आङछिरिङको ‘गुप्त’ सपना, प्रधानमन्त्रीलाई ठूलो धक्का

आङछिरिङको ‘गुप्त’ सपना, प्रधानमन्त्रीलाई ठूलो धक्का


हेलिकोप्टर दुर्घटनामा परी पर्यटनमन्त्री रवीन्द्र अधिकारीसँगै ज्यान गुमाउन पुगेका बहुचर्चित पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको एउटा सपना उनको निधनपछि पनि कतै चर्चा भइरहेको छैन ।

तेह्रथुम आठराईको चुहानडाँडामा विमानस्थल निर्माण गर्ने र आठराईमै एउटा म्युजियम (सङ्ग्रहालय) बनाउने सपना शेर्पाको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मघरलाई एउटा ऐतिहासिक स्थलका रूपमा विकास गर्ने र ओलीसँग सम्बन्धित सामग्री तथा उनका रोचक गाथाहरूको सङ्ग्रह गरी युगयुगसम्म आममानिसलाई जानकारी गराउने उद्देश्य शेर्पाले राखेका थिए । निजी लगानीमा शेर्पाले आफ्नो जन्मघरलाई ऐतिहासिक सङ्ग्रहालयका रूपमा विकास गरिदिने कुराले प्रधानमन्त्री ओलीलाई पनि निकै प्रसन्न तुल्याएको बताइन्छ ।

आङछिरिङले केपी ओलीको जन्मघर हेर्न विश्वभरिका पर्यटकहरूलाई आठराईमा आकर्षित गर्न सक्ने गरी विकास गर्न राम्रै खर्च गर्ने योजना बनाएका थिए । छिरिङको योजनाबाट उत्साही बनेका प्रधानमन्त्री ओली चुहानडाँडामा विमानस्थल बनाउन निकै हतारिएका थिए र, त्यसदिन (फागुन १५ गते) पर्यटनमन्त्री रवीन्द्र अधिकारी र आङछिरिङ शेर्पालाई स्थलगत अवलोकन भ्रमण गरिदिन प्रधानमन्त्री ओलीले नै विशेष आग्रह गरेका थिए । प्रधानमन्त्रीले उनीहरूलाई आठराई पुग्न भनेका भए पनि पाथीभरा जाने कुरा गरेका थिएनन् ।

चुहानडाँडाबाट मन्त्री अधिकारीको टोली काठमाडौं जाने भनेर नै हिँडेको थियो । काठमाडौं हिँडेको हेलिकोप्टर पाथीभरातर्फ लाग्नुमा आङछिरिङ शेर्पा नै जिम्मेवार रहेको बुझिएको छ ।

सुवास संघाई नामक व्यापारीले पाथीभरा जान केबलकार निर्माणको लाइसेन्स भौतिक योजना मन्त्रालयबाट लिएर काम शुरु गरेकोमा आङछिरिङ शेर्पाले ‘इन्फ्लुएन्स’ गरी संघाईलाई रोकेर आफैँले पाथीभरासम्म केबुलकार निर्माण गर्ने योजना बनाएका थिए । केबलकारको लाइसेन्स गाउँपालिकाबाट नै लिनुपर्ने नीतिगत निर्णय गराएर शेर्पाले केबलकारको लाइसेन्स लिएका थिए । आफूले निर्माण गर्न लागेको प्रोजेक्ट साइट मन्त्रीलाई देखाउने इच्छा शेर्पाले राखेका थिए र शेर्पाको इच्छाअनुसार नै युवराज दाहालले मन्त्री अधिकारीलाई पाथीभरा जान बाध्य पारेका बताइन्छ ।

पाथीभरा पुगेर फर्किने क्रममा मन्त्री अधिकारी र व्यवसायी आङछिरिङ शेर्पासहित सातजनाको ज्यान लिने गरी हेलिकोप्टर दुर्घटनाको कारण ‘नेग्लिजेन्स’ लाई मानिएको छ । पहिलो ‘नेग्लिजेन्स’ हेलिकोप्टरमा क्षमताभन्दा बढी यात्री बोक्नुलाई र दोस्रो मौसमको बेवास्ता गर्नुलाई मानिएको छ ।

बहुचर्चित व्यवसायी एवम् सञ्चार उद्यमी क्याप्टेन रामेश्वर थापाले जनाउनुभएअनुसार उनको स्वामित्वको हेलिकोप्टर सिम्रिक एयरको त्यस दिन भेडेटारबाट पाथीभराको ६ वटा उडान तय भएको थियो । तीनवटा उडान गरिसकेपछि मौसम खराब भएकोले बाँकी तीन उडान त्यसदिनका लागि रद्द गरिएको थियो । यसरी सिम्रिकको उडान रद्द भइसकेपछि एयर डाइनास्टीको हेलिकोप्टर मन्त्री अधिकारीसहितको टोलीलाई लिएर पाथीभरा पुगेको थियो ।

क्याप्टेन थापाले पाथीभराको उडान गर्दा हेलिकोप्टरमा क्षमताभन्दा कम यात्री रहनु उत्तम हुने र आफ्नो कम्पनीले जहिले पनि विचार पुऱ्याउने गरेको पनि बताएका छन् । तर, त्यस दिन एयर डाइनास्टीले क्षमताभन्दा बढी यात्री किन बोक्यो, यो गम्भीर चासोको विषय बनेको छ । मन्त्री अधिकारीलाई हेलिकोप्टरको प्राविधिक पक्ष र मौसमले पार्न सक्ने प्रभावबारे ज्ञान नभए पनि लामो समयदेखि पर्यटन व्यवसायमा रहेका आङछिरिङ शेर्पालाई यस्ता कुराको हेक्का हुनुपर्ने थियो भन्ने ठानिन्छ ।

अधिकारी र शेर्पाले मौसम तथा प्राविधिक पक्षका बारेमा कम ज्ञान राखेका भए पनि नागरिक उड्डयन प्राधिकरणका इन्जिनियरहरू यसबारे अनभिज्ञ थिए भन्न सकिन्न । तर, यस विषयमा के भएको थियो भन्न सक्ने कोही पात्र जीवित नरहेकोले छानबिन समितिको प्रतिवेदनलाई प्रतीक्षा गर्नुको अर्को कुनै विकल्प रहेन ।

फागुन १५ को दुर्घटनाले सिङ्गै मुलुकवासीलाई गहिरो चोट पुऱ्याएको भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई सबैभन्दा ठूलो चोट पुऱ्याएको मानिन्छ । उनले आफ्नो भरोसाको मित्र गुमाएका छन्, आफ्नो जन्मघरलाई ऐतिहासिक सङ्ग्रहालय बनाउन सम्पूर्ण लगानी गरिदिने एक हितैषी दाता गुमाएका छन् ।