अधिनायकवादभन्दा धेरै सुन्दर हुन्छ लोकतन्त्र

अधिनायकवादभन्दा धेरै सुन्दर हुन्छ लोकतन्त्र


  • दामोदर पौडेल

मैले ०३६ सालको जनमतसङ्ग्रहमा बहुदलको पक्षमा लमजुङमा र तनहुँमा काम गरेँ । त्यो समय मेरो लागि २०३६ सालको आन्दोलनताकाजस्तो खतरा रहेन । म आफ्नो बस्ती र विभिन्न ठाउँमा लोकतन्त्रको पक्षमा जनतालाई सम्झाउने काममा लागे । बहुदलले जनमतसङ्ग्रहमा हारेपछि म पढ्न गएँ । काठमाडौंमा नेपाल ल क्याम्पसमा ब्याचलर गर्दा म नेविसङ्घको युनिटमा थिएँ । चुनावमा नेविसङ्घको तर्फबाट सदस्यमा उठेको थिएँ । मलाई चुनाव लडाउनमा उपेन्द्रकेशरी न्यौपाने र अर्का हाल उच्च पदमा रहेका साथीको हात थियो । नेविसङ्घले त्यतिबेलासम्म ल क्याम्पसमा जित्ने सम्भावना नै थिएन । शेरबहादुर केसी सचिव, अध्यक्षमा दयाराम खरेज, कोषाध्यक्षमा भुसाल उठेका थिए । हामीले चुनाव प्रचार गर्दागर्दै बलराम समाजको नेतृत्वमा अखिलका साथीहरूले पश्चिमतिर तारबार भएतर्फ लठ्ठी लिएर लखेटेकोले तारबारबाट भागेर जाँदा हामी रगताम्मे भएका थियौँ ।

मैले विरगंजमा ठाकुराम क्याम्पसमा पनि काम गरे । त्यहाँ म केही समय युनिट सभापति पनि रहेँ । सङ्गठनमा राम्रोसँग र व्यवस्थित किसिमले खटेको हुँ । ०४२ सालको सत्याग्रहमा लमजुङ र तनहुँमा सत्याग्रको पक्षमा काम गर्ने र थुनिएकालाई सहयोगमा जाने कार्यसमेत मैले गरेको थिएँ ।

०४६ को आन्दोलतताका चितवनबाट मैले आन्दोलतमा भाग लिएँ । केदार कोइराला, ज्ञानशाली घिमिरेसमेतका साथीहरूको साथमा काम गरेँ, शिक्षकसमेत रहेकामा जागिरको बाजी नै लगाएर सबै साथीहरूसँग काम गरे । आन्दोलनताका भरतपुरमा गोली चल्दा अचानककै बाँचिएको भन्न पनि सकिएला । जब लोकतन्त्रको पुनस्र्थापना भयो त्यतिबेला पीडाहरूको अन्त्य भएको महसुस भयो । मैले त्यसपछि आफ्नो कार्यक्षेत्र बारा बनाएँ । जागिरे वकिल भए पनि मैले राजनीति छोड्न सकिनँ । केही वर्ष नेविसङ्घ जिल्ला कार्यसमितिको तर्फबाट निःशुल्क रूपमा प्रवेशिका दिने विद्यार्थीलाई हरेक वर्ष दुई महिनाजति अङ्ग्रेजी पढाउने गरेको थिएँ ।

काङ्ग्रेसका नेता उमाकान्त चौधरीलाई ज्यान मारेको आरोप लागेर उनी जिल्ला प्रहरी कार्यालय बारामा थुनामा थिए । उनीमाथिको आरोपको आधारमा उनलाई जन्मकैद हुने सम्भावना थियो । उनको तर्फबाट कुनै किसिमले जाहेरी लेखेर सहयोग गर्न पाए हुने थियो भन्ने मेरो चाहना थियो । उनलाई कानुनी सहयोग गर्न जान उनका आफन्त र काङ्ग्रेसी कानुन व्यवसायी पनि तयार भएको पाइनँ । म जागिरे भए पनि आफैँ गएर उनीमाथि ज्यान मार्ने उद्योग भएको भन्ने जाहेरी मैले आफ्नै हातले लेखेर उनीसँग सही गराएँ । पछि कसै गरेर दर्ता पनि भयो । म थुनुवाहरूलाई भेट गर्नेसमेत काम भएको जागिरमा रहेकोले पनि उमाकान्तलाई भेट्न पाएको थिएँ । त्यस जाहेरीमा राजनीतिक कारणले उनलाई फसाइएको र उनैलाई ज्यान मार्ने उद्योग भएको थियो भन्ने लेखिएको थियो । जब कृष्णप्रसाद भट्टराईको सरकारले राजनीतिक कारणले मुद्दा चलेकाहरूको मुद्दा फिर्ता लिने निर्णय गऱ्यो । जाहेरीमा नै राजनीतिक कारणले आरोप लागेको भन्ने लेखिएको प्रमुख कारणले उनीमाथिको मुद्दा फिर्ता भयो र उनी रिहा भए ।

