जनसम्पर्क समितिको अधिवेशन रोक्न केन्द्रको आदेश

जनसम्पर्क समितिको अधिवेशन रोक्न केन्द्रको आदेश


  • डिल्लीराम अम्माई ,बेल्जियम

जनसम्पर्क समिति बेल्जियमभित्रको असहज अवस्था एउटा संगठनको नितान्त आन्तरिक समस्या भएकोले मिडिया वा नागरिक समुहले सामाजिक वा संगठनात्मक एकतामा खलल पर्ने गरेर टिप्पणी गर्नु कति जायज हुन्छ-हुँदैन, त्यसमा आ-आफ्नै तर्क होलान् । तर सामाजिक सदभाव र एकताको वातावरणको लागि कलम चलाउनु पत्रकारिताको अहम कर्तब्य हो । भन्नैपर्ने हुन्छ, जुन कुराले समुहको बहुमत हिस्सालाई आघात पुऱ्याउँछ, दुखाउँछ र दीर्घकालीन रुपमा बेमेललाई संस्थागत गर्छ त्यो कार्य गरिनु हुन्न।

संस्थापन पक्षको अधिवेशन यही मार्च ३ तारिक र विद्रोही पक्षको अधिवेशन मार्च १० तारिक तय भएको थियो। दुवै पक्षले सार्वजनिक सूचना समेत जारी गरेको अवस्थामा नेपाली कांग्रेस केन्द्रिय कार्यालयका कार्यवाहक मुख्यसचिव डा. प्रदिप पराजुलीको नाममा प्राप्त चलानी नम्बर १५० पत्रमार्फत दुवैतर्फको अधिवेशन रोक्न आदेश दिएको छ। जसको बोधार्थ विद्रोही समुहका अध्यक्ष सुभाष गुरुङलाई समेत दिइएको छ।

विद्रोही समुहका अध्यक्षलाई पूर्ववत पदीय हैसियतमा ‘महामन्त्री, नेपाली जनसम्पर्क समिति,बेल्जियम’ भनेर सक्कली पत्रको बोधार्थ आएको हो।

नेपाली जनसम्पर्क समिति बेल्जियमका अध्यक्षको नाममा नेपाली कांग्रेस केन्द्रिय कार्यालयबाट आएको पत्रमा भनिएको छ, ‘नेपाली जनसम्पर्क समिति बेल्जियमको पाँचौ अधिवेशन आगामी मार्च ३, २०१९ मा गर्ने भनी तपाईंबाट प्राप्त पत्र र नेपाली कांग्रेसनिकट ब्यक्तिहरुकै संलग्नतामा नेपाली जनसम्पर्क समितिकै नाम राखी अर्को छुट्टै संगठनको स्थापना गरी सो संगठनको अधिवेशन भनी यहि मार्च १०, २०१९ का दिन गर्ने भनिएको कार्यक्रमको सम्बन्धमा पार्टी तथा पार्टी नेतृत्वको गम्भीर ध्यानाकर्षण भएको छ। नेपाली जनसम्पर्क समिति बेल्जियममा उत्पन्न समस्या समाधान गर्नका लागि पार्टी केन्द्रका तर्फबाट पार्टीका आमन्त्रित केन्द्रिय सदस्य किरणराज शर्मा पौडेललाई प्रतिनिधिका रुपमा खटाइएको जानकारी गराउँदै उत्पन्न सांगाठनिक समस्याको यथासीघ्र समाधान गरिने विश्वासका साथ केन्द्रबाट अनुमति प्राप्त भएपछि मात्र अधिवेशन हुने गरी हाललाई पूर्वनिर्धारित मार्च ३, २०१९ को अधिवेशन स्थगित गर्नु/गराउनु हुन निर्देशानुशार जानकारी गराइन्छ ।’

यो केन्द्रिय निर्देशनको भाव एकता नै हो र सारमा पूर्ववत निर्वाचित समितिलाई नै केन्द्रले आधिकारिकता दिएको स्पष्ट देखिन्छ। त्यसको प्रमाण बोधार्थमा सम्बोधित ‘सुभाष गुरुङ, महामन्त्री,नेपाली जनसम्पर्क समिति, बेल्जियम’ पदीय सम्बोधनले प्रष्ट पारेको छ।