जहाँ भेटिँदैनन् एउटै अपराधी

जहाँ भेटिँदैनन् एउटै अपराधी


आजको विश्वमा जताततै अपराध बढेको देखिन्छ, तर एक युरोपियन मुलुक यस्तो पनि छ जहाँ यतिबेला एकजना पनि यस्तो अपराधी भेटिँदैन जसलाई जेल पठाउन सकियोस् । विश्वास गर्न गाह्रो तर यथार्थ हो हो । संसारभरका मुलुकमा रहेका जेलहरू ज्यानमारा, गुण्डा, चोर, फटाहा, ठगलगायत अपराधीले भरिएका हुन्छन्, तर वेस्टर्न युरोपीय देश नेदरल्यान्डमा अपराधको दर घट्दै गएर अब त्यहाँका जेलहरू नै बन्द गर्नुपर्ने परिस्थिति निम्तिँदै छ ।

नेदरल्यान्डको जनसङ्ख्या १ करोड ७१ लाख ३२ हजारभन्दा केही बढी छ । यत्तिका मानिसबीच पनि जेलको पर्खालभित्र थुन्नुपर्ने स्तरका कुनै अभियुक्त भेटिँदैनन् । तथ्याङ्कअनुसार सन् २०१३ मा त्यहाँ केवल १९ कैदी थिए भने सन् २०१८ सम्म आइपुग्दा देशमै एकजना पनि कैदी बाँकी रहेनन् । रोचक त के छ भने यसरी अपराध घटेर जेल रित्तो हुँदा करिब दुई हजार नागरिकचाहिँ बेरोजगार बन्न पुगेका छन् । जेलसम्बद्ध रोजगारीमा रहेकामध्ये सात सयलाई सरकारले अन्य रोजगारीमा स्थानान्तर गराए पनि बाँकीको निम्ति तत्काल कुनै रोजगारी नभेटिँदा सरकारको लागि टाउकोदुखाईको विषय बनेको छ ।


यसरी नेदरल्यान्डका जेल रित्तो हुँदै गर्दा उसको छिमेकी देश नर्वेले पनि अपराधीलाई जेलभित्रै थुनेर राख्नुको विकल्पमा कैदीको निम्ति ‘इलेक्ट्रोनिक एङ्कल मनिटरिङ सिस्टम’ लागू गरेको छ । यो सिस्टममा कैदीको खुट्टामा एक यस्तो डिभाइस पहिऱ्याइन्छ जसको माध्यमबाट उसको लोकेसन ट्र्याक गर्न सकिन्छ । उक्त डिभाइसले एक विशेष प्रकारको रेडियो फ्रिक्वेन्सी सिग्नल पठाउँछ जसबाट अपराधी कहाँ छ भन्ने पत्ता लाग्छ ।

यदि कुनै अपराधी तोकिएको सीमाभन्दा बाहिर जान्छ भने त्यसबाट प्रहरीलाई सूचना प्राप्त हुन्छ । यो प्रविधिले देशमा आपराधिक दर आधा कम गर्न सघाएको बताइन्छ । नर्वेमा कैदीलाई दिनभर जेलमा बन्द गरेर राख्नुको साटो काममा लगाउँदै पूर्ववत् दिनचर्यामा फर्काउने प्रयासस्वरूप इलेक्ट्रोनिक एङ्कल मनिटरिङ सिस्टम लागू गरिएको हो ।