको बुझिएको छ ।
यसपटक आश्चर्यजनक नतिजा निकाल्न सफल जावलाखेलले लिगमा उत्कृष्ट प्रदर्शन गर्दै आफूलाई तेस्रो स्थानमा उभ्याउन सफल भएको छ । ललितपुरमा थ्री स्टारको दबदबालाई समाप्त पार्दै जावलाखेलले आफूलाई अब्बल सावित गरेर देखाएको छ । लिगमा जावलाखेलले उत्कृष्ट प्रदर्शन गर्ने क्रममा ११ खेलमा विजय हासिल गर्नुका साथै तीन खेलमा बराबरी र तीन खेलमा पराजय भोगेको थियो । त्यस्तै नवआगन्तुक हिमालयन शेर्पाले पनि आफ्नो आगमनलाई र्सार्थक तुल्याउँदै पाँचौँ स्थानमा आउन सफल भएको थियो । पुराना चर्चित क्लबहरू थ्री स्टार, आरसीटी, एनआरटी र फ्रे न्ड्सले नामअनुसारको खेल प्रदर्शन गर्न सकेन । यसमा सबैभन्दा हरिविजोग लिगको दाबेदार थ्री स्टारको भयो । स्मरण रहोस्, यो लिगमा थ्री स्टारलाई बाँसबारीले समेत पराजित गरेको थियो । अन्य क्लबको दाँजो बाँसबारीले यसपटक उत्कृष्ट प्रदर्शन गर्दै आफूलाई दशौं स्थानमा पुर्‍याउन सफल भएको थियो । बाँसबारीले ६ खेल जित्नुको साथै ३ खेलमा बराबरीको नतिजा निकालेको थियो ।
पुलिसलाई कोसेढुङ्गा पार गर्न अनिल गुरुङले रोकेको यो लिगमा स्वयम्भु, बीबीसी, युनाइटेड र कोइलापानी रेलिगेसनमा परेका छन् । त्यस्तै यो लिगमा उत्कृष्ट प्रदर्शन गर्ने चार खेलाडी र प्रशिक्षकले नौलो उचाइ छोएका छन् । जसमा फरवार्डतर्फ जुमानु राई, मिडफिल्डरमा जगजित श्रेष्ठ, डिफेन्डरमा सन्दीप राई, गोलकिपरमा रितेश थापा र प्रशिक्षकमा विराटकृष्ण श्रेष्ठ रहेका छन् । त्यस्तै यो लिगमा विवादास्पद अभिव्यक्ति दिएर मनाङका टासी घले पनि उत्कृष्ट अध्यक्ष र प्रशिक्षक सावित भएका छन् । उनले लिगका केही खेलमा मिलेमतो भएको बताउँदै वास्तविक ट्रफीको हकदार आफ्नो क्लब भएको दाबी गरेका छन् । उनले मिलेमतोको आरोप पुलिस, थ्री स्टार र एनआरटीमाथि लगाउँदै यसको सही छानबिन भएमा आफ्नो टोलीले ट्रफी पाउने विश्वास प्रकट गरेका गरेका छन् । घलेले एन्फा अध्यक्ष गणेश थापा स्वदेश फर्केपछि निष्पक्ष रूपमा छानबिन हुने र मिलोमतोमा मुछिएका क्लबमाथि कारबाही हुने विश्वास प्रकट गरेका छन् ।

गुन्टर लाँगेलाई सफाइ, एथलेटिक्स सङ्घ विघटनको सिफारिस
गत जुलाई ७ देखि १० तारिखसम्म जापानको कोेबेमा भएको १९औँ एसियाली एथलेटिक्स च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न जापान गएकी महिला खेलाडी सूर्यमाया राई भागेको विषयमा हालै राष्ट्रिय खेलकुद परिषद्ले मुलुकको मानमर्दन भएको ठहर गरेको छ । राष्ट्रको प्रतिष्ठा अन्तराष्ट्रमा घुमलिएको स्पस्ट पार्दै राखेपले उक्त टोलीका नेता तथा मुख्य प्रशिक्षक मोहन घलेलाई निलम्बन गरेको छ । राखेपले आउँदा दिनमा