जङ्गबहादुरका ‘दुस्साहसी’ काम-४





नेपालका युवराजधिराज सुरेन्द्रविक्रम शाह, अहिलेलाई यति मात्र भनौँ, केही समय अस्वस्थ थिए । फेब्रुअरी २४, १८४१ मा चिकित्सकले उनलाई हावापानी परिवर्तन गर्ने सुझाव दिए । उनले त्रिशूली नदी किनारको एक स्थलमा बस्न मन पराए । राज्यका धेरै अफिसर उनको सेवासुसारमा खटिएका थिए । उनी कहिलेकाहीँ लहडमा जङ्गली खालको उटपट्याङ काम गर्थे । उनी आफैँले काँधमा एउटा बन्दुक पनि बोक्न सक्तैनथे, तर अरूलाई भने अत्यन्त कडा र जोखिमपूर्ण काम गर्न बाध्य गराएर आफ्नो बहादुरी देखाउँथे । एक दिन त्रिशूलीको एउटा पुलमा हिँड्दा उनले घोडा चढेर आफूतिर आइरहेको रणवीर नामको लप्टनलाई देखे । उक्त अफिसर त्यति टाढाबाट युवराजलाई नचिनेकाले घोडाबाट ओर्लेन ।

पूर्वीय संस्कृति र राजकीय मर्यादा कायम राख्न त्यो लप्टनले युवराजको सम्मान गर्नुपथ्र्यो । सन्काहा युवराजले लप्टनबाट बिना आशय गरिएको त्यो अपमानको प्रतिशोधस्वरूप उसलाई घोडाबाट ओर्लन बाध्य तुल्याएर आफूसमक्ष उपस्थित गराउने आदेश दिए । दण्डस्वरूप उसलाई घोडासहित त्रिशूली नदीमा फाल हाल्ने आदेश दिइयो । नदीको सतहभन्दा असी फिट माथि पुल थियो । त्यसैले नदीमा हाम फाल्ने जोकोहीको पनि मृत्यु निश्चित थियो । युवराजको आज्ञानुसार त्यो लप्टन मृत्युवरण गर्न तयार भयो । त्यसरी नदीमा हाम फाल्नुअघि उसले युवराजसमक्ष अन्तिमपटक आफ्नो परिवारलाई भेट्ने इच्छा प्रकट गयो । उसले युवराजसमक्ष अनुमतिको याचना गऱ्यो । यसैबीच राजकुमार बोले, ‘होइन, होइन तँ मर्ने छैनस् ।’ मर्यादा भङ्ग गर्ने उक्त अफिसरले यस्तो दण्ड भोग्नुपरे पनि नमर्ने कुनै व्यक्ति छ भने जंगबहादुर मात्रै हो भनेर युवराजसमक्ष बिन्ती गऱ्यो । यो सङ्केत आफैँमा पूर्ण थियो ।

अल्पमति भएका राजकुमार सुरेन्द्रले तत्काल जंगबहादुरलाई लिन पठाए । जंगबहादुर अस्वस्थ अवस्थामा भए पनि तुरुन्तै युवराजका सामु हाजिर भए र मलाई के कामले बोलाउनुभयो भन्दै बिन्ती बिसाए । उनलाई बोलाइनुको तात्पर्य घोडामा चढेरै पुलबाट त्रिशूली नदीमा हामफाल्नु थियो । यसको अर्थ शरीरको हाडखोर भाँच्नु थियो । जंगबहादुरले राजाज्ञा सहर्ष स्वीकार गरे । तर, उनले एउटा सर्त राखे– ‘त्यसप्रकारको दुस्साहस गर्ने काम उनलाई आइन्दा नदिइयोस् ।’ युवराजले पनि जंगबहादुरको सर्त ६ महिनासम्मका लागि मात्र कायम हुने जवाफ दिए । उनले यो पनि भने यस अवधिभित्र उनले जंगबहादुरलाई ‘यदि कुनै दुस्साहसिक काम गर्न लगाए भने उनलाई (सुरेन्द्रलाई) पितृहत्याको पाप लाग्नेछ ।’ नेपालमा यस्तो कसम खाने काम निकै प्रचलित छ । जे होस्, यो सर्त दुवै पक्षबाट मञ्जुर गरियो । त्यसपछि जंगबहादुर लप्टनको घोडामा चढे र त्यहाँ उपस्थित सबैको कुतूहल मेटाउँदै त्रिशूलीको भेलमा फाल हाले । उनले आफ्ना दुवै पाउ रिकाबबाट अलग राख्ने चतुऱ्याइँ गरेका थिए । फाल हाल्दा लगाममा अड्किएर जकडिनु नपरोस् र सजिलैसँग पौडी खेलेर ज्यान बचाउन सकियोस् भनेर उनले यो बुद्धि लगाएका थिए । फलस्वरूप उनको शरीर घोडाबाट अलग भएर नदीमा खस्यो ।