राजनीतिक पदलाई आकर्षक नबनाउने र राजनीतिज्ञहरू इमानदार मात्र हुने वातावरण जरुरी छ । पद आकर्षक नभएपछि बेइमानहरू आउने सम्भावना कम हुन्छ । तर, काङ्ग्रेसमा क्षमताको महत्व कम भयो ।

पहिलो चुनावमा मैले पूर्ण आफ्नो शक्ति लगाएर बारा जिल्लाभरि प्रचार गरेँ । मैले काङ्ग्रेसी नेता ऋषिकेश गौतमलाई उनको विरुद्धमा रहेका कमसेकमा २०० जनाभन्दा बढी मोही र उनीहरूको परिवारको मत खसाएको छु । अन्य व्यक्तिहरूको मत पनि खसाउन लगाएको हुँ । उनले चार सयजति मतले जितेकोमा उनका विरोधी मोहीहरूको मत अर्कोतिर मात्र गएको भए पनि उनले चुनाव हार्ने थिए ।

काङ्ग्रेसका साथीहरूको स्वार्थी र हेपाहा क्रियाकलापबाट म दुःखी हुँदै गएँ । २०५१ सालमा काङ्ग्रेसको सरकार आफैँ गिरेपछि मेरो काङ्ग्रेसप्रतिको मोह पूरै भङ्ग भयो । तर, लोकतन्त्रप्रतिको आस्था अझै बढ्यो । किनभने यदि काङ्ग्रेस लोतन्त्रवादी दल नभएको भए जति गल्ती गरे पनि जनताले त्यसको विकल्प छान्न पाउने थिएनन् । गल्तीको विरोध पनि हुन सक्ने थिएन । कम्युनिस्टहरूले सर्वहाराको अधिनायकवादको नाममा कम्युनिस्ट पार्टीको एकदलीय अधिनायकवाद भएमा उनीहरू पनि काङ्ग्रेसजस्तै गलत हुन्छन् नै, तर उनीहरूको विरोध गर्न सकिँदैन र काङ्ग्रेसलाई सजिलैसँग जनताले हटाउन सक्दछन् र सके । यो नै लोकतन्त्र र बहुलवादको सुन्दर पक्ष हो जस्तो लागिरह्यो । एकदलीयतामा विरोध हुन नसक्ने हुँदा नेताहरूले अझै बढी गल्ती गर्दछन् ।

मेरो घमण्ड हो वा वास्तविकता हो भन्ने मैले पनि बुझ्न सकेको छैन । मैले लोकतन्त्रका लागि जुन दुःख गरेँ, त्यसलाई मैले आजसम्म कुनै रेकर्ड राखिनँ । आन्दोलनपीडितमा मैले आफ्नो नाम कहिल्यै राखिनँ । यसका लागि कुनै प्रयास पनि गरिनँ । यसको एउटै लक्ष्य छ । त्यो हो, मैले लोकतन्त्रको लागि गरेको कार्य मेरो लागि र मेरा सन्तानको र समाजको स्वतन्त्रताको लागि गरेको हुँ । कुनै बलिदानको लक्ष्यमा मैले सङ्घर्ष गर्दा कुनै पुरस्कार पाउनको लागि भन्ने सोचेर गरेको थिइनँ । त्यो योगदानको कुरा गरेर पद लिन्छु भन्ने कहिल्यै सोचेको थिइनँ । मैले चाहेको भए सायद कुनै पद पनि पाउने थिएँ होला । तर, मैले सोचेँ कि पदमा जो गए पनि हुन्छ ? इमानदारी भएर आफूभन्दा समाज र गरिबहरूको हित पहिला हुनुपर्छ भन्ने भावना आउँदा राजनीतिक पदमा जो गए पनि फरक पर्दैन ।

