देवीदेवताको दर्शनपछि मानिसहरूसँग छलफल

देवीदेवताको दर्शनपछि मानिसहरूसँग छलफल


केही समयदेखि झापाको दमकमा रहनुभएका पूर्व श्री ५ ज्ञानेन्द्र यही फागुन २२ गते बुधबार जनकपुर जानुहुने भएको छ । जनकपुरलाई मुकाम बनाएर उहाँले तराईका विभिन्न जिल्लाको भ्रमण गर्नुहुने बताइएको छ ।

प्राप्त जानकारीअनुसार २३ गते बिहीबार सर्लाहीको सदरमुकाम मलंगवामा राजपरिवारले शिव मन्दिरमा पूजाअर्चना गर्ने कार्यक्रम रहेको छ । मलंगवापछि जनकपुर फर्किएर २४ गते अपराह्न ४ बजे जानकी मन्दिरको दर्शन र पूजा गर्ने र २५ गते जनकपुरबाट गाईघाट गई राधाकृष्ण मन्दिरको पूजा गर्नुहुनेछ भने २६ गते सप्तरीस्थित छिन्नमस्ता देवीको पूजाअर्चना गरी दमक फर्कने कार्यक्रम रहेको छ ।

यही माघ १३ गते काठमाडौंबाट सिमरा पुग्नुभएका राजारानी २३ गते सिमराबाट झापा पुग्नुभएको थियो । सप्तरी, सर्लाही, धनुषा र उदयपुर जिल्लाहरूको भ्रमणका लागि राजाको स्वागतमा विभिन्न राजनीतिक दलसम्बद्ध युवाहरूले तयारी सुरु गरिसकेको बुझिएको छ । यसअघि पोखरा भ्रमणमा रहेका बेला उहाँलाई सबै दलका कार्यकर्ताले भव्य स्वागत गरेका थिए । विभिन्न मन्दिर तथा सांस्कृतिक सम्पदाको दर्शनार्थ फागुन महिनाभरि दमकलाई मुकाम बनाएर बस्ने योजना रहेको र त्यसबीचमा विभिन्न व्यक्तित्वहरूसँग भेटघाट र छलफल हुने बताइएको छ । फागुन २६ गते दमक पुगेपछि विभिन्न व्यक्तित्वहरूसँग भेटघाटको कार्यक्रम रहेको सम्बद्ध सूत्रले जनाएको छ ।