त्रिविमा फ्याकले ‘फेक’ विधि अपनाएको आरोप

त्रिविमा फ्याकले ‘फेक’ विधि अपनाएको आरोप


त्रिभुवन विश्वविद्यालयमा हुने गरेका अनेक बेथिति तथा अनियमितताबारे समय–समयमा समाचार सार्वजनिक हुँदै आएका छन् । यही श्रृङ्खलामा सहप्राध्यापकको खुल्ला तथा आन्तरिक एवम् प्रध्यापकको खुल्ला पदमा अनियमित तवरले नियुक्ति दिने प्रयास गरिएको समाचार सार्वजनिक भएको छ । त्रिवि सेवा आयोगद्वारा ०७५ भादमा आवेदित पदहरूमा आवेदन दिने क्रममा शिक्षा शास्त्र संकायअन्तर्गत अङ्ग्रेजी शिक्षा विषयका प्रेमबहादुर फ्याकले सोही विषयको सहप्राध्यापक खुल्ला र आन्तरिक तथा प्राध्यापक खुल्ला पदमा आवेदन दर्ता गरेपछि उनको आवेदन दर्ता नै अवैधानिक भन्दै सम्बद्ध प्राध्यापकहरूले आवाज उठाएका छन् ।

०६५ सालमा करार सेवामा नियुक्त भएका फ्याक करार सेवामा नियुक्त भएलगत्तै विदा स्वीकृत नगरी अध्ययनका लागि भन्दै सोही वर्ष बेलायत पुगेका थिए । करार सेवामा रहेका शिक्षण सहायकले अध्ययन विदा पाउने व्यवस्था त्रिवि शिक्षक कर्मचारी सेवासम्बन्धी नियमावलीमा उल्लेख नभए पनि उनी निरन्तर ६ महिनाभन्दा बढी अवधि गैरहाजिर रहेका थिए । तर, आफ्नो पहुँच र प्रभाव प्रयोग गरेर उनी ०६८ सालमा उपप्राध्यापकमा स्थाई नियुक्ति लिन सफल भएका थिए । यसपछि पुनः विदा स्वीकृत नगरी उनी ०६८ माघ १७ देखि विश्वविद्यालयमा गैरहाजिर रहेका थिए । यसैगरी गैरहाजिरीमा परेका कमल देवकोटा कुनैबेला सेवाबाट बेदखल भई पदमुक्त गरिएका नजीर त्रिविमा रहेको छ । तर, फ्याकको हकमा यस नजीरको नजरअन्दाज गरिएको छ ।

कारवाहीको निम्ति त्रिवि सेवाआयोगका अध्यक्षसमक्ष आवेदन गर्नेहरूले पदोन्नतीका निम्ति फ्याकले त्रिवि सेवा आयोगमा पेश गरेका विभिन्न डिग्रीका प्रमाणपत्रको छायाकपी तथा बायोडाटासमेत छानविन गर्नुपर्ने माग गरिएको छ । पदोन्नतिका साथै त्रिवि सेवामा स्थायी हुनका लागि फ्याकले प्राज्ञिक मर्यादा उल्लंघन गरी पेस गरेका कागजातहरू शङ्कास्पद रहेको दाबीसहित उनको उम्मेदवारी रद्ध गर्न गरिएको आवेदनको बोधार्थ त्रिविविका उपकुलपति, शिक्षाध्यक्ष, रजिष्टार र शिक्षाशास्त्र संकायका डीनलाई समेत दिइएको छ । त्रिविका सम्बद्ध अधिकारीहरूले फ्याकको पहुँच र प्रभावमा परेर निर्णय लिने हुन् कि नियमबमोजिम कारवाही गर्ने हुन्, सरोकारवालाबीच तीव्र जिज्ञासाको सन्दर्भ बनेको छ ।