म त व्यवसायमा छु, व्यवसायलाई इमानदारी साथ गरे हुन्छ । मात्र राजनीति गर्नेले यो भावना कायम गरेर उचित कार्य गर्ने र भ्रष्टाचार नगर्ने तथा सक्रिय भएर जनताको हितमा लाग्ने कार्यको लागि किन अनावश्यक प्रतिस्पर्धा गर्ने भन्ने मैले सोचेको पक्ष हो र राजनीतिको पाटो हो । जब राजनीति भनेको आफ्नो फाइदाभन्दा समाजको हित भन्नेमा केन्द्रित हुन्छ भने त्यतिबेला न राजनीति बेइमानीको माध्यम हुन्छ न त्यहाँ अस्वस्थ प्रतिस्पर्धा हुन्छ ।

मेरो फाइदा होइन, जनताको फाइदा, गरिबको फाइदा, विकास र रोजगारी भन्ने सोच्ने हो भने आफू नै राजनीतिको पदमा जानुपर्छ भन्ने सोच हुनुपर्र्र्दैन । कामप्रति मात्र चहना हुन्छ । अहिले पदको लागि विवाद र विद्रोह हुनुको कारण जनताको हितभन्दा आफ्नो हित भन्ने सोच राख्ने गरेकोले हो । यसको अन्त्य नै आवश्यक छ ।

तर, काङ्ग्रेसमा अहिले पनि अरूको त्याग र बलिदान हेर्न कसैलाई फुर्सद छैन । सबैसँग आफ्ना योगदानका फहरिस्त छन् । यसको लक्ष्य पदमा जाने र कमाउने नै हो । मैले यतिवटा झन्डा खतरा ठाउँमा लगेर टाँगेँ, पुलिसले आन्दोलनमा यसरी पिट्यो, गोली मेरो कानबाटै गयो आदि भनेर जनताले अहिलेको जमानामा मत दिँदैनन् । जनताले त उनीहरूको हित हुने काम हेर्छन् । जेल बसेका कुराले जनजीविकालाई केही गर्दैन भने किन मत दिने ? तर, पद पाउन यस्तै कुराले पनि भूमिका खेलेका हुन्छन् ।

बारामा राजनीतिको कुरा गर्दा म फर्मुल्लाह मियाँ मन्सुरको त्याग अपेक्षाकृत केन्द्रीयस्तरमा नै इमानदारीबाट प्रभावित छु । उनी इमानदारहरूलाई चिन्न प्रयास गर्ने नेता पनि हुन् । त्यो स्वभाव हाल काङ्ग्रेस नेता लालबाबु सिंहमा पनि देखिएको छ । इतिहास र कुनै घटनाको सम्बन्धमा मानिसमा मानवीय कमजोरी होलान्, तर अनुपातमा राम्रा मानिसहरू भएमा दलहरूले जनताको हित गर्न सक्ने हुन्छन् । पदप्रति अनावश्यक आकाङ्क्षा नभए जनतालाई अनावश्यक रूपमा गुमराहमा पार्ने काम पनि हुँदैन ।

म ०३९ सालमा सानोठिमी क्याम्पसमा रहेको समयमा अखिलको विद्यार्थी आन्दोलन थियो । त्यही समयमा प्रहरीले विद्यार्थीलाई धरपकड गरेको थियो । म पनि अरू साथीहरूको साथमा पक्राउमा परेको थिएँ । भक्तपुर प्रहरी कार्यालयमा हामीलाई लगियो । केही दिन बाख्रा बाँध्ने ठाउँमा राखियो, तर कुटपिट भने भएन । पछि मेरा राजनीतिक गुरु एवं अभिभावक दाजु दामोदर अधिकारी, राधेश्याम जोन्छे, हरिश्चन्द्र श्रेष्ठसमेत भएर हामीलाई छुटाउनुभयो । तर, मेरा अर्का दाजु कम्युनिस्ट हुनुहुन्थ्यो । उहाँले तिमी अब कम्युनिस्ट राजनीतिमा लाग्यौ भने विद्यार्थी राजनीतिको उपल्लो तहमा पुग्न सक्छौ भन्नुभएको थियो । तर, म कम्युनिस्ट राजनीतिमा लाग्न चाहिनँ र क्रमशः लोकतन्त्र आएपछि पद र दलको राजनीतिबाटै अलग भएर दलीय व्यवस्थाको पक्षमा यो परिपाटी राम्रो होस् भन्ने शुभकामनामा लागेँ ।

