हाइप्रोफाइल मृत्यु : राजकीय सम्मान कसलाई ?

‘हाइप्रोफाइल’ मृत्युलाई विवादरहित बनाउन मृत्युपश्चात् राष्ट्रिय सम्मान कस–कसलाई दिने हो स्पष्ट नीति आवश्यक





  • बबिता बस्नेत

जिन्दगी र मृत्युबीच एकसरो सासको अन्तर हुन्छ । भित्र गएको सास बाहिर आएन या बाहिर भएको सास भित्र गएन भने केहीछिन अघिसम्मको जिउँदोजाग्दो मानिस एकैछिनमा लासमा परिणत हुन्छ । कुनै पनि बेला मृत्युको सम्भावना साथमा राखी मानिस आफूले संसार धानिरहेको छु र यो संसार मेरै कारणले चलिरहेको छ भन्ने भ्रम बोकेर हिँडिरहेको हुन्छ । मानिसले आफ्नो संसार कुनै न कुनै रूपमा धानिरहेकै हुन्छन् पनि, तर आफूबिना एक पाइलो पनि नसर्ने ठानिएको संसार आफूबिना राम्रै चलिरहेको छ भनेर देख्न भने उनीहरूले पाउँदैनन् ।

सृष्टिको नियम हजारौँ वर्षदेखि यसैगरी चलिरहेको छ । मृत्यु आफैँमा दुःखद हो । मानिस बाँच्दा त दुःखसुख, मान, अपमान, आत्मसम्मान, सम्मानका कुरा आउँछन् नै, मृत्युपछि पनि कसले कस्तो सम्मान पाउने भन्ने कुरा प्रचलनमा रहेको छ । यद्यपि सम्मानित मृत्युको चाहना सबैमा हुन्छ । सम्मानित मृत्युको अर्थ बाजागाजा, सलामीसहितको चिता प्रवेश हो या जीवित हुँदा आफूले गरेको कामको आधारमा अरूले गर्ने मूल्याङ्कन या आफैँसँगको सन्तुष्टि भन्ने कुरामा भने बुझाइ फरकफरक हुन सक्छ । ‘डिग्निफाइड डेथ’को चाहना नहुँदो हो त मानिस अहिले जे–जति सभ्य या जस्तो अवस्थामा छौँ त्यति पनि शायद भइँदैनथ्यो होला । मर्दा सजिलै सास जाओस् भन्नुको अर्थ बिनातनाव शान्तिपूर्ण रूपमा मर्न पाइयोस् भन्ने हो ।

हालै मुलुकमा दुई विशेष मानिसहरूको निधन भयो । रवीन्द्र अधिकारी जो आफू मन्त्री पदमा भएका बेला कामकै सिलसिलामा भ्रमणमा रहँदा हेलिकोप्टर दुर्घटनामा पर्नुभयो । कर्तव्यपालनको क्रममा प्रायः सुरक्षाकर्मीहरूको मृत्यु हुने गरेको भए पनि राजनीतिकर्मीको निधनका घटना कमै मात्र हुने गरेका छन् । यसअघि वनमन्त्री गोपाल राईको उस्तै प्रकृतिको दुर्घटना भएको थियो । राम्रो काम गरिरहेका, विभिन्न क्षेत्रका व्यक्तिहरूसँगको जनसम्पर्कका कारण ठूलो अपेक्षा गरिएका, राम्रो सम्भावना बोकेका रवीन्द्रको असामयिक निधनले धेरैलाई चोट पुऱ्यायो ।

सम्मानित मृत्युको अर्थ बाजागाजा, सलामीसहितको चिता प्रवेश हो या जीवित हुँदा आफूले गरेको कामको आधारमा अरूले गर्ने मूल्याङ्कन या आफैँसँगको सन्तुष्टि भन्ने कुरामा भने बुझाइ फरकफरक हुन सक्छ ।

मुलुकको नेतृत्वमा रहेका व्यक्तिको मृत्यु चर्चाको विषय मात्र नभई भित्रैदेखि मनदुखाइको विषय बन्नु शायद आफैँमा सम्मानित मृत्यु हो । मन्त्री रवीन्द्रको काजकिरिया नसकिँदै पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारीको निधन भयो । आमरूपमा भरतमोहनको मृत्युलाई रवीन्द्रको भन्दा सामान्य मानियो । उमेर र लामो समयदेखि बिरामीका रूपमा भोगिरहनुभएको कष्टका कारण उहाँको मृत्युलाई रवीन्द्रको भन्दा फरक मानिएको हो । तर, बहालवाला मन्त्री र पूर्वमन्त्रीको मृत्युलाई राज्यको तर्फबाट भने राजकीय सम्मान दिएर समान व्यवहार गरियो ।

सामान्य रूपमा हेर्दा मृत्युपछि पनि के असमान व्यवहार गर्नु ? मृत्यु सबैको उस्तै हो, ठीकै त छ नि जस्तो लागे पनि भरतमोहन अधिकारीलाई दिइएको राजकीय सम्मानले एउटा प्रश्न भने उब्जाएको छ, के अब सबै पूर्वमन्त्री, उपप्रधानमन्त्रीहरूले मृत्युपछि राजकीय सम्मान पाउँछन् ? या यो सम्मान भरतमोहन अधिकारी या सरकारलाई उचित लागेका खासखास पूर्वपदाधिकारीहरूलाई मात्रै हो ? पूर्वमन्त्रीहरूले यसप्रकारको सम्मान पाउने भए कहिलेदेखिकाले पाउँछन् ? ०४६ सालको प्रजातन्त्रपछि मन्त्री भएका सबैले पाउँछन् ? पञ्चायतकालका पूर्वप्रधानमन्त्रीहरू मरिचमान सिंह, कीर्तिनिधि विष्ट, तुलसी गिरीलाई त राजकीय सम्मान दिइएन । अर्को प्रश्न पनि सँगै जोडिएको छ, राजकीय सम्मान भावनात्मक कुरा हो या राज्यले नीति बनाएर तय गर्ने कुरा हो ? नेता भरतमोहन अधिकारीको योगदानलाई खुम्च्याउने या कम आँक्ने मनसायले यो प्रश्न गरिएको होइन ।