केही समय त पानीको तेज धारमा परेर घोडा र घोडचढी दुवै अदृश्य भए । सबैले जंगबहादुर सदाका लागि बिदा भए भन्ने सोचेका थिए । युवराज स्वयम् पनि यो क्षतिप्रति दुःखी भएका थिए । उनको विचारमा उनको खेर गइरहेको समय अनेक छलछाम गरेर तमासाका रूपमा आफ्ना असभ्य प्रकृतिका आपराधिक रसरङ गर्ने काममा प्रयोग गर्न सकिने मानिसको क्षति भएको थियो । त्यसैले उनले जंगबहादुरलाई बचाउन आफ्ना सेवकलाई कडा आदेश दिए । तर, छोपिएका चट्टान, पानीको बेगवान धार, गाज उठिरहेको जलावर्त र गुप्त ओडारमाथि बगिरहेको पानीभित्र प्रवेश गर्न कसको सामथ्र्य थियो ? जे भए पनि उनीहरूले जंगबहादुरको खोजीमा जानैपथ्र्यो, गए । तर आश्चर्य ! उनीहरूले जंगबहादुरलाई आफ्नो शरीरमा लगाएका कपडा निचोर्दै, नदीमाझ सिर्जित एउटा सानो टापुमा अवस्थित बालुवाको ढिस्कोमा बसिरहेको अवस्थामा देखे । उनीहरूले जंगबहादुरसँग बिन्ती गरे– उनले युवराजसामु आफ्नो रक्षा आफैँले गरेको नभनून्, बरु यी मानिसले नै आफूलाई बचाएका हुन् भनून् ।

कर्तव्य पूरा नगरेको आरोपमा ती बिचराले आफ्नैजस्तो दुर्भाग्य भोग्नु नपरोस् भन्ने ठानेर उनीहरूको बचाउका लागि जंगबहादुरले उक्त निवेदन स्वीकार गरे । भरे युवराजले जंगबहादुरको पीठमा धाप मारे र उनको भव्य स्वागत गर्दै भने– ‘स्याबास जंगे ! आज तैँले साँच्चै नै एउटा अभूतपूर्व बहादुरी गरेर देखाइस् !’ जंगबहादुरलाई जीवितै पाउँदा युवराजको मनमा यो मानिसले जस्तोसुकै असम्भव, अव्यावहारिक र जोखिमपूर्ण काम पनि फत्ते गर्न सक्छ भन्ने विश्वासले जन्म लियो । यदि ग्रिक वा पर्सियाली साहित्यको ज्ञान भएको भए उनले जंगबहादुरलाई हर्कुलस र रुस्तमको समदर्जामा राख्ने थिए होलान् । वास्तवमा ती दुई बहादुर पुरुषको व्यक्तित्वमा मानव शक्तिको पश्चिमी र पूर्वीय समीकरण भएको छ । हिन्दू इतिहास र पुराणको ज्ञान भएको भए उनले जंगबहादुरमा हनुमान देवताको स्वरूप देख्ने थिए होलान् । उनले यति भने अवश्य सोचे होलान् जंगबहादुर भगवान्का विशेष पात्र हुन् । उनले अनेक प्रकारका चमत्कार गरेर अत्युत्कट मृत्युमाथि विजय प्राप्त गरेको सत्य प्रमाणित गरेका छन् ।

यो पनि हेर्नुहोस्-

जंगबहादुरका दुस्साहसी काम–३
http://www.ghatanarabichar.com/139031

प्रतिक्रिया