क्षमता नै नभएको सुशील कोइराला कोइराला भएकैले प्रधानमन्त्री बने, तर उनको इमानदारीले पछि भने प्रधानमन्त्रीको लागि स्वाभाविक मानिस बनायो । पैसा र राजाको आशीर्वादको कारणले बोली नै नबुझिने र दरबारमा लोकतन्त्र बुझाउने शेरबहादर देउवा बारम्बार प्रधानमन्त्री बने । उनैले भन्सार छुटमा गाडी ल्याउने कार्यको शुरुवात गरे ।

अब जनताको हित गरेर राजनीति गर्ने हो । काङ्ग्रेसहरू अहिले पनि गोली लागेको, परिवारले यस्तो गरेको, पार्टीको झन्डा सरकारी अफिसमा लगाएको, जेल बसेको आधारमा पदको दाबी गरिरहन्छन् । त्यसले नै काङ्ग्रेसलाई घाटा हुने काम गरेको छ । जनताको पक्षमा काम गर्नेलाई जनताले मत दिन्छन् । जनताबाट विमुख भएर राजनीति गर्नेहरू फेजआउट भए भन्ने बुझ्नुपर्ने अवस्था आएको छ ।

राजनीतिक पदलाई आकर्षक नबनाउने र राजनीतिज्ञहरू इमानदार मात्र हुने वातावरण जरुरी छ । पद आकर्षक नभएपछि बेइमानहरू आउने सम्भावना कम हुन्छ । तर, काङ्ग्रेसमा क्षमताको महत्व कम भयो । क्षमता नै नभएको सुशील कोइराला कोइराला भएकैले प्रधानमन्त्री बने, तर उनको इमानदारीले पछि भने प्रधानमन्त्रीको लागि स्वाभाविक मानिस बनायो । पैसा र राजाको आशीर्वादको कारणले बोली नै नबुझिने र दरबारमा लोकतन्त्र बुझाउने शेरबहादर देउवा बारम्बार प्रधानमन्त्री बने । उनैले भन्सार छुटमा गाडी ल्याउने कार्यको शुरुवात गरे । उनी नै सांसद विदेश पठाउने र लुकाउने कार्यको लागि प्रख्यात रहे । आज काङ्ग्रेसहरू उनैलाई दलको सभापति बनाएर ठूलै काम गरेको भन्ने ठान्छन् ।

काङ्ग्रेसमा शेखर कोइराला, गगन थापा, विश्वप्रकाश शर्मा आदि सक्षम नेताहरू छन् भन्ने हेक्का मतदातालाई रहेर काङ्ग्रेस सही बाटोमा जानुपर्छ भन्ने भए आउँदो चुनावपछि काङ्ग्रेसले नयाँ जीवन पाउन सक्छ । तर, पैसामा टिकट बेच्ने र किन्नेहरू हाबी भएसम्म इमानदार र मध्यम वर्गकाहरूको हैसियत भनेको धनीले टिकट ल्याउने र उनीहरूको समर्थन गर्नेमा नै सीमित हुनेछ । के यो लोकतन्त्रको लक्ष्य हो ?

तर, लोकतन्त्र नभए जनता अझै पीडित हुन्छन् । जनताले आफ्ना पीडा पोख्न पनि पाउँदैनन् । त्यसैले लोकतन्त्र अधिनायकवादभन्दा धेरै सुन्दर छ । पदको भिडमा भन्दा लोकतन्त्रको सदुपयोग भएमा हुने सुन्दर समाजको परिकल्पनामा धेरै रमाइरहेको मानिस नै वास्तविक लोकतन्त्रवादी हुन सक्छ ।