जिन्दगीमा हरेक मानिसले बाँचुञ्जेल आफ्नै प्रकारको भूमिका निर्वाह गरिरहेको हुन्छ । पदमा भएर होस् या नागरिकको तहमा रहेर राज्यप्रतिको आफ्नो कर्तव्य गरिरहेकै हुन्छन् । राज्य संरचनामा बसेर या नबसेर मुलुकका निम्ति विशेष योगदान गर्ने व्यक्तिलाई राज्यले मृत्युपश्चात् राजकीय सम्मान दिने विश्वव्यापी प्रचलन छ । बहालवालाको बारेमा मृत्युको कल्पना नगरिएकाले होला शायद के गर्ने भन्ने स्पष्ट नीति धेरै मुलुकमा छैन । नेपालमा पनि यसअघि वनमन्त्री रहेकै बेला निधन भएका गोपाल राईलाई राजकीय सम्मान दिइएको थिएन ।

भरतमोहन अधिकारीलाई दिइएको राजकीय सम्मानले एउटा प्रश्न भने उब्जाएको छ, के अब सबै पूर्वमन्त्री, उपप्रधानमन्त्रीहरूले मृत्युपछि राजकीय सम्मान पाउँछन् ? या यो सम्मान भरतमोहन अधिकारी या सरकारलाई उचित लागेका खासखास पूर्वपदाधिकारीहरूलाई मात्रै हो ?

बहालवालाको विषयमा मौन रहे पनि धेरैजसो मुलुकमा पूर्वराष्ट्रप्रमुख, प्रधानमन्त्री र प्रधानसेनापतिको मृत्युमा राजकीय सम्मान दिने गरिएको छ । कर्तव्यपालनका क्रममा ज्यानको आहुती दिने सुरक्षाकर्मीहरूलाई राष्ट्रिय सलामी दिने गरिएको छ । क्यानडामा पूर्वगभर्नर र पूर्वप्रधानमन्त्रीहरूलाई मृत्युपश्चात् राजकीय सम्मान दिइन्छ । अमेरिकामा पूर्वराष्ट्रपति, सेनापति, बहालवाला मन्त्री, सांसदहरू तथा देशलाई विशेष योगदान गर्ने व्यक्ति भनी नीति नै बनाई मृत्युपछिको राजकीय सम्मान तोकिएको छ । अमेरिकामा सन् १८५२ मा सभामुख हेनरी क्लेले पहिलोपल्ट राष्ट्रिय सम्मान पाएका रहेछन् । सन् १८६५ मा अब्राहम लिंकन हुँदै त्यतिबेलादेखि अहिलेसम्म ११ जना पूर्वराष्ट्रपतिहरू, भियतनाम युद्धमा मारिएका एक अज्ञात सिपाही, ड्युटीकै बेला मारिएका एक प्रहरी र नागरिक अधिकारकर्मी रोजा पाक्र्स गरी ३२ जनाले मृत्युपश्चात् राष्ट्रिय सम्मान पाएका छन् ।

सन् २०१२ मा शिवसेना प्रमुख बाल ठाकरेले दाहसंस्कारका क्रममा पाएको राजकीय सम्मानले भारतमा ठूलो चर्चा पायो । मिडिया काटुर्निष्ट पृष्ठभूमिका बाल ठाकरेको भारतीय राजनीतिमा गहिरो प्रभाव भए पनि उनी राज्यका औपचारिक पदमा कहिल्यै थिएनन् । भारतमा पूर्वराष्ट्रपति, प्रधानमन्त्री, कर्तव्यपालनका क्रममा देहावसान भएका सुरक्षाकर्मी र मन्त्रीहरूलाई पनि मृत्युपश्चात् राजकीय सम्मान दिइन्छ । राजकीय सम्मान कसलाई दिने भनी मन्त्रिपरिषद्बाट निर्णय गर्ने गरिएको छ । भारतमा पहिलोपल्ट राजकीय सम्मान पाउने व्यक्ति महात्मा गान्धी हुन् । राज्य संरचनामा बसेका व्यक्तिहरूबाहेक भारतमा राजकीय सम्मान अहिलेसम्म चारजनाले पाएका छन्, महात्मा गान्धी, मदर टेरेसा, सत्य साई बाबा र बाल ठाकरे ।

नेपालमा पछिल्ला दुई घटनाअघि मानवअधिकारकर्मी तथा राजनीतिकर्मी पद्मरत्न तुलाधरलाई राजकीय सम्मान दिइएको थियो । राजकीय सम्मान भावनात्मक रूपमा नभई राज्यले नीति बनाएर गर्नुपर्ने कुरा हो । कसैको पनि मृत्यु विवादमा आउनु सम्बन्धित व्यक्तिका आफन्तलाई मात्र नभई सुन्ने जोकोहीका लागि नमिठो अनुभूति हो । ‘हाइप्रोफाइल’ मृत्युलाई विवादरहित बनाउन हामीकहाँ मृत्युपश्चात् राष्ट्रिय सम्मान कस–कसलाई दिने हो स्पष्ट नीति आवश्यक छ ।

प्रतिक्रिया