यस्ता अप्रिय घटना घट्न नदिन घलेलाई निलम्बन गरेको प्रस्ट पारेको छ । नेपाल एमेच्योर एथलेटिक्स सङ्घको सिफारिस र नेतृत्वमा टोली जापान गएको फरि्कंदा राष्ट्रको प्रतिष्ठामा आँच आउने कार्य गरी फर्केकाले राखेपले एमेच्योर एथलेटिक्स सङ्घलाई विघटन गर्न राखेपको बोर्डलाई सिफारिस गरेको छ । राखेपले आगामी ८१औँ बोर्ड बैठकमा एथलेटिस सङ्घ विघटन गर्ने प्रस्ताव लग्ने भएको छ ।
त्यस्तै राखेपले विवादास्पद डोपिङ प्रकरणमा मुछिएका जर्मन प्रशिक्षक गुन्टर लागेलाई सफाइ दिएको छ । ‘लागेलाई एक वर्षअघि नै युवा तथा खेलकुद मन्त्रालयले निर्दोष ठहर गरिसकेको अवस्थामा हामीले प्रक्रिया मात्र अगाडि बढाएका हौँ,’ राखेपका सदस्यसचिव युवराज लामाले भने । लामाले लागेको फुकुवासँगै जर्मनीले नेपालमा सञ्चालन गरिरहेको एथलेटिक्स परियोजना पुन: सञ्चालन हुने र लगानीको सम्भावना पनि बढेको बताएका छन् । त्यस्तै लागेको फुकुवासँगै डोपिङ प्रकरणमा मुछिएका नेपालका प्रशिक्षकद्वय नारायणबहादुर प्रधान र सुशीलनरसिंह राणामाथि लागेको प्रतिबन्ध पनि हटेको छ । लामाले प्रशिक्षकहरूमाथि लागेको आरोप मिथ्या सावित भइसक्दा पनि कारबाही फुकुवा नहुनुलाई आफूले आश्चर्यजनक घटनाको रूपमा लिएको बताएका थिए ।

जोर्डनविरुद्ध राष्ट्रिय टोलीको घोषणा
आगामी साउन ७ गते जोर्डनविरुद्ध हुने विश्वकप छनोटको दोस्रो चरणको खेलका लागि हालै खेलाडी छनोट गरिएको छ । उक्त २० सदस्यीय राष्ट्रिय टोलीको कप्तानमा सागर थापा रहेका छन् । टोलीमा विकास मल्ल, रितेश थापा र किरण चेम्जोङ गरी तीन गोलकिपर रहेका छन् भने नेपाली टोलीको रक्षकको भूमिकामा सन्दीप राई, रोहित चन्द, विराज महर्जन, रविन श्रेष्ठ, विकाससिंह क्षेत्री र दीपक भुसाल रहेका छन् । त्यस्तै मिडफिल्डमा नीराजन खड्का, भोलानाथ सिलवाल, जगजित श्रेष्ठ, अनिल ओझा र शिव श्रेष्ठ रहेका छन् । अग्रपङ्क्ति सम्हाल्ने जिम्मेवारी जुमानु राई, अनिल गुरुङ, भरत खवास, सन्तोष साहुखल र सुजन श्रेष्ठले पाएका छन् ।
त्यस्तै अखिल नेपाल फुटबल सङ्घ एन्फाले विश्वकप छनोटको दोस्रो चरणको दोस्रो खेल नेपालमै खेलाउने निर्णय गरेको छ । होम एन्ड अवेको नियमअनुसार खेल्नुपर्ने भए पनि हालै सम्पन्न भएको पहिलो लेगका दुवै खेल नेपालमा आयोजना भएका थिए । सोहीअनुरूप पहिले नेपालले दुवै खेल जोर्डनमा खेल्ने सङ्केत देखाए पनि अन्तिममा नेपाली दर्शकहरूको दबाबमा एन्फाले नेपालमै खेलाउने निर्णय गरेको थियो । जसअनुसार नेपालले उक्त खेल साउन १२ गते रंगशालामा खेल्ने तय भएको छ । सोबारेमा जानकारी दिँदै एन्फाका प्रवक्ता ललितकृष्ण श्रेष्ठले यो सबै नेपाली समर्थकको फुटबल प्रेमको नतिजा भएको प्रस्ट पारेका थिए ।

