२५ वर्षकी महिलाले एकैपटक सात बच्चा जन्माएपछि…

२५ वर्षकी महिलाले एकैपटक सात बच्चा जन्माएपछि…


इराककी एक २५ वर्षीया महिलाले एकसाथ सातवटा सन्तान जन्माएर नेसनल रेकर्ड कायम गरेकी छिन् । इराकको पूर्वी प्रान्त दियालीस्थित एक अस्पतालमा महिलाले ६ छोरी र एक छोरालाई एकसाथ जन्म दिएकी हुन् । यत्तिका सन्तान एकैपटक जन्माए पनि महिला तथा सबै बच्चाहरूको स्वास्थ्य राम्रो रहेको छ भने ती कीर्तिमानी महिलाको परिचय खुलाइएको छैन । महिलाका श्रीमान् युसेफ फैदल श्रीमतीले यसरी एकसाथ सातवटा सन्तान जन्माएपछि चिन्तित बनेका अस्पतालका प्रवक्ताले खुलासा गरेका छन् । पहिले नै तीनवटा सन्तान रहेकोमा अब सन्तानको सङ्ख्या बढेर दश पुग्दा तिनको पालनपोषण गर्न आफू असमर्थ रहेको भन्दै युसेफले चिन्ता प्रकट गरेका हुन् ।

विश्वमा एकैपटकमा सातवटा जीवित बच्चा जन्माएको पहिलो रेकर्ड अमेरिकासँग रहेको छ । अमेरिकाको लोवा राज्यमा सन् १९९७ मा यो घटना भएको थियो । उक्त मामला त्यतिबेला निकै चर्चामा रहेको थियो । महिलाको पेटमा सातवटा बच्चा रहेको पूर्वजानकारी भएपछि केही बच्चा एभर्सन गराउन उनलाई सुझाव दिइएको थियो, तर महिलाले त्यो स्वीकार गरिनन् । उनले आफ्नो जिन्दगी अब ईश्वरको हातमा रहेको भन्दै सातै बच्चालाई जन्म दिने प्रण गरेकी थिइन् । तत्कालीन राष्ट्रपति बिल क्लिन्टनले ती महिलालाई फोनसमेत गरेका थिए भने उनलाई चर्चित टीभी शोमा आमन्त्रण गरिएको थियो । कैयन कम्पनीले सात सन्तान जन्माउने जोडीलाई विभिन्न सहयोग गरेका थिए भने उनीहरूलाई एउटा घरसमेत गिफ्ट दिइएको थियो ।