भारत्तोलनमा तारादेवीको कीर्तिमान
प्रथम राष्ट्रिय खुला ग्राँपी भारत्तोलन प्रतियोगितामा नेपाल प्रहरीकी तारादेवी पुनले नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । पुनले ६९ केजीको क्लिन एन्ड जर्कमा दुई वर्षअघि झन्त कटुवालले नेपालगन्जमा राखेको ८२ केजीको कीर्तिमान भङ्ग गरेकी हुन् । पुनले झन्तको कीर्तिमान तोड्ने क्रममा यो प्रतियोगितामा ८३ किलो उचालेकी थिइन् । तारालेे स्न्याचतर्फ ६३ केजी गरी कुल १ सय ४६ केजी उठाउँदै स्वर्ण पदकमाथि कब्जा जमाएकी थिइन् । त्यस्तै महिला ५८ केजी तौलमा पुलिस क्लबकै उत्तम खत्रीले स्न्याचमा ६० र जर्कमा ७० केजी उठाउँदै स्वर्ण पदक जितेकी थिइन् । यसैगरी ४८ केजीतर्फ सप्तरीकी कविता चौधरी, ५३ केजीमा देवी चौधरी र ७१ केजीमा राज्य लक्ष्मी थापाले स्वर्ण पदक जितेका थिए ।
त्यस्तै ६९ केजी पुरुषतर्फ सेनाका कमल अधिकारीले उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक जितेका थिए । कमलले स्न्याचमा १ सय ७ र जर्कमा १ सय ५० केजी उठाएका थिए । यसैगरी ७७ केजीतर्फ भैरवबहादुर थापा, ८५ केजीमा दिनेश श्रेष्ठ, ९४ केजीमा चितवनका नारायण श्रेष्ठ, १०५ केजीमा विपेन्द्र महर्जन र १०५ केजीभन्दा माथिको तौलमा रामेछापका गोपालबहादुर श्रेष्ठले स्वर्ण पदक जितेका थिए । प्रतियोगिताको उत्कृष्ट खेलाडीमा पुरुषतर्फ कमल अधिकारी र महिलातर्फ उत्तम खत्री घोषित भएका थिए । यो प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले गरेका थिए ।

चार वर्षपछि १२औँ धर्मश्री
सहिद धर्मभक्त माथेमाको स्मृतिमा विगत २६ वर्षदेखि अर्थात् ०४२ साल आयोजना हुँदै आइरहेको नेपालको सबैभन्दा पुरानो शारीरिक सुगठन प्रतियोगिताको १२औँ संस्करणको आयोजना हुने भएको छ । उक्त प्रतियोगिता आउँदो असोज ६ र ७ गते काठमाडौंमा आयोजना गरिने नेपाल व्यायाम मन्दिरको जनाएको छ । राष्ट्रव्यापी खुला धर्मश्री प्रतियोगितामा नेपाल अधिराज्यभरिका ३ सय बडीबिल्डरले सहभागिता जनाउने मन्दिरका अध्यक्ष नारायण प्रधानले बताएका छन् । प्रधानले यो प्रतियोगितामा ५५, ६०, ६५, ७०, ७५, ७५ केजीभन्दा तौल समूहमा प्रतिस्पर्धा हुने बताए । प्रतियोगिताको पहिलो दिन प्रिजजिङ राउन्ड हुनेछ । यो प्रतियोगिताको विजेता अर्थात् धर्मश्री च्याम्पियनले १ लाख ५० हजार पाउनेछ भने द्वितीय र तृतीय स्थान हासिल गर्नेले क्रमश: ७५ हजार र ५० हजार पाउनेछन् । त्यस्तै चौथो, पाँचौँ र छैटौँ स्थान हासिल गर्नेले क्रमश: ४०, ३० र २५ हजार पाउनेछन् । प्रत्येक तौल कुल खर्च १४ लाख लाग्ने आयोजक कमिटीले बताएको छ ।